प्रतिष्ठान स्वायत्त नहुँदा काम गर्न गाह्रो भएको छ : पद्मराज ढकाल

आदर्श समाज सम्वाददाता
असार १९, २०७९
Padmaraja

पद्मराज ढकाल कुलपति, पोखरा प्रज्ञा प्रतिष्ठान

लोकगायक एवं साहित्यकार पद्मराज ढकाल पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति हुन् । विद्यार्थीकालबाट नै उनको सांगीतिक एवं साहित्यिक यात्रा सुरु भयो । हालसम्म उनले एक दर्जनभन्दा बढी क्यासेट एल्बमहरु बजारमा ल्याइसकेका छन् । सबै गरेर करिब डेढ सय गीत उनले रेकर्ड गराएका छन् । ढकालका आभाष बिहानीको लगायत केही पुस्तक, स्वदेश गान र कविता संग्रहहरु पनि प्रकाशित छन् । गीतसंगीत र साहित्यको क्षेत्रमा उनको साधना अनुकरणीय छ । पोखरा ३१ लामास्वाँराका ढकाल लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष पनि हुन् । प्रगतिशील लेखक संघ, सप्तरंगी सांस्कृतिक प्रतिष्ठान, लोकतान्त्रिक वाङ्मय समाज, हरिदेवी कोइराला साहित्य संगीत सम्मान कोष, अलीमिया लोकवाङ्मय प्रतिष्ठान, गण्डकी साहित्य संगम, हिमाली सांस्कृतिक परिवार र राष्ट्रिय जनसंगीत मञ्च नेपाललगायत एक दर्जन संस्थामा उनको आबद्धता छ । विभिन्न समयमा डेढ दर्जनभन्दा बढी संघसंस्थाबाट सम्मानित उनले अलीमिया लोकवाङ्मय पुरस्कार, विश्व संगीत सम्मान पुरस्कार, जिल्ला शिक्षा कास्कीको पुरस्कार, रेडियो गण्डकीको जनकलाकारिता पुरस्कार, पर्यटन तथा संस्कृति मन्त्रालयले प्रदान गर्ने प्रतिभा पुरस्कार लगायत आधा दर्जन बढी पुरस्कार पाइसकेका छन् । शैक्षिक क्षेत्रमा समेत उनको महत्वपूर्ण योगदान रहेको छ । पोखराको ग्लोबल कलेजियट स्कुलका संस्थापक हुन् ढकाल । गीत, संगीत, साहित्य र शिक्षाका विभिन्न आयामबारे ढकालसँग आदर्श समाज राष्ट्रिय दैनिकका संवाददाता रुपनारायण ढकालले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ :

पोखरा प्रज्ञा प्रतिष्ठानका गतिविधिबारे बताइदिनुस् न ।

पोखरा प्रज्ञा प्रतिष्ठानको गठन प्रक्रियादेखि नै हाम्रा केही असहमति रहेका छन् । पोखरा महानगरपालिकाले प्रज्ञा प्रतिष्ठान बनाउने रहन त गर्‍यो तर यसको सञ्चालनका लागि पटक्कै सहयोग नगरेको र अपहेलना गरेको अनुभूति भएको छ । प्रतिष्ठानका कुलपति र सदस्यहरुको एकवर्ष भन्दा बढीको सिर्जनशील समय आश्वासनको भरमा खेर गएको छ । महानगरले आफ्ना प्रतिबद्धता पूरा गरेको छैन । यद्यपि अहिलेसम्म कोरोनाका कारण र महानगरबाट अपेक्षाअनुसार साथ नपाए पनि प्रतिष्ठानले केही कामहरु सम्पन्न गरेको छ । नेपालको संविधानका विषयमा अन्तरक्रिया, पोखराका सबै वाङ्मयिक संघसंस्थासँग परिचयात्मक भेटघाट कार्यक्रम, कार्यालय उद्घाटन र लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीमा अन्तरक्रिया र महानगरका माध्यमिक विद्यालयबीच निबन्ध लेखन प्रतियोगिता सञ्चालन भएका छन् । यसैगरी कविशिरोमणि लेखनाथ पौड्यालको जन्मजयन्तीका अवसरमा विद्यालयस्तरीय कविता लेखन तथा वाचन प्रतियोगिता, लेखनाथको जन्मस्थलमा सफाइ र त्यहाँ मूल समारोह आयोजना गरी बृहत साहित्यिक कार्यक्रमको आयोजना पनि गरिएको थियो । नाटक लेखन कार्यशाला(११ दिन), लोककवि अलीमियाको जन्मजयन्ती समारोह, गण्डकी प्रदेशअन्तर्गत विद्यालयस्तरीय नाटक महोत्सव (४ दिन) आयोजना र धरानमा पोखराका प्राज्ञहरुको सांस्कृतिक कार्यक्रम प्रस्तुति जस्ता कार्यक्रम प्रतिष्ठान एक्लै र विभिन्न संघसंस्थासँग मिलेर आयोजना गरिएको छ ।

महानगरले सहयोग नगरेको र प्रतिबद्धता पूरा नगरेको विषयको खास पृष्ठभूमि के हो?

२०७७ फागुन १९ मा मैले पोखरा प्रज्ञा प्रतिष्ठानको कुलपतिका रुपमा पथग्रहण गरें । हाम्रो नियुक्ति र सपथ पूर्व नै महानगरको आयोजनामा पोखराका प्राज्ञिक व्यक्तित्वबीच छलफल भएको थियो । त्यसअघि नै प्रज्ञाप्रतिष्ठानको ऐन नगरसभाबाट पारित भइसकेको रहेछ । त्यो ऐन बनाउन मेरो नेतृत्वमा बनेको ऐन मस्यौदा समितिको पनि योगदान थियो । यो ऐन खासमा महानगरभन्दा पनि प्रदेशका लागि बनाइएको थियो । प्रदेश सरकारले पनि प्रज्ञा प्रतिष्ठान गठन गर्ने सन्दर्भमा गण्डकी सरकारलाई दुई पटक त्यो ऐनको मस्यौदा बुझाइएको थियो । त्यसपछि डा. यदुनन्दन ढकालको संयोजकत्वमा प्रदेशले पुनः यही कामको लागि अर्को समिति बनायो । त्यो समितिलाई पनि हाम्रो मस्यौदा बुझायौं । ढकाल सरको मस्यौदा समितिले हाम्रा धेरै जसो बुँदा समेटेको पायौं । उहाँले पनि छलफल र सुझावपछि सरकारलाई मस्यौदा बुझाउनुभयो । तर सरकारले मस्यौदाका केही बुँदा आफूखुसी परिवर्तन गर्‍योे । विशेषगरी प्राज्ञ चयन समिति गठन प्रक्रिया परिवर्तन गरियो । हामीले बुझाएको मस्यौदामा प्राज्ञ चयन समिति बनाउँदा शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रीको संयोजकत्वमा दुई विज्ञ राख्ने भन्ने थियो तर परिवर्तित मस्यौदामा संयोजक त संस्कृति मन्त्री नै रहने तर विज्ञहरुमा कर्मचारी राख्ने भन्ने व्यवस्था गरियो । यस हिसाबले प्राज्ञ छनोट गर्दा उपयुक्त पात्र नआउन सक्छ भन्ने भयो । पछि प्रदेश सरकारले प्राज्ञ चयनका लागि निवेदन पनि मााग्यो । यो कर्मचारी मागेजस्तो हुन पुग्यो । यस्तोमा स्वाभिमानी व्यक्तिले निवेदन नहाल्न सक्छ । यद्यपि अहिले छनोट हुनुभएको व्यक्ति योग्य नै हुनुहुन्छ तर प्रक्रिया गलत भयो भन्ने हाम्रो कुरा हो । ऐनमा धेरै बुँदा त हामीले दिएकै सुझावहरु समेटिएका छन् । अर्को बुँदा सदस्यसचिव संस्कृति मन्त्रालयको सचिव हुने कुरा ठीक छैन भन्ने भयो । सचिव आफ्नै मन्त्रालयको काममा बढी व्यस्त हुनुपर्छ । पछि पुनः ऐन मस्यौदाउपर छलफलमा गरियो, त्यसबेला मन्त्रालयकोे सचिव प्रतिष्ठानको सदस्यसचिव हुने विषयलाई पूरै विरोध गरियो । विरोधपछि सदस्यसचिव प्राज्ञ हुने कुरा सुधार भयो तर चयन समिति सुधार भएन ।

प्रदेशले पनि २०७४ मा चुनाव भएको पहिलो वर्षमा नै प्रतिष्ठान बनाउने कुरा गरेको थियो । ढिलो भए पनि राम्रै भएको छ । साहित्य, संगीत, कला, संस्कृति तथा नाटकको क्षेत्रमा यहाँ झण्डै एक सय वाङ्मयिक संस्था क्रियाशील छन् । कुनै संस्थाले त प्रतिष्ठानले गर्ने भन्दा धेरै काम गर्दै आएका छन् । प्रतिष्ठानसँग सीमित बजेट हुन्छ । पोखराले प्रतिष्ठान बनाउँदा पनि गण्डकीको ऐन मगायो । पोखराको ऐन जुन छ यो पनि प्राज्ञिक मर्यादा अनुकूलको बनेन । यो खिचडी खालको भयो । यहाँ पनि सिफारिस समितिमा कर्मचारी रहने व्यवस्था छ । प्रतिष्ठानमा पनि सदस्यसचिवमा कर्मचारी अर्थात् प्रमुख प्रशासकीय अधिकृत राखिएको छ । दुई जना परिषद् सदस्य र दुई जना कार्यपालिका सदस्य (जनप्रतिनिधि) राखिएको छ । त्यही भएर प्रतिष्ठान स्वायत्त नहुँदा काम गर्न गाह्रो भएको छ । प्रशासकीय अधिकृतको काम आफ्नै कार्यालयमा धेरै हुन्छ । त्यही भएर उहाँलाई फुर्सद कम हुन्छ । वास्तवमा सदस्यसचिव कार्यकारी हुन जरुरी छ । हामीले काम गर्न नसक्नुको कारण पनि ऐनकै व्यवधान हो ।

यहाँले पर्यटन प्रबरद्धन लागि समेत गीत लेख्ने, गाउने काम गर्नुभयो । यो सोच कसरी आयो?

हाम्रो देश संस्कृति र प्रकृति दुवैले सम्पन्नशाली छ । त्योमध्ये पोखरा संस्कृतिान मात्र नभई प्रकृतिको धनी सहर हो । साविक लेखनाथ नगरपालिका स्थापना भएपछि २०५४ सालमा स्थानीय चुनावसँगै नगरपालिकामा शालिग्राम पौडेल नगर प्रमुख हुनुभयो । लेखनाथकै जन्मस्थल भएकै कारण २०५५ सालमा लेखनाथको नाममा प्रतिष्ठान खोल्न उहाँले पनि सल्लाह दिनुभयो । प्राडा रविलाल अधिकारी संस्थापक अध्यक्ष बन्नुभयो र म संस्थापक कोषाध्यक्ष । लेखनाथका बारेमा गीत पनि गाउनुप¥यो भनेर मेयरसाहेबले भनेपछि दुई गीत मैले लेखें, एक गीत हरिदेवी कोइरालाले लेख्नुभयो । अनि तीनवटा गीत हामी दुवै मिलेर गाएका छौं । त्यो बेला टिभीमा ती गीत निकै बजे । पर्यटकीय हिसाबले पनि ७ तालको वाटिका सहर भएका कारणले लेखनासम्बन्धी गीत लोकप्रिय भए । अहिले पोखराको गीत लेख्दै छु । यो गीत रेकर्ड भइसक्यो र कतैकतै बजेको पनि छ । औपचारिक रुपमा प्रकाशनमा आएको भने छैन । कतिपय कार्यक्रममा मैले गाएको छु । ऋतु लामा र मैले गाएका हौं, यो गीत । जहाँ गए पनि कहाँ भुल्न सक्छु र, छाडी अन्तमात्रै कहाँ डुल्न सक्छु र…यस्तै खालका शब्द गीतमा छन् । अर्को एउटा स्वदेश गान पनि गाएको छु, नेपाली हौं हामी हजुर जहाँ गए पनि बोलको गीत हो यो ।

यहाँको नाम परम्परागत नेपाली भाकाहरुको संकलन र गायनसँग पनि जोडिन्छ, यो काममा लाग्ने वातावरण कसरी सिर्जना भयो?

नेपाली संस्कृतिसँग सम्बन्धित झ्याउरे, सोरठी, कौरा, धिमाल, देउसी, असारे जस्ता भाकाहरु मैले संकलन गर्ने र गाउने काम गरेको छु । यी गीत र भाका सम्बन्धमा विद्यालयस्तरीय प्रतियोगिता हुने गर्थे । तत्कालीन जिल्ला शिक्षा कार्यालय र क्षेत्रीय शिक्षा निर्देशनालयले त्यस्ता कार्यक्रम गर्थे । जिल्ला र क्षेत्रमा प्रथम भएर केन्द्रमा जान पाइन्थ्यो । म यसरी पाँचपटक केन्द्रमा गएको छु । शिक्षा तथा खेलकुद मन्त्रालयको पाठ्यक्रम विकास केन्द्रले राष्ट्रिय कार्यक्रम गथ्र्यो । गीत र भाका मौलिक, रेकर्ड नभएको र नक्कल नगरिएको हुनुपर्ने नियम थियो । बाजा पनि प्रत्यक्ष बजाउनुपर्ने । लोकगीत, लोक नृत्य र परम्परागत नृत्यका लागि गीत चाहिन्थे । यसबाट एकातिर संस्कृति संरक्षण हुने काम भयो भने अर्कातिर विद्यार्थीलाई प्रतियोगितामा भाग लिनका लागि गीत संकलन गर्ने काम भयो । त्यो बेला कल्याण शेरचन क्षेत्रीय शिक्षा निर्देशनालयमा हुनुहुन्थ्यो । उहाँको नेतृत्वमा हामी केन्द्रमा जान्थ्यौं । गोष्ठीहरु हुँदा काठमाडौंमा गएर पश्चिमाञ्चलका गीत र नृत्यका बारेमा मैले कार्यपत्र पनि प्रस्तुत गरेको छु । हाम्रै गीत संगीतका बारेमा अध्ययन गर्ने मौका एउटा भयो भने अरु क्षेत्रका विज्ञमार्फत् उनीहरुको क्षेत्रको संगीतबारे बुझ्ने मौका पनि पाइयो । केन्द्रमा त्यतिखेर चेतन कार्कीलगायतका हुनुहुन्थ्यो । केन्द्रमा गएर हामीले दुई पटक प्रथम पुरस्कार पनि पाउन सफल भयौं ।

पञ्चायती व्यवस्थाको सपोर्ट गरे जे पनि गर्न पाइने, गल्ती गरे पनि सजायँ नहुने तर विरोध गरे राम्रो गर्दा पनि थुनिनुपर्ने र व्यवस्थाबाट दण्डित हुनुपर्ने थियो

प्रजातन्त्रका लागि पञ्चायत र राजाविरुद्ध नै गीत पनि गाउनुभयो, यो हिम्मत कसरी आयो?

हामी विद्यार्थी हुँदा पञ्चायती व्यवस्था थियो । २०३६ सालमा निर्दल र बहुदलको चुनाव भयो । त्यो बेलाको राजनीतिक गतिविधिले विशेष प्रभाव पर्न गयो म मा । त्यसताका नौ कक्षामा पढ्दा म स्वतन्त्र विद्यार्थी युनियनमा सचिवमा चुनाव उठेको थिएँ । र, आन्दोलनको बेला म ७/८ पढ्दै थिएँ । त्यतिखेर पनि मेरो स्वर राम्रै थियो । राजनीतिक सभामा पनि गीत गाउन अवसर दिइन्थ्यो, त्योबेला । त्यसबखत बहुदलको प्रचारमा गीत गाएको म सम्झन्छु । तारानाथ रानाभाट र सोमनाथ प्यासी अतिथि भएको कार्यक्रम अगाडि उभिएर मैले गीत गाएँ । उनीहरुले संयुक्त आन्दोलन गरेका थिए बहुदलका लागि । गीतबाट प्रभाव पार्न सजिलो हुने भएर मैले गीत गाएँ । विगतमा पञ्चायतकालमा अवस्था कस्तो थियो भने पञ्चायती व्यवस्थाको सपोर्ट गरे जे पनि गर्न पाइने, गल्ती गरे पनि सजायँ नहुने तर विरोध गरे राम्रो गर्दा पनि थुनिनुपर्ने र व्यवस्थाबाट दण्डित हुनुपर्ने थियो । यो ठीक होइन । पञ्चायती व्यवस्थाको विरोध गरेबापत जेल जानुपर्ने । पञ्चायती व्यवस्थामा लाग्ने सबै मानिस त ठीक थिएनन् नि । नराम्रा मानिसले गरेको काम त सपोर्ट गर्ने कुरा भएन । त्यसताका मैले एउटा गन्धर्व गीत लेखें । सामन्तको नाइके दरबार, जनताको थिएन सरकार बोलमा त्यो गाइयो । गीत कविता त विद्यालयका अतिरिक्त क्रियाकलापमा पनि गाएँ । बौद्धिक अतिरिक्त क्रियाकलापमा म प्रायः प्रथम नै हुन्थें । चूडामणि त्रिपाठीले हामीलाई छन्द सिकाउनुुहुन्थ्यो । ८/९ कक्षामा नै मैले छन्दमा कविता लेख्थें । पृथ्वीनारायण क्याम्पस पुगेएपछि पनि यो क्रमले निरन्तरता पायो ।

विगतमा यहाँका ‘एकल साँझ’ आयोजना भए, यस्ता कार्यक्रमबाट के फाइदा हुँदो रहेछ?

पोखरा उद्योग वाणिज्य संघ र पोखरा सभागृह तथा लेखनाथको मन्दीपमिलन चलचित्र हलमा त्यस्ता कार्यक्रम भए । काठमाडौंमा २०७६ साल जेठमा राष्ट्रिय नाच घरमा एकल साँझ सम्पन्न भयो । एकल साँझका सम्बन्धमा के भन्छु भने गीत संगीतको महत्व त छँदै छ, आफ्ना महत्वपूर्ण गीत सुनाउने उद्देश्य यी कार्यक्रमले बोकेका थिए । केही छानिएका गीत गाउँदा एकातिर आपूmलाई पनि स्थापित गर्न पाइयो, अर्कोतिर गीत संगीतको प्रवद्र्धन पनि हुने भयो । यसका साथै केही आर्थिक संकलन पनि हुन गयो । त्यस्तो पैसा मैले व्यक्तिगत रुपमा खर्च गर्नुभन्दा पनि पुरस्कार स्थापना गर्न अक्षयकोषका लागि लेखनाथ साहित्य प्रतिष्ठान र सप्तरंगीलाई सांस्कृतिक प्रतिष्ठानलगायतलाई प्रदान गरेको छु ।

गीतसंगीतलाई पछिल्लो प्रविधिले कस्तो असर परेको देख्नुहुन्छ, लोकसंगीतमा अचेल आएर विकृति बढेको कुरा पनि सुनिन्छ, के भन्नुहुन्छ?

पहिला क्यासेट एल्बम टेप रेकर्डमा बजाउने र सुन्ने काम हुन्थ्यो । पछि सिडी आयो र त्यसपछि अहिले पेन ड्राइभ आयो । अहिले त युट्युबलगायत सामाजिक सञ्जाल पनि छन् । यस हिसाबले के भन्न सकिन्छ भने समयअनुसार आफू पनि परिवर्तन हुनुपर्ने अवस्था आयो । प्रविधिको विकास हुनु राम्रो कुरा मान्नुपर्छ । टिभीमा कहिले गीत आउँछ र हेरौंला भन्ने हुन्थ्यो पहिला । अहिले तुरुन्त हेर्न मिल्छ । प्रविधिको विकास सकारात्मक कुरा हो । विकृतिको कुरा गर्दा गीतसंगीतमा विकृति भनेको मुख्य दुइटा हुन्छन्; भाषा र भेषभूषामा । सञ्चारका जुनसुकै साधनमा प्रकाशन प्रसारण भए पनि ती परिवारका सबै सदस्य बसेर हेर्न सुन्न सक्ने हुनुपर्छ भन्ने मेरो मान्यता हो । पहिरन र भाषामा केही विकृति आएको छ अहिले । यसलाई हटाउन प्रतिष्ठानहरु, नेपाल सरकार र सम्बन्धित क्षेत्र चनाखो हुनु आवश्यक छ ।

प्रगतिशील साहित्य र प्राज्ञिक क्षेत्रमा राजनीतिको प्रभावलाई यहाँले कसरी हेर्नुभएको छ?

प्रगतिशील भनेको समाजलाई प्रगतितिर उन्मुख गराउने साहित्य हो । साहित्य प्रगतिशील हुन जरुरी छ । मनोरञ्जनमात्र होइन साहित्य । साहित्यलाई समाजलाई अगाडि बढाउन भूमिका खेलेको हुनुपर्छ । कतिपय अवस्थामा प्रगतिवादी पनि भनिन्छ । यो भनेको सिधै वामपन्थी आन्दोलनलाई सहयोग गर्ने खालको साहित्य हो । प्रगतिशील साहित्य भनेको समाजलाई सुधार गर्ने र समाजलाई प्रगतितिर लैजाने खालको साहित्य हो । वामपन्थीबाहेकका अरु राजनीतिक व्यवस्थासँग सम्बन्धित स्रष्टाले पनि साहित्य प्रगतिशील नै लेखेका हुन्छन् । एकेडेमीहरु राजनीतिमा जोड्न त नहुने हो यद्यपि मेयर उपमेयर राजनीतिक प्रतिनिधि नै हुन् । कुनै एउटा पार्टीबाट जितेका हुन्छन् । अलिकति त्यसमा असर पर्छ नै । जस्तो नयाँ मेयर आउनुभयो, प्राज्ञ पनि परिवर्तन भइदिए हुन्थ्यो भन्ने कुरा आउँछ तर हामीले सकेसम्म राजनीतिभन्दा पर रहेर नै काम गरेका छौं ।

लेखनाथ साहित्य प्रतिष्ठानले के–कस्ता गतिविधि गर्दै आएको छ?

कवि शिरोमणि लेखनाथ पौड्याललाई केन्द्रमा राखेर २०५५ सालमा स्थापित लेखनाथ साहित्य प्रतिष्ठानले अर्चलेस्थित कवि शिरोमणि जन्मेको घरको मर्मत सम्भार र जीर्णोद्धार तथा यहाँ पुस्तकालय स्थापना ग¥यो । कवि शिरोमणिलगायत विभिन्न साहित्यकारका कृतिको प्रकाशन तथा विमोचन, कला, साहित्य र संगीत साधनामा लागेका स्रष्टाहरुको सम्मान, छन्दोबद्ध कवितावाचन प्रतियोगिता, हरेक वर्ष लेखनाथ जयन्ती मनाउने र महोत्सवमा साहित्यिक स्टलहरु राख्ने जस्ता कार्य पनि गर्दै आएको छ । ५० हजार राशिको लेखनाथ साहित्य पुरस्कार, १० हजार राशिको कुन्तीदेवी शिक्षा पुरस्कार तथा अन्य शिक्षा र पत्रकारितासम्बन्धी पुरस्कार तथा विद्यार्थीलाई छात्रवृत्ति पनि वितरण गरिँदै आइएको छ । कवि शिरोमणिको जन्मस्थललाई सिर्जनाग्राम र साहित्यिक तीर्थस्थल तथा साहित्यिक पर्यटकीयस्थलका रुपमा विकास गर्ने हाम्रो अभियान जारी नै छ ।

निजी विद्यालयको संस्थापक पनि हुनुहुन्छ, धनी र गरिब छुट्याउने दुई खालको शिक्षा भयो भन्ने गुनासोका सम्बन्धमा के भन्नुहुन्छ?

यदि सरकारी स्कुल राम्रो भएको भए विद्यार्थी सरकारी विद्यालयमा आकर्षित हुन्थे । सरकारी स्कुलमा पैसा तिर्न पर्दैन । सरकारी स्कुल राम्रो भए त पैसा तिरीतिरी किन बोर्डिङ जान्थे विद्यार्थी ? अतः दुई खालको शिक्षासम्बन्धी दोष सरकारलाई जान्छ । सरकारी स्कुललाई गुणस्तरीय शिक्षा दिन सक्ने बनाउनुपथ्र्यो । राम्रा शिक्षक भर्ना गर्ने, स्थायी गर्ने, सुविधा दिने, गुणस्तरीय शिक्षा दिन सके प्राइभेटमा जानै पर्दैनथ्यो । भन्न त नारामा गुणस्तरीय शिक्षा र निशुल्कको कुरा गर्छ सरकार तर व्यवहारमा त्यस्तो छैन । यज्ञ लगाएर भवन बनाइएका छन् । भवन बनाउने काम त सरकारले गर्नुपर्ने हो नि । भौतिक विकास र गुणस्तर सुधार्ने काम सरकारको हो । प्राइभेट स्कुल नखुलेको भए विद्यार्थी विदेश जान्थे । अहिले विदेश जाने क्रममा न्यूनता आएको छ । गुणस्तरीय स्कुल खोलेका कारणले यो भएको हो । सरकारले भौतिक सुविधा र गुणस्तरीय शिक्षासहित सरकारी स्कुललाई सम्पन्नशाली बनाउन सके दुईखाले शिक्षको आवश्यकता पर्दैन । सरकारले राम्रो र गुणस्तरीय शिक्षा दिए हामी प्राइभेट स्कुल बन्द गर्न तयार छौं ।

Related News

सम्बन्धित समाचार

hero news full width