विदेशमा देखिएको सपनामा रमाउँदै पर्यटक

धनबहादुर गुरुङ
असार १४, २०७९
Michhurlung Photo 2

पोखरा । बेलायत बस्दै आएका भीमाद ५, मिछुर्लुङका महेन्द्र आले २०७२ सालमा आफ्नो गाउँमा होमस्टे सञ्चालन हुँदा औधी खुसी थिए । गाउँलेले धेरथोर आम्दानी गर्ने र गाउँ समृद्ध बन्ने उनको आशा थियो । होमस्टे चल्दै गयो, गृहिणीहरुले पाहुना उम्काएर नुन तेल जोहो गर्ने स्थितिमा पुगेका थिए । महेन्द्रले पनि होमस्टेका लागि सल्लाह सुझाव र सहयोग गरिरहेका थिए ।

अब केही परिवर्तन होला भन्ने समयमा कोरोनाले सबै बिथोल्यो । पाहुँना आउन छाडे, होमस्टे धरापमा प¥यो । गाउँलेलाई जति पिर परेको थियो, त्योभन्दा बढी छटपटी महेन्द्रलाई थियो । कोरोना मत्थर बन्दै गएपछि पनि होमस्टे पाहुँनाको आगमन भएन । गाउँले व्यावसाय धरापमा परेको मारमा थिए । त्यही समयमा बेलायतको काम सकेर बसिरहेको समयमा भ्यु टावर (दृष्यावलोकन स्तम्भ) बनाए मान्छे आउँछन् कि भन्ने सपना बुन्न थाले, महेन्द्रले ।

आफ्नो सपना उनले सुरुमा परिवारमा सुनाए । परिवारले गाउँमा सल्लाह गर्न सुझाए । तत्कालै उनले गाउँमा फोन गरे । होमस्टेका अध्यक्ष नरेन्द्र थापाले पनि महेन्द्रको सपना र परिकल्पनामा साथ दिने भए । अब कुरो बाँकी रह्यो, पैसाको । महेन्द्रले अर्को परिकल्पना तयार गरे, सहयोग संकलन र जनश्रमदान । उनले तत्काल बेलायत भएका आफ्ना साथीहरुलाई यो सपना र परिकल्पना सुनाए । सबै साथ दिने प्रतिबद्धता जनाए । सुरुमा आफैले भ्यु टावर निर्माणका लागि १ लाख ११ हजार १ सय ११ जम्मा गरे । विस्तारै थैलो भरिने क्रम सुरु भयो । त्यसमा तनहुँ समाज युकेले झनै ठूलो सहयोग गर्‍यो । समाजले २ लाख सहयोग गरेको नरेन्द्र बताउँछन् । विभिन्न संघसंस्था तथा व्यक्तिहरुबाट झण्डै आधा करोड रकम संकलन भएको परिकल्पनाकार आलेले जानकारी दिए ।

इन्जिनियरद्वय रोशन शाही र सन्देश गैह्रेको डिजाइनमा शिलान्यास गत वर्ष मंसिर २१ गते भ्यु टावर शिलान्यास भयो । सहयोगक्रम रोकिएन र पूरा भयो–विदेशमा देखिएको सपना र परिकल्पना । ३८ लाख ४० हजार लागतमा बनेको भ्यु टावर आडैमा भैरव मन्दिर पनि बनाएको छ । भ्यु टावर निर्माण समिति अध्यक्ष पनि होमस्टेका अध्यक्ष नरेन्द्र थापा नै थिए । बेलायतमा रहेर भ्यु टावर सपना देखेर परिकल्पना गर्ने महेन्द्र आलेको सक्रियता, प्रवासी नेपालीहरुको सहयोग र होमस्टे अध्यक्ष थापा अनि गाउँलेको मेहनतले ठडियो–मिछुर्लुङ डाडाँमा भ्यु टावर ।

पछिल्लो भ्यू टावरप्रतिको नकारात्मक टिप्पणीले गर्दा उनीहरु सशंकित थिए । अन्य स्थानमा पालिकाको सहयोगमा बनेको दृष्यावलोकन स्तम्भ पनि विवादमा त पर्ने होइन् भन्ने कता–कता लागेको थियो । त्योभन्दा बढी उनीहरुमा यसले पर्यटक तान्छ भन्ने ठूलो आत्मविश्वास थियो । असार ४ गते उक्त दृष्यावलोकन स्तम्भको उद्घाटन भयो ।

अनि गाउँलेको मेहनतले ठडियो–मिछुर्लुङ डाडाँमा भ्यु टावर

कोरोनाले सुस्ताएको पर्यटन माथि उठाउने र मिछुर्लुङ होमस्टेमा पर्यटक तान्ने सपनाले बनाइएको दृष्यावलोकन स्तम्भले भने जस्तै उपलब्धि दिएको स्थानीय प्रताप राना बताउँछन् । भ्यु टावर उद्घाटनपछि दैनिक ५० जनाको हाराहारीमा पर्यटक मिछुर्लुङ पुग्ने गरेको उनले बताए । ‘कोरोनापछि होमस्टेमा आउने पाहुँनाको संख्या शून्य जस्तै थियो, भ्यू टावर बनेपछि दैनिक ५०/६० जना यहाँ घुम्न आउने गरेका छन्,’ उनले भने, ‘जसले पनि डाडाँमा भ्यु टावर किन बनाउने भनेर प्रतिक्रिया दिने गरेका थिए हाम्रोमा यो पर्यटक तान्ने गतिलो माध्यम बनेको छ, यसमा सरकारी रकम परेको छैन । सबै प्रवासी नेपालीहरुको सहयोगमा बनेको हो यसले गर्दा पनि बढी महत्वपूर्ण छ यो भ्यू टावर ।’

कोरोना गर्दा ठप्प बनेको घरवासको चलायमान बनाउन टावरले सहयोग पुगेको स्तम्भले सहयोग भ्यु टावर निर्माण समिति अध्यक्ष पनि होमस्टेका अध्यक्ष नरेन्द्रले बताए । ‘कोरोना पछि पाहुनाहरु आएका थिएनन्, होमस्टे नै के गर्ने गर्ने भन्ने थियो,’ उनले भने, ‘टावर उद्घाटनपछि त आशा जगाएको छ, अब मिछुर्लुङमा पर्यटक आउन सुरु भयो ।’

मगर समुदायको कौरा, झ्याउरे, अर्गानिक परिकार मिर्छुलुङ होमस्टेको विशेषता हो । १ सय ८ घरधुरी रहेको मिछुर्लुङमा २०७२ सालमा १२ घरबाट सुरु गरिएको होमस्टे अहिले १९ घरमा बिस्तार भएको छ । ९५ प्रतिशत मगरको घर रहेको मिर्छुलुङ होमस्टेमा ५ प्रतिशत दलित समुदायको बसोबास छ । त्यहाँ सञ्चालित होमस्टेमध्ये एक घर दलित समुदायले चलाएका छन् ।

अध्यक्षका अनुसार होमस्टेमा जानेहरुको स्वागतका लागि विभिन्न सांस्कृतिक समुह बनाइएको छ । विशेषगरी पाहुनाको स्वागत र मनोरञ्जनका लागि रातिको खानापछि मगरको मौलिक सांस्कृतिक नृत्य कौह्रा, झ्याउरे, नचरी, सालैजो लगायतको नृत्य प्रस्तुत गर्ने गरिन्छ ।

तनहुँको भिमाद बजारबाट ४ किमी दूरीको मिर्छुलुङ सामुदायिक होमस्टेका सवारी साधनमार्फत पुग्न सकिन्छ । होमस्टेमा जाने पाहुनाको स्वागतका लागि मकै, फापर, कोदो, हरिया सागसब्जी, फलफूल सबै स्थानीयरुपमै उत्पादन गरिन्छ । सकेसम्म गाउँ बाहिरबाट सामानहरु खरिद नगर्ने नियम नै बनाएर होमस्टे चलाइएको छ । होमष्टेमा जाने पाहुनालाई एक रातको एक हजार शुल्क तोकिएको छ । त्यसमा साँझको खाजा, खाना, सांस्कृतिक कार्यक्रम र विहानको खाजा, खानाको प्याकेज छ ।

प्राकृतिक सौन्दर्यताले भरिपूर्ण मिर्छुलुङमा झरना पनि छ । उक्त झरनामा एकपटक क्यानोनिङसमेत संचालन गरिसकिएको होमस्टेका अध्यक्ष थापाले जानकारी दिए । भ्यु टावरले पर्यटकको चहलपहल बढाएकाले आगामी दिनमा भ्यु टावर वरपर वृक्षरोपण गरी पार्क निर्माण गर्ने योजना रहेको टावर परिकल्पनाकार आलेले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width