अर्थमन्त्री कि अनर्थ मन्त्री !

आदर्श समाज सम्वाददाता
असार २१, २०७९
ramji baral 2

पोखरा । गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले गत असार १ गते प्रदेशको बजेट सार्वजनिक गरे । प्रस्तुत बजेटमाथि संसदमा घनिभूत छलफल हुनुपर्नेमा असार ५ का लागि डाँकिएको बैठक स्थगित भयो । बजेट विवादले १८ दिनसम्म अनिर्णयको बन्दी बन्दै आएको संसद सोमबारदेखि बल्ल सुरु भएको छ ।

बैठकमा बजेट वक्तव्यमाथि कार्यसूची थियो । बैठकमा बजेटभन्दा बढी सरकारको आलोचना भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले सरकार रातो किताब सिरानी हालेर २० दिन भूमिगत भएको आरोप लगाएको छ । पूर्व अर्थमन्त्री समेत रहेका एमाले सांसद किरण गुरुङले मन्त्रीहरु दौरा सुरुवाल लगाउन र झण्डा हल्लाउनका लागि मात्रै सरकारमा गएकोले आफ्नो जिम्मेवारी भुलेको आरोप लगाए ।

‘अर्थमन्त्री ज्यू, तपाईं अर्थमन्त्री कि अनर्थमन्त्री ? यत्रो २० दिनसम्म संसदलाई बन्दी बनाउन पाइन्छ ? मुख्यमन्त्रीज्यू, २० दिनसम्म भूमिगत हुँदा बर्खायाम छ, कहीं खिया त लागेको छैन ? तपाईं निरीह हुनुभएको छ,’ उनले भने, ‘केका स्वार्थका निम्ति संसद रोक्नुभयो ? दौरा सुरुवाल लगाउन र झण्डा हल्लाउनका निम्ति मात्रै सरकारमा जानुभएको हो ?’ उनले गठबन्धन सरकारलाई सत्तामा पुग्ने अपेक्षा नै नभएको भन्दै सत्तामा पुगेपछि आफ्नो भूमिकाबाट बाहिर रहेको टिप्पणी गरे ।

‘हुन त सरकारमा पुग्छु भन्ने विश्वास थिएन, सरकार पाउनुभयो । सरकार पाएपछि काम गर्छु भन्ने विश्वास जगाउनुपथ्र्यो । त्यो पनि जगाउनुभएन,’ उनले अघि भने, ‘हिजो कसरी आपसमा बाझ्नुभयो ? आज कसरी मिल्नुभयो ? यसरी नै सरकार चल्छ ? हामी सरकार कहाँ छ भनेर खोज्दै हिंड्नुपर्ने ?’

सरकारले रातो किताब सिरानी हालेर गायव भएको भन्दै गुरुङले बजेट वक्तव्यमा कुनै प्राथमिकता नभेटिएको बताए । ‘रातो किताब सिरानी हालेर सुत्दिनुभयो । योभन्दा ठूलो लाजको पसारो के हुन्छ ? तपाईंहरुलाई लाज लाग्दैन ? यस्तो पनि हुन्छ ?,’ अधिकांश समय प्रश्न गरेर बिताएका गुरुङ भन्छन्, ‘प्राथमिकता आधारमा नीति तथा कार्यक्रम र बजेट आयो भन्नुभएको छ । तपाईंहरुको प्राथमिकतामा कुनै प्राथमिकता छ ?’ बजेट किताब र वक्तव्यबीच कुनै तालमेल नभएको उनको गुनासो छ । ‘न आवधिक योजनासँग मिल्छ । न मध्यमकालीन खर्च संरचनासँग मिलेको छ । त्यसैले बजेटमा हाम्रो विरोध छ,’ भने, ‘सवारी कर बढाएको छ । जसले कर तिरेको छ, फेरि उसैलाई कर थप्ने ? कि यता पनि केन्द्रमा जस्तै कुनै सुब्बाहरुको चलखेल छ ? नयाँ दायरा खोज्नु पर्दैन ? यसरी सरकार र संसद अगाडि बढ्न सक्दैन ।’

सांसद धनञ्जय दवाडीले अहिलेको बजेटले झन् बढी गरिबी निम्त्याउने बताए । ‘आत्मनिर्भरतमा जाने भनेको छ । कृषिमा जोड दिएको भनेको छ । कति अर्बको धान आयात भयो तथ्यांक छ ? श्रम, मल र बिउको आपूर्ति कहाँबाट गर्नुहुन्छ र कृषिमा आत्मनिर्भर हुन्छ ? तपाईंले ढाँट्नुभयो, छल गर्नुभयो,’ उनले भने, ‘मीठासपूर्ण भाषाले बजेट वक्तव्य बनाएर समृद्धि आउँछ र ? तथ्यमा पुग्नुप¥यो नि । हाम्रा श्रमिकहरु किन खाली हात बसिरहेका छन् ? जमिन किन बाँझा छन् ? साध्य र साधनबीचको भिन्नता केलाउनुस् भनेको थिएँ । आएन ।’ उनले काम गर्ने श्रमशक्ति विस्तारै घट्दै गएको र आश्रित जनसंख्या बढ्न थालेकोप्रति चिन्ता व्यक्त गर्दै सरकारले त्यस्तो तथ्यमा आँखा चिम्लिएको बताए । ‘काम गर्ने पंक्तिको जनसंख्या घटेर गएको छ । १५ वर्षपछि आश्रित जनसंख्या धेरै हुन्छ,’ उनी भन्छन्, ‘यस्तो जटिल तथ्यलाई आँखा चिम्लिनुभयो र माननीयहरुलाई पैसा बाँड्न थाल्नुभयो । योभन्दा चरम बेइमानी के हुन्छ ? ५ करोडका योजना बाँडेर गरिबीबाट मुक्ति मिल्छ ? तपाईंले ल्याएको बजेटले झन् गरिबीतर्फ धकेल्ने भयो ।’

सरकार रातो किताब सिरानी हालेर २० दिन भूमिगत भएको प्रमुख प्रतिपक्षी एमालेको आरोप

पूर्व पर्यटनमन्त्री विकास लम्सालले सरकार लोभी र नालायक भएको आरोप लगाए । ‘२० दिनसम्म संसद रोकेर जवाफ दिने ठाउँ छ ? योभन्दा नालायकीपन केही छ ? बच्चामा आँखा पनि नदेख्ने कान पनि नसुन्ने लम्पट पशु देखेको थिएँ । अहिले प्रदेश सरकार त्यस्तै देखेको छु,’ उनले भने, ‘गठबन्धन पार्टीहरुबचि झगडा पनि भएको भई छ, सत्तामा पनि बसेको बसै छ । छोड्न त सकिन्छ नि । कति लोभी र नालायकी हो ? के शब्द छ, विरोध गर्नका लागि ? सुपरग्लुले टाँसिएजस्तो कति टाँसिएको कुर्चीमा ?’ उनले सरकारका कार्यक्रम धरातलभन्दा बाहिर गएको गुनासो गरेका छन् ।

एमाले प्रमुख सचेतक मायानाथ अधिकारीले मुख्यमन्त्रीसँग असहमति भएपछि अर्थमन्त्री स्वत हट्नुपर्ने बताए । ‘क्याबिनेटमा मुख्यमन्त्री प्रणाली हुन्छ । मुख्यमन्त्रीसँग अन्तरविरोध गर्नेहरु स्वतः हट्नुपर्ने अवस्था आउँछ । तर मन्त्री र मुख्यमन्त्रीबीच मत विभाजन भएर अन्तर्वार्ता दिइरहनुभएको छ,’ उनले भने, ‘निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम क्याबिनेटबाट पास भएको भन्ने सुनियो, बजेटमा खै ? अनुशासन चाहिंदैन ? जे गरे पनि हुन्छ ?’ सरकारका कारण प्रतिपक्षी दलले समेत लज्जाबोध गर्नुपर्ने बेला आएको अधिकारीको भनाइ छ । ‘जनताका अघि लाजमर्दो भयो । जवाफ दिनै नसक्ने अवस्था भएको छ । प्रतिपक्षीले रोकेको हो कि सदन भनेर प्रश्न गर्छन्,’ अघि भने, ‘सरकार कहाँ छ भनेर जनताले खोजेका छन् । मेरो प्रश्न छ–नीति तथा कार्यक्रमको बेला २ जना मन्त्री अनुपस्थित हुनुहुन्थ्यो के भइरहेको छ ? बजेट प्रस्तुत भएपछि २० दिनसम्म छलफल अघि बढेन । किन हो ? जवाफ दिनुस् ।’

सरकारको समर्थक पार्टी जनमोर्चाका सांसद खिमविक्रम शाहीले बाढीले बगाएका संरचना निर्माण नभएको गुनासो गरे । २ वर्षअघि ढोरपाटनस्थित भुजीखोलामा बाढी जाँदा पुल बगाएको तर सरकारले निर्माण नगरेको उनले बताए । अघिल्लो वर्ष नै गुरुयोजना तयार भएको पुल निर्माणमा सरकारले बजेट नदिएको शाही बताउँछन् । ‘सरकारले डिपिआरको बैंक स्थापना गरेको हो ? सरस्वती, दुनापँधेरा, जडेपानीमा पुल आवश्यक छ । सरकारले भन्छ, तर गर्ने कहिले हो ?,’ उनी भन्छन्, ‘बर्खा लाग्यो सबैभन्दा बढी मारमा त्यहाँका स्थानीय र विद्यार्थी छन् । पुल कहिले बन्छ ?’

सत्तारुढ सांसद विष्णु लामिछानेले भने सरकारले ल्याएको बजेट समयसापेक्ष रहेको भन्दै समर्थन जनाए । ‘बजेट छलफल नहुने कारणहरु थुप्रै छन् । राजनीतिक, प्राविधिक, दलगत विभिन्न हुन सक्छन् । जे भए पनि जनताले उत्साहपूर्वक बजेटलाई हेरेका छन्,’ उनले भने, ‘काम गर्ने क्रममा कतै त्रुटि हुन सक्छन्, त्यस्ता त्रुटि औंल्याउनकै लागि छलफल गरिन्छ । जुन हिसाबले नीति र कार्यक्रम ल्याएको थियो । त्यसकै आधारमा यो बजेट आएको छ ।’ उनले कर्मचारी प्रशासनमा भने सुधार आउन जरुरी रहेको औंल्याए ।

Related News

सम्बन्धित समाचार

hero news full width