तङ्ग्रिँदै मिछुर्लुङ होमस्टे

आदर्श समाज सम्वाददाता
असार २०, २०७९
Mixurlung Homestay Photo

पोखरा । गोरखा भूकम्पको मारले २०७२ साल वैशाखमा अरु स्थानमा जस्तै तनहुँको भीमाद नगरपालिका ५ मिछुर्लुङलाई थरथरी कमायो । वैशाख १२ को महाभूकम्प र त्यसपछिको पराकम्पले त्यो गाउँको ७ घर उठ्नै नसक्ने गरी ढल्यो । उनीकै संख्यामा घरहरु चर्किए । त्यो भन्दा बढी मिछुर्लुङबासी मन चर्किएको थियो, भक्कानिएको थियो । परकम्पको मार कमै हुँदै गयो तर उनीहरुको मन शान्त थिएन ।

विस्तारै जनजीवन सामान्य बन्दै गयो । गाउँलेहरु पीडाकै बीचमा पनि काममा फर्किन थाले । भूकम्पको १ वर्ष अघि नै गाउँका हर्ताकर्ताहरु गाउँमा पाहुना ल्याउने सोचमा थिए । मगर बस्ती उनीहरुको भाषा, संस्कृति, रीतिरिवाज पाहुनालाई देखाउन चाहन्थे । तर भूकम्पले तहसनहस पारेको थियो । भूकम्पले नेपालकै पर्यटन क्षेत्र चलायमान थिएन । तर पनि उनीहरु पीडा भुल्दै पहिलेकै अवस्थामा फर्किन थालेसँगै एक वर्षअघिको योजनामा फर्कन थाले । गाउँका अगुवाहरु होमस्टे चलाउने मेलो कस्न थाले । त्यसको अगुवाई गरे, स्थानीय नरेन्द्र आलेले । एक वर्षअघिको गाउँ पर्यटनको अवधारण उनी आफैंले अघि सारे । उनलाई सबै गाउँलेले साथ दिए । उनलाई जिल्ला पर्यटन विकास समितिले पनि सहयोग गर्‍यो । ‘७२ सालको भूकम्प भन्दा अघि नै हामीले होमस्टे चलाउने भनेका थियौं तर भूकम्पले साह्रै दुख दियो,’ उनले भने, ‘सबै ठिक हुँदै गएपछि त्यो बेलाको जिल्ला जिल्ला पर्यटन विकास समितिको सहयोगमा भदौमा सञ्चालन गरियो ।’

सबै तयारी पूरा गरेर २०७२ भदौदेखि १२ घरबाट सुरु भयो मिछुर्लुङ सामुदायिक होमस्टे । गाउँमा पर्यटकहरु पुग्न थाले । गाउँलेले धेरथोर आम्दानी गर्ने सफल भए, गाउँले समृद्धिको बाटो पहिल्याउँदै थियो । होमस्टे चल्दै गयो, गृहिणी महिलाले पाहुना उम्काएर नुन तेलको जाहो गर्ने स्थितिमा पुगेका थिए । तर २०७६ साल अन्त्यदेखि कोरोनाले फेरि मारमा पार्‍यो । संसार नै कोरोनाको त्रासमा भएको समयमा मिर्छुलुङ होमस्टे पनि बन्द भयो ।

३ वर्षसम्म होमस्टे चलेन । गाउँलेहरु यसबाट आम्दानी हुन्छ भन्ने आशा मारेर खेतबारी कुटो कोदालोमा व्यस्त हुन थाले । त्यो बीचमा धेरै स्थानबाट फाट्टफुट्ट पाहुनाको फोन आउन थाल्यो तर उनीहरुले बन्द भएको होमस्टे खोल्ने आँट गरेनन् । व्यवस्थापनमा समस्या भइसकेको थियो । तर गाउँलेले विभिन्न दाताहरुको सहयोगमा भ्यु टावर बनाए त्यही बीचमा ।

भ्यु टावरको उद्घाटन असार ४ गते भयो । त्यसलगत्तै ५ गतेदेखि होमस्टे पनि सञ्चालनमा आयो । ‘कोरोनाले गर्दा ३ वर्ष त यत्तिकै बसियो, महेन्द्र आलेको अगुवाइमा भ्यु टावर बनेपछि पाहुँना आउँछन् कि भनेर होमस्टे पनि खोलियो,’ अध्यक्ष रानाले भने, ‘४ गते टावर उद्घाटन भयो अनि त्यसैको भोलिपल्टदेखि होमस्टे पनि सुचारु गरिएको हो ।’

मिछुर्लुङमा अहिले दैनिक ५०/६० जना पाहुना आउने गरेका छन्

५ गतेदेखि त्यहाँ पाहुनाको ओइरो लाग्ने गरेको छ । भ्यु टावर उद्घाटनपछि दैनिक ५० जनाको हाराहारीमा पर्यटक मिछुर्लुङ पुग्ने गरेको होमस्टेकी कोषाध्यक्ष देउमाया रानाले बताइन् । ‘कोरोनापछि होमस्टेमा आउने पाहुनाको संख्या शून्य जस्तै थियो, अहिले दैनिक ५०/६० जना यहाँ घुम्न आउने गरेका छन्,’ उनले भने, ‘अब त केही हुन्छ कि भन्ने छ ।’ ७२ सालमा होमस्टे स्थापना भएपछि उनले नुन तेलका लागि पैसा कहाँबाट ल्याउने होला भन्ने चिन्ता थिएनन् । घरखर्ची चलाएर केही पैसा बचत पनि हुने गरेका उनी सुनाउँछिन् । विस्तारै कमाइ भइरहेको समयमा कोरोनाले समस्यामा पारेको उनको भनाइ थियो । ‘पहिला होमस्टे चल्दा पाहुनाहरु आइराख्थ्यो, कमाइ पनि भएकै हो, नुन तेलका लागि समस्या थिएन,’ उनले भनिन्, ‘अब त केही होला भनेको त्यही बेलामा कोरोना आयो साह्रै गाह्रो बनायो ।’ पछिल्लो समय पाहुनाको आवागमनले पुरानै अवस्थामा फर्किने आशा जागेको भीममाया मगर बताउँछिन् । ‘पहिलाजस्तै पाहुना आए हामी पनि व्यस्त हुन्थ्यौं, पाहुना पनि खुसी हुन्थें,’ उनले भनिन् ।

मगर समुदायको कौरा, झ्याउरे, अर्गानिक परिकार मिर्छुलुङ होमस्टेको विशेषता हो । १ सय ८ घरधुरी रहेको मिछुर्लुङमा २०७२ सालमा १२ घरबाट सुरु गरिएको होमस्टे अहिले १९ घरमा बिस्तार भएको छ । ९५ प्रतिशत मगरको घर रहेको मिछर्लुङ होमस्टेमा ५ प्रतिशत दलित समुदायको बसोबास छ । त्यहाँ सञ्चालित होमस्टे मध्ये एक घर दलित समुदायले चलाएका छन् ।

विशेष गरी पाहुनाको स्वागत र मनोरञ्जनका लागि रातिको खानापछि मगरको मौलिक सांस्कृतिक नृत्य कौराहा, झ्याउरे, नचरी, सालैजो लगायत नृत्य प्रस्तुत गर्ने गरिन्छ । तनहुँको भीमाद बजारबाट ४ किलोमिटर दूरीमा रहेको मिर्छर्लुङ सामुदायिक होमस्टेका सवारी साधनमार्फत् पुग्न सकिन्छ । होमस्टेमा जाने पाहुनाको स्वागतका लागि मकै, फापर, कोदो, हरिया सागसब्जी, फलफूल सबै स्थानीयरुपमै उत्पादन गरिन्छ । सकेसम्म गाउँ बाहिरबाट सामानहरु खरिद नगर्ने नियम नै बनाएर होमस्टे चलाइएको छ । होमस्टेमा जाने पाहुनाहरुलाई एक रातको १ हजार शुल्क तोकिएको छ । त्यसमा साँझको खाजा, खाना, सांस्कृतिक कार्यक्रम र बिहानको खाजा, खानाको प्याकेज छ ।

प्राकृतिक सौन्दर्यताले भरिपूर्ण मिछुर्लुङमा झरना पनि छ । उक्त झरनामा एकपटक क्यानोनिङसमेत सञ्चालन गरिसकिएको होमस्टेका अध्यक्ष थापाले जानकारी दिए । भ्यु टावरले पर्यटकको चहलपहल बढाएकाले आगामी दिनमा भ्यु टावर वरपर वृक्षरोपण गरी पार्क निर्माण गर्ने योजना रहेको टावर परिकल्पनाकार आलले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

  • फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । फेवातालमा मंगलबार दिउँसो डुंगा दुर्घटनामा परेका ५ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । दिउँसो करिब ३…
  • लोकतन्त्रका १८ वर्ष : लोकतन्त्रले छोएन लोकलाई

    विजय नेपाल वैशाख ११, २०८१
    वाद होइन, परिवर्तन र विकासमा प्रतिस्पर्धा जरुरी गिरधारी सुवेदी अधिवक्ता । २०६२/०६३ को जनआन्दोलन पश्चात् नेपाली नागरिकको पहिलो अपेक्षा रोजगार,…
  • कामचलाउ सरकारको आयु लम्बियो

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । गण्डकीमा खगराज अधिकारी नेतृत्वको कामचलाउ सरकारको आयु लम्बिएको छ । उनको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई नसकिएपछि…
  • पाेखरा नयाँबजारको महायज्ञ समापन

    आदर्श समाज सम्वाददाता वैशाख १०, २०८१
    पोखरा । पोखरा नयाँबजारमा आयोजित श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ सोमबार समापन भएको छ । महायज्ञ मूल आयोजक समितिका अनुसार १० दिनसम्म…
  • सहकारी पीडित आन्दोलित

    आदर्श समाज सम्वाददाता वैशाख १०, २०८१
    पोखरा । सहकारीले रकम अपचलन गरेपछि पोखराका ६ वटा सहकारीका पीडित आन्दोलित भएका छन् । उनीहरुले बचत फिर्ता र आफूहरुको…

hero news full width