गिरिजाप्रसाद कोइरालाको स्मरण

आदर्श समाज सम्वाददाता
असार १९, २०७९
Girija Psd Koirala Photo

पोखरा । गिरिजाप्रसाद कोइरालाको जन्मजयन्ती अवसरमा पोखरामा शनिबार प्रवचन कार्यक्रम गरिएको छ । गिरिजाप्रसाद कोइराला फाउन्डेसन आयोजनामा स्व.कोइरालाको ९९ औं जन्मजयन्तीमा ‘आर्थिक उदारीकरणको सान्र्दभिकता एवं आजको आवश्यकता’ विषयमा प्रवचन कार्यक्रम गरिएको हो ।

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नेपालमा लोकतान्त्रिक संविधान ल्याउन गिरिजाप्रसाद कोइरालाको अहम् भूमिका रहेको बताए । स्व. बिपी काइरालाले अंगीकार गरेको लोकतान्त्रिक समाजवादको सिद्धान्त आधारमा बनेको लोकतान्त्रिक संविधान ल्याउन स्व. कोइरालाको ऐतिहासिक, अविष्मरणीय भूमिका रहेको बताए । नेता भएपछि जनतालाई नेतृत्व दिन सक्नुपर्ने भन्ने स्व. कोइरालाको भनाइप्रति सहमति जनाउँदै देश, समाज, जनाता र पार्टीका लागि निर्णय लिंदा अडिग भएर लिनुपर्ने धारणा राखे । देश द्वन्द्वमा गएको समयमा शान्ति सम्झौता गर्ने निर्णय सम्झनयोग्य भएको उनले बताए । यस्तो कामको सम्मान गर्दै नेपाली कांग्रेसले मात्र होइन, राष्ट्रले नै सम्मान गर्नुपर्ने उनको धारणा थियो । ‘हिजो बुलेट लिएर मुलुक परिवर्तन गर्छु भनेर लाग्नेहरुलाई अहिले ब्यालेटको युग हो भनेर कन्भिन्स गराएर ल्याउने युगपुरुषलाई सबैले सम्झनुपर्छ,’ उनले भने ।

राजनीतिक परिवर्तन गर्ने स्व. कोइरालाले बहुदल आएपछि गरेको नेतृत्वको सुरुको ३ वर्ष आर्थिक क्षेत्रमा सुनौलो युग भएको उनले बताए । त्यही जगमा बसेर ८० प्रतिशतभन्दा बढी निजी क्षेत्रले आर्थिक क्षैत्रमा सहयोग गरिरहेको उनले सुनाए । कांग्रेसको पालामा सुरु भ्याट सिस्टमले देशको अर्थतन्त्रमा टेवा पुगेकाले अबका दिनमा पनि त्यही बाटो हिड्नुको विकल्प नरहेको उनले बताए ।

कोइरालाको ९९ औं जन्मजयन्तीमा आयोजित वक्ताले भने–कांग्रेसले मात्र होइन, राष्ट्रले नै सम्मान गर्नुपर्छ ।

गिरिजाप्रसाद कोइराला फाउन्डेसन अध्यक्ष सुजाता कोइरालाले नक्कली कम्युनिष्टले नेपाली कांग्रेसविरुद्ध गलत हल्ला फैलाइरहेको आरोप लगाइन् । कांग्रेसले लिएको आर्थिक उदारीकरणबारे गाउँगाउँमा गएर नेपाली कांग्रेसले देश विगार्ने काम गर्‍यो भनेर गतल हल्ला फिजाएको बताइन् । यसैका प्रतिवाद गर्न कार्यक्रम आयोजना गरिएको हो ।

कोइरालाले आर्थिक उदारीकरणका क्षेत्रमा गरेका राम्रा कामका बारेमा खोजी गर्नुपर्ने उनको तर्क थियो । द्वन्द्वको बेला कोइरालाले विदेश कामदार पढाउनको कामको सुरुआत गरे पनि धेरै राहतको काम गरेका थिए । ‘द्वन्द्वको समयमा लिएको नीतिले धेरै उहाँहरु विदेश गए उनीहरु जीवित भए,’ उनले भनिन्, ‘उनीहरुको रेमिट्यान्सले नै देशको आर्थिक उदारीकरणमा धेरै सहयोग पुग्यो ।’ रेमिट्यान्सले मात्र मुलुकको आर्थिक उदारीकरण हुन्छ भन्ने सोच्न नहुने भएकाले देश समृद्ध भएपछि रेमिट्यान्स सिस्टम हटाउनु पर्ने उनको धारणा थियो । विकास नहुँदासम्म प्रजातन्त्र कमजोर भइरहने र प्रजातन्त्र कमजोर हुनु भनेको बिपी कोइराला कमजोर हुनु भएको यसतर्फ सबै कांग्रेस सजग हुनुपर्ने उनले बताइन् ।

कार्यक्रममा कांग्रेस गण्डकी सभापति शुक्रराज शर्माले स्व. गिरिजाप्रसाद कोइराला को हो भनेर चिन्नका लागि धेरै विशेषज्ञले अनुसन्धान गर्न जरुरी रहेको बताए । स्व. कोइरालको सारा जीवन राष्ट्रियता, प्रजातन्त्र, समाजवादप्रति समर्पित भएकाले उनको त्याग भुल्न नहुने तर्क प्रस्तुत गरे । ‘राष्ट्रियता, प्रजातन्त्र, समाजवादको मुलमन्त्रमा स्थापित पार्टीलाई नेपाली जनताको साझा अनि प्यारो पार्टी बनाउने काम गिरिजाबाबुले सञ्चालन गर्नुभएको छ,’ उनले भने । बहुदल आएपछि प्रधानमन्त्री हुँदा प्रजातन्त्रको रक्षाका निम्ति आर्थिक नीति प्राथमिकतामा राखेको उनको भनाइ थियो ।

नेपाल सरकारका पूर्व कानुन मन्त्री यज्ञबहादुर थापा, कांग्रेस कास्की सभापति किशोरदत्त बराल लगायतले फाउन्डेसनले आगामी दिनमा स्व.कोइरालाको राजनीतिक योगदान मात्र होइन आर्थिक उदारीकरणमा गरेका कामबारे खोजी गर्नुपर्ने बताए । आर्थिक उदारीकरणलाई लागि कांग्रेसले कहाँ कसरी जोड्ने भनेर बहस र छलफल गर्न आवश्यक रहेको उनीहरुले बताएका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width