लाम्पाटा–दरबाङ सडक आयोजना अलपत्र

साधन राम्जाली
असार १५, २०७९
sadak alpatra

????????????????????????????????????

म्याग्दी । बेनी–दरबाङअन्तर्गत लाम्पाटा–दरबाङ सडकखण्ड अलपत्र परेको छ । आयोजनाको ठेक्का लिएका निर्माण व्यवसायी बेपत्ता हुँदा जिल्लाको ३ पालिकालाई जोड्ने उक्त सडक आयोजना अलपत्र परेको हो । पहिलो र दोस्रो खण्डमा स्तरोन्नति धमाधम भए पनि तेस्रो खण्डको आयोजना भने अलपत्र बनेको छ । आयोजना स्तरोन्नति नहुँदा सडक हिउँदमा धुलाम्मे र बर्खा सुरु भएसँगै हिलाम्मे हुने गरेको छ । निर्माण व्यवसायीले समयमा नै काम नगरेपछि सर्वसाधारण जीर्ण, कच्ची, धुलाम्मे र हिलाम्मे सडकमा जोखिम तथा सास्तीपूर्ण यात्रा गर्न बाध्य छन् ।

जिल्लाको मंगला, मालिका र धवलागिरी गाउँपालिकाको केन्द्र जोड्ने २४ किलोमिटर दुरीको बेनी दरबाङ सडक खण्डअन्तर्गत मंगलाको लाम्पाटादेखि मालिकाको केन्द्र दरबाङसम्म ८ किमी सडक आयोजनाको ठेक्का बिरुवा–क्याराभान जेभीले लिएको थियो । ५५ प्रतिशतभन्दा बढी भौतिक प्रगति गरेको निर्माण कम्पनीले बिरुवा–क्याराभान जेभी र पूर्वाधार विकास कार्यालय म्याग्दीबीच २०७६ जेठ ३१ गते २२ करोड ५७ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

अलपत्र भएको ८ महिनापछि केही समय सडक स्तरोन्नतिको कामले गति लिए पनि बैशाख अन्तिम सातादेखि ठेकेदार कम्पनीले बीचमै छोडेर भागेका छन् । सडक निर्माण अलपत्र भएपछि स्थानीयवासी आक्रोशित बनेका छन् । समयमै सडक स्तरोन्नति नहुँदा स्थानीय, यात्रु र यातायात व्यवसायीले समेत सास्ती व्यहोर्नुपरेको परेको स्थानीय श्रीराम पौडेलले बताए । ‘सडक स्तरोन्नतिको कामले गति नलिदा हिउँदमा धुलो र बर्खामा पहिरो र हिलोको कारण हामीलाई व्यहोर्नुपरेको छ,’ उनले गुनासो पोखे, ‘यति ठूलो आयोजना अलपत्र हुनु दुखद कुरा हो । तत्काल सम्बन्धित निकायको ध्यान जाओस् ।’

बलौटेमा म्याग्दी नदीले कटान गरेर जोखिम बनाएको छ । सो ठेकेदारको जिम्मामा पर्ने बांगेपहिरो क्षेत्र पहिरोग्रस्त र जोखियुक्त छ । अधुरो, अधकल्चो हिलाम्मे र धुलाम्मे सडकमा जोखिमपूर्ण यात्रा गर्नुपरेको छ । सडकमा थुपारिएको माटो, ढुंगा र खाल्डाखुल्डीले दुर्घटनाको जोखिम बढाएको यातायात व्यवासायी बताउँछन् । बेनी–दरबाङ सडकबाट म्याग्दीको ३ पालिका लगायत बागलुङका पश्चिम क्षेत्रका बासिन्दाले यात्रा गर्ने गरेका छन् ।

पूर्वाधार विकास कार्यालय म्याग्दीले ३ प्याकेजमा स्तरोन्नति गरिरहेको छ । २०७८ जेठ महिनामा सकिनुपर्ने लाम्पाटा–दरबाङ खण्डको हालसम्म ५५ प्रतिशतमात्र भौतिक प्रगति भएको छ । थप गरिएको सम्झौता मिति चैतमा सम्पन्न भएको छ । कार्यालयले म्याद थप गर्नको लागि प्रक्रियामा आउन पटक–पटक आग्रह गरे पनि ठेकेदार कम्पनीले भने अटेरी गर्दै आएका छैन् । ठेकेदार कम्पनीले अटेरी गरेपछि कारबाही प्रक्रिया अघि बढाइएको कार्यालय प्रमुख गुरुदत्त अधिकारीले बताए ।

‘चैत महिना ३० सम्म म्याद थप गरिएको समयमा आयोजनाको काम ५५ प्रतिशत सकिएको छ । सडक आयोजना अलपत्र भएपछि म्याद थप्नका लागि प्रक्रियामा आउन ठेकेदार कम्पनीलाई पटक–पटक ताकेता गर्दा पनि सम्पर्कमा नआउने, अटेरी गर्ने र सम्पर्कमा नआउने भएको हुनाले ठेकेदारलाई कारबाहीको प्रक्रियासमेत अगाडि बढाइएको छ,’ उनले भने । सडक आयोजना अलपत्र भएको बारेमा ठेकेदार कम्पनीका निर्माण व्यवसायी सोमराज थकालीसँग थप जानकारी लिन खोज्दा फोन उठाएनन् । निर्माण व्यवसायीलाई काममा फर्काएर सडक निर्माणलाई गति दिन सरोकारवालाले ध्यान नदिंदा जिल्लामा निर्माणाधीन अन्य आयोजनाको हातल पनि कछुवा गतिमा छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width