अन्तर्राष्ट्रिय हेमजा गोल्डकप : एभिनियरद्वारा एपिएफ पराजित

आदर्श समाज सम्वाददाता
असार ८, २०७९
Hemja Gold Cup News 7 Photo

पोखरा । अफ्रिकी क्लब एभिनियर ‘छैटौं नेपाल आइस अन्तर्राष्ट्रिय हेमजा गोल्डकप–२०७९’ को सेमिफाइनल प्रवेश गरेको छ । मंगलबार अन्तिम क्वाटरफाइनलमा सशस्त्र प्रहरी बल (एपिएफ) लाई ४–१ को फराकिलो गोलअन्तरले हराउँदै एभिनियरले सेमिफाइनलमा चर्च ब्वाइजसँगको भेट पक्का गरेको छ ।

एभिनियरको जीतमा विल्लेले २ तथा फ्रेडेरिक र सेमसेमले १/१ गोल गरे । एपिएफका लागि सविन गुरुङले सान्त्वना गोल फर्काए ।
सुरुआति समयबाटै आक्रामक खेल पस्केको एभिनियरले पहिलो हाफमा एपिएफको पोस्ट व्यस्त राखेको थियो । १० औं मिनेटमा एभिनियरका अबदेलको प्रहार क्रसबार नजिकैबाट बाहिरियो । १७ औं मिनेटमा साङले करिब ७५ यार्डबाट गरेको प्रहार दोस्रो बार नजिकैबाट बाहिरियो । २० औं मिनेटमा एपिएफका प्रदीप लामाले अनमार्कमा रहेका रवि थिङलाई दिएको उत्कृष्ट पासमा एभिनियरका गोलरक्षक एवं कप्तान कोभासीले चलाखीपूर्ण तरिकाले डाइभ गर्दै गोल हुनबाट जोगाए । २२ औं मिनेटमा एबोडसनको पासमा जाजाको हेडर एपिएफका गोलरक्षक विशाल गुरुङले पञ्च गर्दै बचाउ गरे ।

गिनीको स्थानमा मैदान छिरेका सामेसामेले २७ औं मिनेटमा गोल गर्दै एभिनियरलाई अग्रता दिलाए । पहिलो हाफमा थप गरिएको अतिरिक्त समयमा फ्रेडेरिकले उत्कृष्ट गोल गर्दै अग्रता दोब्बर पारे ।

आज पहिलो सेमिफाइनलअन्तर्गत आयोजक हेमजा युनाइटेड र खुमलटारबीच प्रतिस्पर्धा हुने

दोस्रो हाफमा डिफेण्डर मानबहादुर राना दोहोरो पहेंलो कार्ड बेहोर्र्दै बाहिरिएपछि एपिएफ १० खेलाडीमा सीमित भएको थियो । ८६ औं मिनेटमा एभिनियरका परिवर्तित खेलाडी विल्लेले गोल गर्दै अग्रता तेब्बर पार्दा जीत नजिक पुगेको थियो । उनले ९३ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै जीत सुनिश्चित पारे । एपिएफका लागि सविन गुरुङले ९४ औं मिनेटमा एकमात्रै गोल फर्काए । खेलमा एनिनियरका खेलाडी बिल्ले म्यान अफ दि म्याच समेत घोषित हुँदै ५ हजार रुपैयाँ र ट्रफी प्राप्त गरे ।

एपिएफका प्रशिक्षक सुदीप श्रेष्ठले गोलरक्षकको कमजोरीले हार व्यहोरेको प्रतिक्रिया दिए । उनले पहिलो गोल किपरको गल्तीले हुँदा खेलमा असर गरेको सुनाए । सेट टिममा ५ जना खेलाडी नहुनु अर्को हारको कारण रहेका उनको भनाइ छ ।

एभिनियरका प्रशिक्षक आसिक थापाले खेलाडीले सोचेभन्दा पनि राम्रो खेल प्रदर्शनी गरेको प्रतिक्रिया दिए । उनले हिजोमात्रै अन्यत्र खेल खेलेर आएको हुँदा पनि थकाइ बिट मार्दै नतिजा निकाल्नु सामान्य कुरा नरहेको सुनाए ।

बुधबारदेखि सेमिफाइनलको खेल सुरु हुनेछ । पहिलो सेमिफाइनलमा आयोजक हेमजा युनाइटेड र खुमलटारबीच हुनेछ भने बिहीबार दोस्रो सेमिफाइनल एभिनियर र चर्च ब्वाइज क्लबबीच हुने आयोजकले जनाएको छ ।

असार ४ देखि सुरु प्रतियोगिताको विजेताले ६ लाख र उपविजेताले ३ लाख साथमा सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँको साथमा ट्रफी प्राप्त गर्नेछन् । सर्वाधिक गोलकर्ताले २५ हजार तथा उत्कृष्ट डिफेन्डर, फिडफिल्डर, फरबार्ड, गोलरक्षक तथा उदीयमान खेलाडीले जनही २० हजार रुपैयाँ प्राप्त गर्नेछन् । अनुशासित टिमले २५ हजार रुपैयाँ प्राप्त गर्नेछ । फाइनल असार ११ असारमा हुनेछ ।

Related News

सम्बन्धित समाचार

  • अरुणा र प्रदीप वर्ष खेलाडी

    आदर्श समाज सम्वाददाता असार १८, २०७९
    पोखरा, १८ असार । भलिबल खेलाडी अरुणा शाही र टेनिसका प्रदीप खड्का वर्ष उत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद…
  • पोखरा स्पोर्टस् अवार्ड आज

    आदर्श समाज सम्वाददाता असार १८, २०७९
    पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा शनिबार छैटौं पोखरा स्पोर्टस् अवार्ड–२०७८ हुँदैछ । समारोहमा मञ्चले विभिन्न ७ विधामा…
  • एथलेटिक्स रेफ्री तथा निर्णायक सेमिनार

    आदर्श समाज सम्वाददाता असार १७, २०७९
    पोखरा । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा गण्डकी प्रदेश एथलेटिक्स खेललक्षित निर्णायकलाई रेफ्री तथा निर्णायक सेमिनार सुरु भएको छ ।…
  • पोखरा स्पोर्टस् अवार्ड तयारी पूरा

    आदर्श समाज सम्वाददाता असार १७, २०७९
    पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा शनिबार छैटौं पोखरा स्पोर्टस् अवार्ड–२०७८ मा ७ विधामा अवार्ड प्रदान गरिने भएको…
  • भट्टराईलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड

    आदर्श समाज सम्वाददाता असार १५, २०७९
    पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीले अग्रज खेलाडी गणेशबहादुर भट्टराईलाई लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मान गर्ने भएको छ ।…

hero news full width