गाउँपालिकाको बालगृह

आदर्श समाज सम्वाददाता
असार १७, २०७९
balgriha sanchalan

म्याग्दी । बागलुङको तमानखोला गाउँपालिकाले पालिकाभित्रका अनाथ, असहाय, अपांगता भएका, अतिगरिब विपन्न बालबालिकाको संरक्षणको लागि बालगृह सञ्चालनमा ल्याएको छ । उनीहरुलाई पालिकाले निशुल्क शिक्षा, स्वास्थ्य, खान, बस्न लगायतको व्यवस्था गरेको छ । गाउँपालिकाभित्रका हाल ३० बालबालिका छन् ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास लम्सालका अनुसार पालिकामा स्थापित तमानखोला विकास कोष स्थापना गरेर गत वर्षदेखि गाउँपालिका अध्यक्ष जोकलाल बुढामगरसहित केही जनप्रतिनिधिले पाउने सेवासुविधा बापतको केही प्रतिशत र केही कर्मचारीले आफूहरुले पाउने तलबको केही प्रतिशत रकम उक्त कोषमा जम्मा गरेका थिए । उक्त कोषका लागि गाउँपालिकाले ७ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । कोषमा जम्मा भएको १७ लाख रुपैयाँबाट गाउँपालिकाको वडा ३ स्थित तमानखोलामा घर भाडामा लिएर बालगृह सञ्चालनमा ल्याइएको हो ।

गाउँपालिका अध्यक्ष जोकलाल बुढामगरले कोही पनि बालबालिका राज्यविहीन नहुन् भन्ने उद्देश्यले असहाय बालबालिकाको अभिभावकत्व ग्रहण गरेको उल्लेख गरे । उनले बालअधिकार सुनिश्चित गर्न पनि आफूहरुले बालगृह सञ्चालनमा ल्याएको बताए । गाउँपालिका अध्यक्ष बुढा मगरले आफ्नो पहिलो कार्यकालमा बालगृह संचालनमा ल्याउने योजना बनाए पनि विविध कारण संचालनमा ल्याउन नसकिएको सुनाए ।

‘खासगरी दुर्गम बस्तीमा विभिन्न कारण अभिभावकविहीन तथा आर्थिकरुपमा विपन्न परिवारका बालबालिकाको भविष्य निर्माण गर्न सकियोस् भन्ने उद्देश्यले बालगृह संचालनमा ल्याएका हौं,’ उनले भने, ‘यसले बालअधिकारको सुनिश्चितताको निम्ति सहयोग पुर्‍याउने छ ।’ आफूले पहिलो कार्यकालमा बालगृह संचालनमा ल्याउने घोषणा गरेपछि निवर्तमान उपाध्यक्ष, वडाध्यक्ष, कार्यपालिका र वडा सदस्यसहित गाउँपालिकामा कार्यरत कर्मचारीले समेत सघाएको उनले बताए । बालगृहमा गाउँपालिकाको ६ वटा वडामध्ये अहिलेसम्म ५ र १ वडा बाहेक सबै वडाका बालबालिका छन् । उक्त बालगृहमा ५० जना बढीको संख्यामा बालबालिका पुग्ने अनुमान छ ।

‘समाजमा बेवास्ता गरेकै कारण अनाथ, गरिब, विपन्न परिवारका बालबालिका कुलतमा हुन्छन् । ती कलिला बालबालिकाको दयनीय अवस्था चिर्न मैले बालगृह संचालनमा ल्याउने योजना बनाएँ,’ उनले थपे ।

बालगृहमा आश्रित बालबालिकालाई कक्षा १२ सम्म निशुल्क पठनपाठनको समेत व्यवस्था गरिनेछ । उनीहरुलाई कुनै पनि कुराको अभाव नहुने गरी प्रबन्ध मिलाइने बुढाको भनाइ छ । बालगृह सञ्चालनमा ल्याइएसँगै उनीहरु भविष्यमा दक्ष जनशक्ति हुने बताउँदै त्यसबाट पालिकालाई नै फाइदा हुने उनले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width