जनताको प्राथमिकता सडक नै हुँदो रहेछ : देवीजंग गुरुङ

आदर्श समाज सम्वाददाता
असार १४, २०७९
Devijung

देवीजंग गुरुङ, अध्यक्ष, मादी गाउँपालिका

याङ्जाकोटका देवीजंग गुरुङ कास्कीको मादी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष हुन् । यसअघि २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट सोही गाउँपालिकामा अध्यक्ष पदमा पराजित भए पनि यसपालि भने उनी राम्रै मतान्तरका साथ विजयी भए । नेपाल विद्यार्थी संघ, तरुण दल हुँदै नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिको भूमिकामा उनी २०४८ सालदेखि निरन्तर रही आएका छन् । गुरुङ मादी गाउँपालिकामा पार्टीको सभापति पनि भए । देवीजंगको राजनीतिक यात्रा भने समाजसेवाबाट सुरु भयो । गाउँमा विद्युत, बाटो र पानी पुर्‍याउन उनको भूमिका अग्रणी छ । गुरुङ समुदायमा विद्यमान मुखियाको भूमिकामा समेत उनको नाम जोडिन्छ । गाउँकै मीलन युवा क्लबमा उनले १४ वर्ष अध्यक्षको रुपमा रहेर सेवा गरे । २०४६ र २०६२/०६३ सालको राजनीतिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका देवीजंग तत्कालीन थुमाकोडाँडा गाउँ विकास समितिको सदस्यमा समेत मनोनीत भएका थिए । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनासँग सम्बन्धित संरक्षण क्षेत्र व्यवस्थापन समितिमा ८ वर्ष सचिव हुँदै अध्यक्ष भएर काम गरे । समाजसेवा र राजनीतिलाई सँगसँगै अगाडि बढाएका गुरुङसँग आदर्श समाजका संवाददाता रुपनारायण ढकालले गरेको वार्तालाप यहाँ प्रस्तुत गरिएको छ :

मादीले हालै सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटमा रोजगारी र पूर्वाधारलाई बढी प्राथमिकतामा राख्नुको कारणबारे बताइदिनुस् न ।

बजेट अघि हामीले ल्याएको नीति तथा कार्यक्रममा रोजगारी, कृषि र पर्यटनलाई बढी जोड दिएका थियौं । तर बजेट ल्याउँदा भने जनताको चाहना र मागअनुसार अगाडि बढ्नुपर्ने भयो । जनताको पहिलो प्राथमिकता नै सडक र पूर्वाधार हुँदो रहेछ । त्यही भएर रोजगार, कृषि र पर्यटनलाई बढी जोड दिनेभन्दा भन्दै बजेटमा सडकलाई बढी प्राथमिकता दिएका छौं । सबैको माग बाटो नै हुँदो रहेछ । संघीय र प्रदेश सरकारसँग समन्वय गरेर पूर्वी नाका जोड्ने तथा मोटरेबल बाटो र पुलहरु बनाउने योजना पनि छ । यस्ता काम हामी वडाको सिफारिसमा गर्ने छौं । अहिले हामीसँग पिच भएको सडक (कसेरी भैंसे थुमाकोडाँडा) ११ किलोमिटरभन्दा केही बढी छ । काहुँखोला सिक्लेसको १० किमी टेन्डर भएको छ । थप १० किमी टेन्डर मागिएको छ । अरु सबैजसो सडकको डिपीआर तयार भएका छन् । सबै सडक क्रमशः बनाउने छौं । सडकहरु विशेष गरी ढलान गर्ने वा सोलिङ गरेर निर्माण गर्ने छौं । नालाहरु पनि निकै आवश्यक पर्दो रहेछ । बाटोका सबै काम एकैपटक गर्न सक्ने स्रोत र साधन हामीसँग छैन । यसका लागि संघ र प्रदेश सरकार गुहार्छौं । ठूलो प्रोजेक्ट ल्याउने भनेको संघ र प्रदेशको सहयोगमा नै हो । यसका लागि स्थानीय बुद्धिजीवी र राजनीतिज्ञसँग पनि सुझाव लिने र सहकार्य गर्ने छौं । यसपालि बजेट विगतका भन्दा केही फरक खालको पनि ल्याएका छौं । यसमा उत्पादनका लागि अनुदान दिने भन्ने विषयलाई पनि समेटेका छौं । प्रधानमन्त्री युवा स्वरोजगार कार्यक्रमअन्तर्गत कोष खडा गरी ऋण प्रवाह गर्ने विषय पनि बजेटमा संलग्न छ । १ करोड रुपैयाँको कोष खडा गरी १ व्यक्तिलाई २ लाख रुपैयाँसम्म ऋण दिने योजना यसमा समेटिन्छ । ७०/३० का कार्यक्रम पनि हामीसँग छन् । यो भनेको गाउँपालिकाले ७० प्रतिशत रकम सघाउने र सम्बन्धित उपभोक्ता वा व्यवसायीले ३० प्रतिशत रकम जम्मा गरी काम अगाडि बढाउने भन्ने हो । उत्पादन, सिँचाइ, सामुदायिक भवन र रोजगारलगायतमा यस्तो सहयोग हामी दिन्छौं । यो कार्यक्रमअन्तर्गत बजेट माग हुन थालिसक्यो । गाउँमा आमा समूह वा अन्य संघसंस्थाको आफ्नै फन्ड हुन्छ । उनीहरुको पैसा फ्रिज भएर बसेको हुन्छ । त्यो पैसामा हाम्रो सहयोग मिसाएर केही उपलब्धिमूलक काम गर्नका लागि सघाउने यो कार्यक्रमको उद्देश्य हो ।

बजेटमा पर्यटनको विषयलाई पनि समेट्नुभएको छ, पर्यटन प्रवद्र्धन र विकासका कामलाई के कसरी अगाडि बढाउने योजना छ?

मादी गाउँपालिकाबाट दूधपोखरी हुँदै मनाङ निस्कने १० दिनको पदमार्गलाई थप विकास गर्ने योजनामा हामी छौं । यसलाई नामुन भञ्ज्याङ पार गरेर अगाडि बढ्नुपर्ने भएका कारण नामुन पास मार्ग पनि भन्ने गरिन्छ । पहिला यो मार्ग हिँड्न १४ दिन लाग्थ्यो । किनकि पोखराबाट नै पहिला पैदलयात्रा सुरु हुन्थ्यो । अहिले भने निकै अघिसम्म सडक मार्ग पुगिसकेको छ । मादीका अन्य पर्यटकीय सम्भावना बोकेका डाँडाहरुलाई पनि विकास गर्ने हाम्रो योजना छ । कोरी, हुगु, कपुचे, करपु, लम्तरी जस्ता ठाउँलाई विकास गरी पर्यटक आकर्षित गर्न सकिने प्रशस्त सम्भावना छ । कोरीसम्म केबलकार पुर्‍याउन यसअघि पनि कुरा आएको हो । यो योजना अघि बढाउने हाम्रो लक्ष्य छ । निजी क्षेत्र र सर्वसाधारणको साझेदारीमा यो योजना अगाडि बढ्नेछ । यो काम अहिले छलफल र अध्ययनकै क्रममा रहेको छ । यसैगरी लम्तरी डाँडासम्म पनि केबलकार पुर्‍याउन सके पर्यटक बढ्ने सोच हाम्रो हो । लम्तरी धार्मिक क्षेत्र पनि भएका कारण यसले पर्यटनको बढी सम्भावना बोकेको छ । घोडा खरिदका लागि अनुदान दिने विषय पनि हामीले बजेटमा समेटेका छौं । यसले पर्यटन प्रवद्र्धन र रोजगारी वृद्धि दुवैमा सघाउने छ । घोडाको यात्रा नयाँ अनुभव अनि इन्धन पनि नचाइने पक्ष राम्रो हो । अर्को कुरा मादीका धेरै गाउँहरु होमस्टे अर्थात् घरबासका लागि योग्य छन् । सिक्लेस, ताङतिङ, याङ्जाकोट र वारचोक जस्ता गाउँमा त औपचारिक रुपमा होमस्टे सञ्चालन भइरहेका नै छन् । यसलाई पनि विस्तार गर्दै लैजाने छौं । कपुचे, कोरी र हुगु जस्ता ठाउँमा त होटल तथा टी हाउसहरु खुलिसकेका छन् । १० भन्दा बढी संख्यामा यस्ता संरचना बनिसकेका छन् ।

मादीका गाउँहरु रित्तिंदै गएका छन्, जग्गाहरु बाँझो देखिन्छन्, यो विषयलाई त बजेटले सम्बोधन गरेन नि?

यो चाहिं मादीको मात्र नभई सिंगो नेपाल अधिराज्यको समस्या हो । यसलाई रोकथाम गर्न केही चुनाती छन् । मानिस बढी सुविधा खोज्ने भएर पनि समस्या आयो । स्वास्थ्य, रोजगारी र शिक्षाका लागि बसाइँ सर्ने अवस्था देखियो । यस्तो अवस्था एउटा गाउँपालिका मात्र लागेर सल्टिने विषय होइन । गाउँहरुलाई जीवन्त बनाई जग्गाहरु समेत सदुपयोग गर्न भूमि बैंकको अवधारणा ल्याउने कि भन्ने सोच पनि थियो । निश्चित वर्षहरुसम्म लालपूर्जा संकलन गरी गाउँपालिकाले राख्नुपर्ने हुँदा यो योजना अगाडि बढाउन पनि व्यावहारिक रुपमा गाह्रो भयो । खेतीयोग्य जमिनलाई सदुुपयोग गर्ने क्रममा पाउलोनिया नामक बिरुवा रोपी काठ उत्पादन गर्ने सोच पनि नआएको होइन । जेजस्तो भए पनि जमिन बाँझो रहन भएन भन्ने हाम्रो सोच हो । भूमि बैंक स्थापना गर्ने कि पाउलोनिया रोपेर अगाडि बढ्ने भन्ने विषय छलफलकै क्रममा रहेको छ । जमिन बाँझो भएर पाती उम्रनुभन्दा पाउलोनिया लगाउन सके १ दशकपछि त फाइदा लिन सकिन्छ नि ।

स्थानीय तहको निर्वाचनमा कांग्रेसलगायत ५ दलीय गठबन्धन देखियो । गठबन्धनको सरकार बनेपछि देशमा महँगी झन् बढ्यो, के भन्नुहुन्छ?

गठबन्धन वास्तवमा देशको आवश्यकताले जन्मेको हो । राजनीतिमा सबै कुरा स्थानीय स्तरमा मात्र निर्धारण हुँदैनन् । केन्द्रीय लेभलकै नीतिअनुसार गठबन्धनको विषय आएको हो । हाम्रो मादीमा पनि केही वडामा गठबन्धन देखियो । केहीमा भएन । यो राष्ट्रिय आवश्यकताले जन्मिएको भनेर बुझ्दा राम्रो हुन्छ । नेपालको महंगीका कुरा त राज्यले थेग्न सक्दैन । अधिकांश उपभोग आयतमा आधारित भएपछि बाहिरबाट ल्याउनै प¥यो । आफ्नो उत्पादन भए आफूले मूल्य निर्धारण गरिन्थ्यो । सरकारसँग त महँगी जोडिँदै जोडिँदैन । विदेशमा निर्भर छ नेपाल । अर्काले पठाउने चिज अर्काले नै मूल्य तय गर्ने भयो ।

आदर्श समाज राष्ट्रिय दैनिक कत्तिको पढ्नुहुन्छ?

यो पुरानो पत्रिका हो । पोखरा बजारमा हुँदा मौका मिलेसम्म अध्ययन गरिन्छ । गाउँमा भने पत्रिका नपुग्दा त्यो अवसर पाइएको छैन । प्रधानसम्पादक कृष्णप्रसाद बास्तोला याङ्जाकोट आउँदा उहाँसँग भेट्ने अवसर पनि मिलेको थियो । उहाँ याङ्जाकोटकै डा. जगमान गुरुङका मित्र हुनुहुँदो रहेछ । त्यसैले पत्रिका गाउँसम्म विस्तार गर्न सके सबैलाई राम्रो हुने थियो ।

Related News

सम्बन्धित समाचार

  • असुरक्षित टहरामा बस्न वाध्य सुरक्षाकर्मी

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    ढोरपाटन । खिया लागेका जस्तापाता, उप्किएका भित्ता, धमिराले छियाछिया भएका झ्याल ढोका । छानामा ढुंगाहरूले प्लास्टिक अठ्याइएको छ । यो…
  • गण्डकी सरकारले २०८१ मा ३ दिन बिदा दिने

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । गण्डकी प्रदेश सरकारले आउने वर्ष अर्थात् २०८१ सालमा ३ दिन बिदा दिने निर्णय गरेको छ । संघीय सरकारलेभन्दा…
  • किरिया बसेका दाजुभाइ परीक्षामा

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    स्याङ्जा। किरियामा बसेका २ दाजुभाइ एसइईमा सहभागी भएका छन् । पुतलीबजार नगरपालिका ४ स्थित सरस्वती मावि परीक्षा केन्द्रबाट संगम क्षत्री…
  • सुरु भयो एसइई, ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सामेल

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । माध्यमिक शिक्षा परीक्षा (एसइर्ई) बिहीबारदेखि सुरु भएको छ । चैत २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षाको…
  • बजेट अभावमा नगर अस्पतालको काम रोकियो   

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    दमौली । बजेट अभावका कारण तनहुँको भिमाद नगरपालिका–६ मा निर्माणाधीन भिमाद अस्पतालको भवन निर्माण रोकिएको छ । भिमाद प्राथमिक स्वास्थ्य…

hero news full width