होटल संघको टुर प्याकेज तालिम

आदर्श समाज सम्वाददाता
असार २४, २०७९
Hotel Sangh

पोखरा।  होटल संघ पोखरा नेपालको आयोजनामा टुर प्याकेज तालिम तथा अन्तरक्रिया भएको छ । एक दिने तालिममा पर्यटन क्षेत्र सम्बद्ध झण्डै ४० जनाको सहभागिता थियो ।

आन्तरिक तथा बाह्य पर्यटन प्रबद्र्धनमा टेवा पुगोस् भन्ने उद्देश्यसाथ नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा कार्यक्रम आयोजना गरिएको आयोजक संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । सुवेदीले होटल संघले लामो समयदेखि आन्तरिक पर्यटन प्रवद्र्धनका लागि नेपालका विभिन्न भागमा कार्यक्रम गरी जाउँ है पोखरा अभियान र भारतमा पनि त्यसैगरी चलीय पोखरा अभियान संचालन गर्दै आइरहेको स्मरण गराए । यतिमात्र नभई चीन र अन्य तेस्रो मुलुकमा समेत नेपाल प्रवद्र्धनका लागि पर्यटन मार्टहरुमा संघ सहभागी हुँदै आएको अध्यक्ष सुवेदीले बताए ।

कोभिड १९ का कारण २ वर्ष पोखरासँगै नेपालको पर्यटन ठप्प हुन पुग्दा थुप्रै पर्यटन व्यवसायी र यस क्षेत्रका मजदूर, कामदार र कर्मचारी पलायन हुन पुगेको समेत उनले बताए । बितेका ६ महिनायता पर्यटक आगमन राम्रै रहे पनि पछिल्ला दिनहरुमा भने अफ सिजन लगायत विविध कारणले पर्यटन आगमन सन्तोषजनक हुन नसकेको अध्यक्ष सुवेदीले जानकारी दिए । होटल, ट्राभल, पदयात्रा, साहसिक पर्यटन लगायत विविध क्षेत्रलाई समेटेर अहिलेको अफ सिजनमा पर्यटकका लागि विशेष प्याकेज बनाउने उद्देश्यले समेत कार्यक्रम आयोजना गरिएको सुवेदीले बताए । आउने सेप्टेम्बर, अक्टोबार र नोभेम्बर महिनामा पर्यटक आगमन राम्रो रहनेमा आफूहरु आसावादी रहेको बताए ।

कार्यक्रममा नागरिक उड्डयन प्राधिकरण पोखराका प्रमुख विक्रमराज गौतम, नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख निर्देशक काशिराज भण्डारी र नेपाल टुरिजम एन्ड होटल म्यानेजमेन्ट कलेज पोखराका प्राचार्य प्रकाश रेग्मीले सहभागीबीच आफ्ना प्रस्तुति राखेका थिए । पर्यटन सम्बद्ध संघसंस्थातर्फबाट बोल्दै पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपिबहादुर भट्टराईले तालिमले व्यवसायीमा थप ऊर्जा मिलेको भन्दै व्यवसायलाई परिष्कृत ढंगले अगाडि बढाउन यसबाट मद्दत पुग्ने विश्वास व्यक्त गरे । सो अवसरमा आयोजक संघका प्रथम उपाध्यक्ष दीपक श्रेष्ठले उपस्थिति सबैलाई धन्यवाद दिए । कार्यक्रम संचालन संघका महासचिव राजेन्द्र ढकालले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width