पोखराको नीति तथा कार्यक्रमः ६ महिनामा ३ हजार रोजगारी, बिजुलीका तार अण्डरग्राउण्ड

आदर्श समाज सम्वाददाता
असार ९, २०७९
289345377_334425302214237_5383125095456916782_n

पाेखरा । पोखरा महानगरकै तथ्यांक अनुसार हाल यहाँका १ लाख ४ हजार ४ सय ६९ जनाले रोजगारी पोखराभित्रै पाएका छन् । २८ हजार २ सय १५ वटा व्यावसायिक एकाइबाट उनीहरूले रोजगारी पाएका हुन् । पोखराको ग्रस म्युनिसिपल प्रोडक्टमा ५७ प्रतिशत योगदान व्यावसायिक क्षेत्रको छ भने ११ प्रतिशत कृषि र पशुपालन क्षेत्रको छ । बाँकी अन्य विभिन्न क्षेत्रले योगदान गर्छन् । हाल पोखराको ग्रस म्युनिसिपल प्रोडक्ट १ खर्व १० अर्ब ५४ करोड रहेको अनुमान छ । आगामी वर्षको पहिलो ६ महिनामा महानगरले देखिने गरी ३ हजारलाई रोजगारी दिने घोषणा गरेको छ । मेयर धनराज आचार्यले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ३ हजार रोजगारी ६ महिनाभित्र दिने बताए ।

त्यसका लागि प्लस टु तह अध्ययन सकेर बसेका युवालाई लक्षित गरेर तालिम सञ्चालन गर्ने आचार्यको भनाइ छ । ‘महानगरमा रोजगारी थप गर्न भाषा, होटल म्यानेजमेन्ट, मोबाइल मर्मत कृषि स्रोत व्यक्ति, जडिबुटी संकलन, ब्युटिसियन, प्लम्बिङ, इलेक्ट्रिसियन, भेटेनरी, इम्ब्रोइडरी, ह्यान्डलुम, ग्राफिक्स डिजायन, वेभपेज डिजाइन, भिडियो एडिटिङ, वेटर आदिजस्ता सीप तथा तालिम दिइनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ । पोखराको प्रतिब्यक्ति आय १ हजार ६ सय ५ अमेरिकी डलर छ । आर्थिक गतिविधिमा महिलाको प्रतिनिधित्व २६ प्रतिशत मात्रै छ । रोजगारीसँगै पोखराको अर्थतन्त्र उकास्ने गरी कार्यक्रम तय गरिने मेयर आचार्यको भनाइ छ ।

आगामी वर्षको नीति तथा कार्यक्रममा दीगो र पर्यावरणमैत्री विकास र सामाजिक न्याय एवं सुशासन र प्रविधिलाई जोड दिइएको छ । ५ वर्षभित्र पोखरालाई कम्तिमा दुध, फुल, तरकारी र माछा मासुमा आत्मनिर्भर बनाउने कार्यक्रम ल्याइएको छ । पशु उत्पादन बढाएर पशु हाटबजार मार्फत बेच्ने वातावरण निर्माण गर्ने महानगरले जनाएको छ । महानगरका ३३ वटै वडामा कम्तिमा एउटा ‘एक सहकारी, एक उत्पादन’ कार्यक्रम सन्चालन गर्ने नीति छ । पोखराको जेठोबुढो चामललाई ब्राण्डिङ गरेर बजार प्रबद्र्धन गर्ने, पोखरामा लगानी सम्मेलन आयोजना गर्ने जनाएको छ । पोखरामा अन्तराष्ट्रिय सम्मेलन केन्द्र बनाउने देखि प्याराग्लाइडिङको बैकल्पिक सन्चालनका लागि पहल गर्ने तथा हिमागृह र रत्नमन्दिरलाई व्यवसायिक हिसावले खुला गर्ने महानगरको नीति छ । पोखरालाई पर्यटनको राजधानी घोषणा गर्न यसअघि नै निर्णय गरिएको भन्दै थप पहल गर्ने आचार्यले बताए । पोखराको झल्को दिने गरी एक सांस्कृतिक ग्राम बनाउने कार्यक्रमसमेत छ ।

नगरभित्र व्यवस्थित क्रिकेट खेलमैदान र गल्फकोर्ष निर्माणको सम्भाब्यता अध्ययन गर्ने, आउँदो वर्ष कम्तिमा ४ वटा खेलका उत्कृष्ट खेलाडीलाई सम्मान गर्ने कार्यक्रम छ । ४ वर्षभित्रमा सुविधासम्पन्न मेट्रो अस्पताल निर्माण र सन्चालन गर्ने कार्यक्रम पनि पोखराले समेटेको छ । विपन्न र न्यून आए भएकालाई जन्मेको २ वर्षसम्म पोषणभत्ता उपलब्ध गराउने, विवाह र मृत्युदर्ता बापत प्रोत्साहन भत्ता दिने कार्यक्रम छ । जन्मदर्ता गर्दा ६ महिनासम्म न्युन आय भएका सुत्केरी महिलालाई प्रोत्साहन भत्ता उपलब्ध गराउने कार्यक्रम समेत समावेश गरिएको छ । महानगरभित्रै ३१ प्रतिशत महिलाले १८ वर्ष नपुग्दै विवाह गर्ने गरेको तथ्यांक छ । तर पोखराले बालविवाह रोक्ने विशेष कार्यक्रम भने ल्याउन सकेन ।

यस्तै, ४० वर्ष माथिका सबै नागरिकलाई निशुल्क स्वास्थ्य परीक्षण गराउने, स्वास्थ्य संस्थामा हुने मृत्युको डेथ अडिटको व्यवस्था गर्ने, हरेक वर्ष महानगर पीता र महानगर माता घोषणा गरी सम्मान गर्ने कार्यक्रम बनाइएको छ । पोखराले पुर्वाधारतर्फ विशेष जोड दिएको छ ।

तनहुँको कोत्रेदेखि सिद्धार्थ राजमार्ग जोडिने गरी बाइपास रोड बनाउन प्रश्ताव गरिएको छ । पोखराका प्रमुख चोक, पेट्रोल पम्पहरुमा विद्युतीय चार्जिङ स्टेसन बनाउने, २ वर्षभित्रमा टेलिफोन र अन्य तार हटाएर भूमिगत रुपमा अप्टिकल फाइवर जडान गर्ने, विजुलीका तार भूमिगत गर्ने नीति ल्याएको छ । यसबारे नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग यसअघि नै छलफल भैसकेको छ । आगामी वर्षभित्र पृथ्वीचोकमा अण्डरपास र फ्लाई ओभरको सम्भाब्यता अध्ययन गर्ने बताइएको छ । पोखरामा वर्षेनी ५ प्रतिशत शहरीकरण बढ्ने गरेको आँकडा निकालिएको छ । यसले ट्राफिक चाप अत्यधिक बढेको छ । हालसम्म १ हजार ५ सय ३५ किलोमिटर सडक सन्जाल रहेको यहाँ ४१ प्रतिशत कालोपत्रे र ७ प्रतिशत कंक्रिट बाटो छ भने बाँकी कच्ची सडक छन् । अधिकांश कार्यक्रमहरु पूरानै निरन्तरता छन् । सुकुम्बासी समस्या समाधानको कार्यक्रम यसपालि पनि हालिएको छ । नीति तथा कार्यक्रममा बहुतले घर बनाएर सुकुम्बासीलाई राख्ने विषय समेटिएका छन् । आन्तरिक आम्दानी बढाउने विषयमा भने नीति तथा कार्यक्रम बोलेको छैन ।

Related News

सम्बन्धित समाचार

  • चुमानलाई अर्थ, मनाङेलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मा

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । गण्डकी प्रदेशमा बिनाविभागीय २ जना मन्त्रीहरुले मन्त्रालयको जिम्मा पाएका छन् । माओवादीका हरिबहादुर चुमानले आर्थिक मामिला र राजीव…
  • सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कृष्ण गण्डकी शालिग्राम पर्यटन प्रतिष्ठान आयोजनामा नेपाल–भारत सिमानाको सुनौलीबाट सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू भएको छ । कालीगण्डकी…
  • ‘वन्यजन्तु संरक्षणमार्फत पर्यापर्यटन बढाऔं’

    श्रीभद्र पौडेल वैशाख ७, २०८१
    पोखरा । वन्यजन्तु संरक्षण गरी पर्यापर्यटन बढाउनुपर्ने एक कार्यक्रमका वक्ताले जोड दिएका छन् । पृथ्वीनारायण क्याम्पस प्राणीशास्त्र विभाग तथा प्राणीशास्त्र समाजको…
  • कथा सुन्न भक्तजनको आकर्षण

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पाेखरा नयाँबजारमा जारी श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञमा भक्तजनको आकर्षण बढ्दो छ । हरिहर सन्यास आश्रम देवघाटधामका पीठाधीश अनन्तश्री विभूषित स्वामी…
  • कन्या क्याम्पसमा प्राध्यापकको बिदाइ

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कन्या क्याम्पस पोखरा र प्राध्यापक संघको संयुक्त आयोजनामा प्राडा नरहरि उपाध्याय गौतम, सहप्राध्यापक घनबहादुर थापा र उपप्राध्यापक राजेन्द्रबहादुर…

hero news full width