इक्यान फेयर आयोजक समिति गठन

आदर्श समाज सम्वाददाता
असार ११, २०७९
ecan

पोखरा । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्कीले असारको अन्तिम साता ‘सातौं इक्यान कास्की एजुकेसनल फेयर’ आयोजना गर्ने भएको छ । असार २४ र २५ गते हुने इक्यान फेयर पोखरा सभागृहमा हुनेछ । संस्थाका अध्यक्ष इविन्द्रराज तिवारीको अध्यक्षतामा भएको बैठकले फेयरको मिति तय गरेका हो । एजुकेसनल फेयरमा ३९ स्टल तथा प्याभेलियन रहने बताइएको छ ।

मेलामा प्याभेलियनबाट वैदेशिक अध्ययन परामर्शका लागि नेपाली विद्यार्थीलाई विभिन्न कलेज तथा विश्व विद्यालयको भर्ना प्रक्रिया साथै सम्बन्धित देशको विद्यार्थी भिसा नीति, अवसर, चुनौतीसम्बन्धी आधिकारिक तथा प्रभावकारी सूचना एवं परामर्श निःशुल्क रुपमा दिइने आयोजकले जनाएको छ ।

बैठकले सातौं संस्करणको इक्यान फेयर सफल बनाउनका लागि युवराज पौडेलको संयोजकत्वमा मुल आयोजक समिति र विभिन्न उपसमितिहरु गठन गरेको छ । सचिवालय उपसमिति संयोजक सन्तोष शाही, वित्त तथा बजेट व्यवस्थापन उपसमिति संयोजक युवराज पौडेल, प्रचारप्रसार संयोजकमा कमलनाथ बराल, अनुशासन तथा अनुगमन संयोजकमा रमेश थापा, प्रायोजक व्यवस्थापकमा देवबहादुर क्षेत्री, स्टल व्यवस्थापन संयोजकमा गणेश कार्की, कार्यक्रम व्यवस्थापन संयोजकमा विश्वकल्याण अधिकारी छन् ।

एजुकेसनल फेयरमा शैक्षिक परामर्श व्यवसायी, स्वदेशी शैक्षिक संस्थाहरु तथा अमेरिका, बेलायत, न्यूजिल्यान्ड, अस्टेलिया, आयरल्यान्ड, नर्वे, फिनल्यान्ड, जर्मनी, डेनमार्क, फ्रान्स, रुस, जापान, भारत, चीन, बंगलादेशलगायत देशका कलेज तथा विश्वविद्यालयका प्रतिनिधिको सहभागिता रहने इक्यान फेयरका संयोजक युवराज पौडेलले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width