डाइभर्सन बगाउँदा सडक अबरुद्ध

आदर्श समाज सम्वाददाता
असार १६, २०७९
street

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुर खण्डमा डाइभर्सन बाढीले बगाउँदा अवरुद्ध सडक अझै खुलेको छैन । बुधबार बिहानदेखि अवरुद्ध सडक साँझसम्म नखुलेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक प्रज्ज्वल महर्जनले बताए । उनका अनुसार अहिले पनि डाइभर्सन मर्मतको काम चलिरहेको छ ।

नवलपुरको ३ स्थानमा डाइभर्सन बगाएको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक जयराम वन्तका अनुसार नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को विनयी त्रिवेणी–१ स्थित खहरेखेला, मध्यविन्दु–१० स्थित ठूलो खहरे र सानो खहरे खोलामा पुल निर्माणका लागि बनाइएका ३ डाइभर्सन बाढीले बगाएको हो ।

मंगलबार दिउँसोदेखि परेको वर्षाका कारण बाढीले डाइभर्सन बगाएको हो । पूर्वपश्चिम राजमार्ग विस्तारको जिम्मा लिएको चाइना स्टेट कम्पनीले पछिल्लो सम्झौताअनुसार यही असार मसान्तसम्म काम सकिसक्नु पर्ने भए पनि अहिलेसम्म १८ प्रतिशत मात्र काम सम्पन्न भएको छ ।

यो बर्खा नलाग्दै पुलपुलेसाको काम सकेर डाइभर्सन सकिसक्ने बताए पनि अहिले पूर्वपश्चिम राजमार्गमा २ सय बढी स्थानमा डाइभर्सनबाट सडक सञ्चालनमा रहेका छन् । जसले गर्दा सामान्य पानीमा पनि पटक–पटक डाइभर्सन बगाएर सडक अवरुद्ध हुँदै आएको छ । जसका कारण यात्रले निक्कै सास्ती खेप्नु परेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width