बजेटमा नबुझी माइस पर्यटन

आदर्श समाज सम्वाददाता
असार १२, २०७९
Budget and Tourism Pokhara

पोखरा । विगत केही वर्षदेखि पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न माग उठिरहेको छ । तर यहाँ अझै पनि हजारौं पर्यटक एकै पटक आएर सभा सम्मेलन गर्ने पूर्वाधार छैन । पोखराको पहिलो पाँचतारे फूलबारी रिसोर्ट एन्ड स्पा केही वर्षदेखि बन्द छ । यसको जग्गा बिक्रीका लागि बैंकले लिलामीको सूचना पनि निकालेको छ । अर्को पाँचतारे पोखरा ग्रान्डसँग पनि उति ठूलो क्षमता छैन । पोखरा सभागृह थोत्रो र साँघुरो छ । हजारौं मानिस एकै पटक जम्मा भएर कार्यक्रम गर्न खुला आकाशमुनि पोखरा रंगशाला, पोखरा प्रदर्शनी केन्द्र वा अमरसिंह चौरजस्ता स्थलको भर पर्नु पर्छ । झरी, बादल र असिनाले समेत असर नपर्ने गरी कार्यक्रम गर्ने सम्मेलन केन्द्रको अभाव पोखरामा छ ।

यस्तै, अभावबीच पोखरा महानगरपालिकाले शुक्रबार सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७९÷०८० को बजेटमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र माइस टुरिजमको कुरा उठाइएको छ । बजेटमा भनिएको छ, ‘संघ सरकारले अगाडि बढाएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र स्थापना गर्न सहजीकरण गरिने छ । पोखरा सभागृहको स्तरोन्नति गर्न रु.१ करोड बिनियोजन गरिएको छ ।’

बजेटका ९ उद्देश्यमध्ये १ नम्बरमा पर्यटकीय पूर्वाधारको विकास गर्ने विषय उल्लेख छ । ७ वटा प्राथमिकताको पहिलो बुँदामा पनि पर्यटन प्रवद्र्धनको विषयलाई नै संलग्न गरिएको छ । बजेटको १०५ नम्बर बुँदामा माइस टुरिजमको विषय उठाइएको छ । भनिएको छ, ‘माइस टुरिजम (मिटिङ, इनिसियटिभ, कन्फ्रेन्स र एक्जिव्युसन) लाई प्रवद्र्धन गर्न पर्यटन पूर्वाधारमा लगानी बढाउन विशेष पहल गरिने छ ।’ उल्लेखित ४ शब्दका पहिलो अंग्रेजी अक्षर लिएर माइस पर्यटनको कुरा उठाइएको हो । माइस पर्यटन भनेको सभा सम्मेलनमा आधारित पर्यटन हो । माइस पर्यटनअन्तर्गत पर्ने इन्सेन्टिभ्सलाई बजेटमा गलत रुपमा इनिसियटिभ भनी उल्लेख गरिएको छ ।

यसप्रकारको पर्यटनअन्तर्गत पर्ने इन्सेन्टिभ्स भन्नाले कम्पनी वा संस्थाले आफ्ना कामदार वा सम्बन्धित कर्मचारीको हौसला बढाउन उनीहरुलाई समूहमा घुमाउन लाने गर्छन् । कम्पनीले दिएको उद्देश्य (टार्गेट) पूरा गर्ने वा कम्पनीलाई नाफामा पु¥याएको भनी रमाइलोका लागि कम्पनी वा संस्थाले घुमाउन लाने कार्य कर्मचारी र कामदारका लागि इन्सेन्टिभ्स हो । मिटिङअन्तर्गत सामान्यतया १ दिनका व्यापारिक वा संस्थागत बैठक र कन्फ्ररेन्सअन्तर्गत १ दिनभन्दा बढीका सम्मेलनहरु पर्छन् । एक्जिव्युसनअन्तर्गत ट्रेड सो, ट्राभल मार्ट र अन्य प्रदर्शनीहरु गरिन्छन् । माइसलाई सरलीकृत गर्न अचेल मिटिङ इन्डस्ट्री वा इभेन्ट इन्डस्ट्रीजस्ता वाक्यांश पनि प्रयोग गरिन्छ ।

यसैगरी, बजेटमा ‘पर्यटकीय गतिविधिमा वृद्धि, पोखरा सहरको समृद्धि’ नारा दिएर पोखराका पर्यटन पूर्वाधार, प्राकृतिक सम्पदा संरक्षण, सौन्दर्यकरण र आतिथ्य लगायत क्षेत्रमा नेपाल सरकार तथा प्रदेश सरकारसँगको समन्वयमा लगानी केन्द्रित गर्ने उल्लेख गरिएको छ । पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न नेपाल सरकारलाई लेखी पठाइसकिएको र पर्यटकको बसाइँ अवधि लम्ब्याउने उद्देश्यले यहाँका विभिन्न पर्यटकीय गतिविधिको विकासद्वारा पर्यटन प्रवद्र्धन गर्ने नीति पनि समावेश गरिएको छ ।

होमस्टे अर्थात् घरबासको विकास र नयाँ स्थानीय आतिथ्य गृह (लोकल होमस्टे) को सम्भाव्यता अध्ययन गर्ने विषय पनि बजेटमा समेटिएको छ । यसैगरी फेवाताल र बेगनासतालको सौन्दर्यकरण र केभ टु केभ, लेक टु लेक र कोटदेखि कोटसम्म जस्ता कार्यक्रम अगाडि बढाउने विषय पनि उल्लेख छ । उहिलेको पोखरा झल्काउने सांस्कृतिक ग्रामको निर्माण, पर्यटनलाई सघाउ पुग्ने गरी विशिष्ट स्थानीय विषयको पाठ्यक्रम तयार र पोखरा चिनाउने गरी ल्याण्डमार्क स्थापना गर्ने कार्यक्रम पनि महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले सार्वजनिक गरेको ८ अर्ब ७७ करोड ७५ लाख ५५ हजार रुपैयाँको बजेटमा समावेश छ ।

Related News

सम्बन्धित समाचार

hero news full width