‘जनताका आवश्यकतातर्फ बजेट केन्द्रित भएन’

आदर्श समाज सम्वाददाता
असार २१, २०७९
gandaki

पोखरा । गण्डकी प्रदेशको आगामी आवको लागि प्रस्तुत बजेटले जनताको आवश्यकता पूरा गर्न नसक्ने प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदले टिप्पणी गरेका छन् ।

गण्डकी प्रदेशसभामा मंगलबार बजेट माथिको छलफलमा भाग लिर्दै प्रदेशसभामा सदस्य रामशरण बस्नेतले बजेटमा एउटा र रातो किताबमा अर्कै आउने जस्ता प्रवृत्ति देखिएको बताए । जनताका आवश्यकतातर्फ बजेट केन्द्रित नभएको उनले बताए । यस बजेटबाट जनताका इच्छा र चाहना पूरा नहुने उनले बताए । बाढीका कारण जनजीवन अस्तव्यस्त भएको अवस्थामा सरकारले बेवास्ता गरेको आरोप लगाए । सरकारमा जवाफदेहिता नदेखिएको उनले बताए ।

अर्का सदस्य मनकुमारी गुरुङले आफ्नो साधनस्रोतलाई ख्याल गर्नुपर्ने अवस्थामा हैसियत अनुसार बजेट आएको बताउँदै धेरै विषयलाई बजेटले समेटेको बताइन् । सरकारले जनतालाई अत्यावश्यक कतिपय नयाँ कार्यक्रम ल्याएको उनले बताइन् । कतिपय कार्यक्रम नीति तथा कार्यक्रममा परे पनि बजेटमा नसमेटिएको बताउँदै उनले रातो किताबमा ती विषय समेटिएर आउने विश्वास व्यक्त गरिन् ।

सांसद लेखबहादुर थापाले बजेट जनमुखी रहेको बताए । करको दायरा फराकिलो बनाउनुपर्नेमा उनले जोड दिए । अर्का सदस्य धनमाया लामा पोखरेलले संघीयताको मर्म र भावनाअनुसार प्रदेशमा देखिने विवाद तथा समस्या यहाँ नै समाधान गर्नुपर्नेमा जोड दिइन् । उनले जनताका पक्षमा सबै एक ठाउँमा उभिनुपर्ने आवश्यकता औंल्याइन् ।

यस्तै, सावित्रा रानाले सरकारले ल्याएको बजेट परिणाम दिने खालको हुनुपर्नेमा वितरणमुखी आएको बताइन् । योजना छनोट विधि नै गलत अवलम्बन गरिएको उनले बताइन् । यो बजेटले समृद्धिको यात्रा तय गर्न नसक्ने उनको भनाइ छ ।

भागवत प्रकाश मल्लले जनताका आवश्यकता र अपेक्षालाई सम्बोधन गर्नुपर्नेमा जोड दिए । मोहनप्रसाद रेग्मीले बजेट गन्तव्यमा पुग्ने किसिमको नभएको बताए । सत्तापक्ष आफैंभित्र लुछाचँुडीमा लागेको बताउँदै उनले जनताका अपेक्षालाई ध्यान नदिइएको बताए । मंगलबारको छलफलमा इन्द्रलाल सापकोटा, विनोद केसीलगायत सदस्यहरूले भाग लिएका थिए ।

गत असार १ मा प्रदेशसभामा अर्थमन्त्री रामजीप्रसाद बराल जीवनले आगामी आवको लागि ३६ अर्बको बजेट प्रस्तुत गरेका थिए । बजेटमा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम नसमेटिएको भन्दै सत्ता पक्षबीच नै तित्तता सुरु भएको थियो । तर मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको दबाबमा अर्थमन्त्रीले अर्कै शीर्षकमा सो कार्यक्रम समेट्न तयार भएपछि १८ दिनसम्म स्थगित संसद सोमबारदेखि संचालनमा आएको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width