प्याराग्लाइडिङको भविष्य अन्यौलमा

आदर्श समाज सम्वाददाता
असार ३०, २०७९
NAA Photo (2)

पोखरा । निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सुरुआतको अन्तिम तयारी हुँदै गर्दा यहाँको ब्रान्ड प्याराग्लाइडिङमा भने छटपटी सुरु भएको छ ।

जहाज र प्याराग्लाइडिङ उडान एकै पटक र एउटै आकाशमा सम्भव नहुने भन्दै नेपाल नागरिक उड्डन प्राधिकरण (क्यान) ले आगामी जनवरीदेखि पोखरामा प्याराग्लाइडिङ उडान अन्यत्रै सार्न निर्देशन दिएको छ । तर पोखराका प्यारा पाइलटहरुको संस्था र पर्यटन व्यवसायीहरु क्यानको निर्देशन मान्न तयार छैनन् । सकेसम्म पोखराकै आकासमा उडान हुँदै आएको उडान अन्यत्र सार्न नहुने भन्दै लबिङमा छन् ।

बुधबार नेपाल हवाइ खेलकुद संस्था (ना) आयोजनामा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै पोखराको प्याराग्लाइडिङ भविष्य विषयमा अन्तक्र्रिया गरिएको थियो । पर्यटन क्षेत्रका लागि विमानस्थल आवश्यक हुँदाहुँदै पनि प्याराग्लाइडिङ उडानलाई पोखरामै राख्नुपर्ने नाका पूर्व अध्यक्ष योगेश भट्टराईले बताए । पोखराबाट प्याराग्लाइडिङ विस्थापित भए त्यसले राज्यको आम्दानी, व्यवसायीको लगानी र रोजगारीमा धक्का पुग्ने उनको भनाइ छ । ‘हाम्रो पहिलो उद्देश्य भनेको पोखरामा राख्नुपर्छ भन्ने हाम्रो चाहना हो,’ उनले भने, ‘कतिपय प्राविधिक कुराहरु पनि छन् तर पनि हामी के आशावादी छौं भने राज्यले यस्ता चिज राख्न सकेमा पोखराको पर्यटकको बसाइँ लम्बाउन सहयोग गर्छ ।’

पोखराभन्दा बाहिर गएमा यसको चार्मिङ चटेर जान सक्ने उनको आकलन थियो । ‘उड्ने बितिकै देखिने हिमाल र तालको दृष्य देखिने कारण नेपाल प्याराग्लाइडिङको हबरुपमा विश्वकै टप ५ भित्र पर्छ,’ उनले भने, ‘यसलाई स्थानान्तरण गरिएपछि प्यारा उड्न भनेर आउने पर्यटकहरु कम हुन सक्छन् ।’ विकाससँगै विनास हुँदै जाने हो भने पोखराको पर्यटन बिग्रिंदै जाने उनले बताए । प्राविधिक विषय मिलाएर २/३ घण्टा उडाउन सकिने सम्भावना रहेको उनको भनाइ थियो ।

पोखराको आकाशमा अन्तर्राष्ट्रिय हवाइ उडानले प्याराग्लाइडिङ अन्त्रय सार्न क्यानको निर्देशन

पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको तयारीसँगै पर्यटन व्यवसायीमा चिन्ता थपिएको बताए । उनले निकै ठूलो धनराशि खर्चेर धेरै व्यवसायी यस क्षेत्रमा लागेकोमा अहिले आएर विस्थापित भइने चिन्तामा व्यवसायी रहेको बताए । उनले विमानस्थल निर्माण गरेर चीनको कम्पनी फिर्ता गइसकेको अवस्थामा अहिलेसम्म फोहोर व्यवस्थापन, नाला निर्माणको व्यवस्थापन र डाँडो काट्ने काम सम्पन्न हुन नसकेकोमा चिन्ता व्यक्त गरे । भट्टराईले पोखराको गहनाको रूपमा रहेको प्याराग्लाइडिङ व्यवसायलाई जोगाउन पहिले पर्यटन व्यवसायीहरू एकताबद्ध हुनुपर्नेमा जोड दिए ।

कोरोनाले थलिएको पर्यटन क्षेत्र ब्युँताउन प्याराग्लाइडिङले निकै नै सघाएको पोखराका पहिलो प्यारा पाइलट राजेश बमजनले बताए । बमजनले मौसमको हिसाबले पनि सराङकोट वर्षभरिका लागि उड्नयोग्य हुने बताउँछन् । ‘पोखरामा जत्तिको यो सहजता अन्यत्र कतै छैन । फेवाताल, बाटो, दृश्यावलोकनले पनि सराङकोट उपयुक्त हो,’ उनले भने । उनका अनुसार फेवातालका कारण प्याराग्लाइडिङ उडानको लागि आवश्यक वातावरणीय अवस्था सराङकोटमा बन्ने गरेको छ ।

पोखरामा सन् १९९६ देखि प्याराग्लाइडिङ उडान सुरु भएको हो । सन् २००० देखि कम्पनी खडा गरेर यहाँ प्याराग्लाइडिङ व्यवसायीले उडान थालेका थिए । अहिले सराङकोटबाट प्याराग्लाइडिङ उडान हुन्छ र फेवाताल किनारमा अवतरण गरिन्छ । सराङकोट नजिकको तोरीपानी र मान्द्रेढुंगा पनि प्याराग्लाइडिङ उडानको क्षेत्र हो । मान्द्रेढुंगा, सराङकोट र तोरीपानीबाट उडेका सबै प्याराग्लाइडिङ फेवाताल किनारमै अवतरण गर्छन् । व्यवसायीले पोखराको आकाशमा झण्डै अढाइ दशकदेखि भइरहेको प्याराग्लाइडिङ उडान केही गरी अन्यत्र सार्नुपर्दा त्यसको असर पर्यटन क्षेत्रमा पर्ने बताउँदै आएका छन् ।

यसैबीच, नाको नवौं अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको पदस्थापना भएको छ । सुनिलबहादुर भट्टराईको अध्यक्षतामा निर्वाचित कार्यसमिति उपाध्यक्षा शोभित बानियाँ, प्राविधिक उपाध्यक्ष अनिल केसी, महासचिव खेमराज आचार्य, सचिव रोशन गौतम र कोषाध्यक्षमा अशोक पराजुली छन् । प्राविधिक सदस्य शेरबहादुर गुरुङ, दीपक थापा र विजय गौतम सर्वसम्मत् चुनिएका हुन् । सदस्यमा भेनिस थापा र इमनाथ देवकोटा निर्वाचित भए ।

Related News

सम्बन्धित समाचार

hero news full width