स्पोर्टस् अवार्डलाई सहाराको सहयोग

आदर्श समाज सम्वाददाता
असार १०, २०७९
sports award

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने छैटौं पोखरा स्पोर्टस् अवार्ड २०७८ मा सहारा क्लब पोखराले सहयोग गर्ने भएको छ ।

मञ्चले वितरण गर्ने उदीयमान खेलाडी पुरस्कार वापत क्लबले ३५ हजार रुपैयाँ सहयोग गर्ने बारे सहमति भएको हो । सो सम्बन्धमा सहारा क्लब पोखराका अध्यक्ष हरिराम गुरुङ सुरज र नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालबीच सम्झौता आदानप्रदान भयो ।

विश्व खेलकुद पत्रकार दिवस अवसर पारेर मञ्चले असार १८ मा स्पोर्टस् अवार्ड गर्दैछ । सो समारोहमा विगतमा झैं लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ र उत्कृष्ट खेल पत्रकारलाई अवार्ड वितरण गर्ने मञ्चका महासचिव राजाराम पौडेलले बताए । पोखरा उद्योग वाणिज्य संघको सभाहलमा हुने समारोहको आवश्यक तयारी तीव्र पारिएको मुल आयोजक समिति संयोजक एवं मञ्च अध्यक्ष दीननाथ बरालले जानकारी दिए । अवार्ड वितरण गर्न खेलकुदतर्फ विनोद लामिछानेको संयोजकत्वमा प्रतिभा छनोट समिति र वर्ष उत्कृष्ट खेल पत्रकारलाई प्रदान गरिने पुरस्कारका लागि त्रिभुवन पौडेलको संयोजकत्वमा समिति गठन गरिएको छ ।

यसैबीच, मञ्च र क्लबबीच ओलम्पिक डे अवसरमा सहारा एकेडेमीको खेल मैदान दोबिल्लामा मैत्रीपूर्ण फुटबल प्रतियोगिता भएको छ । प्रतियोगितामा दुवै टिमले एक एक गोल गर्दै बराबरीमा टुंगिएको थियो । क्लबको तर्फबाट राजु हमाल र मञ्चको तर्फबाट टिम क्याप्टेन सुरज श्रेष्ठले गोल गरेका हुन् ।

एन्फा कास्कीका अध्यक्ष उज्वल रन्जितले रेफ्रीलाई बल हस्तान्तरण गरेर उद्घाटन गरेको प्रतियोगितामा ओलम्पिक दिवसबारेमा स्पोट्र्स फर अल कमिटी गण्डकीका अध्यक्ष खड्गबहादुर रानाभाटले प्रकाश पारेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width