मादीको ११ औं गाउँसभा: बाँदर र भालु ठेगान लगाउन १२ लाख

आदर्श समाज सम्वाददाता
असार ८, २०७९
Madi Budget

पोखरा । बाँदर र भालुजस्ता जंगली जनावरको आतंकलाई ठेगान लगाउन कास्कीको मादी गाउँपालिकाले नयाँ बजेटमा १२ लाख रुपैयाँ विनियोजन गरेको छ । यी जनावरले समुदायमा दुख दिंदै आएकोमा तिनको गतिविधि नियन्त्रण गर्न आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमा उल्लेखित रकम विनियोजन गरिएको हो ।

गाउँपालिका उपाध्यक्ष कल्पना गुरुङले मंगलबार ११ औं गाउँसभामा प्रस्तुत गरेको आगामी आवको बजेटमा पालिकाको उपल्लो भागको पर्यटकीय क्षेत्रको प्रवद्र्धन गरी आन्तरिक तथा बाह्य पर्यटनको आकर्षण केन्द्र बनाउन स्थानीयसँगको ५०/५० प्रतिशत साझेदारीमा घोडा खरिदको लागि १५ लाख विनियोजन गरिएको छ ।

आगामी आवका लागि कुल ६५ करोड ४८ लाख ८० हजार रुपैयाँको बजेट प्रस्ताव गरिएको छ । चालू बजेटभन्दा उक्त रकम ५ दशमलव २५ प्रतिशतले बढी हुन आउँछ ।

कुल बजेटको स्रोतमा संघीय सकार वित्तीय समानिकरणबाट ९ करोड, ६२ लाख, संघीय सरकार सशर्त अनुदान २९ करोड ९२ लाख, संघीय सरकार विशेष अनुदान १ करोड, सरकार बाँडफाँट प्राप्त राजस्व १० करोड ३ लाख र संघीय सरकार बाँडफाँट भई प्राप्त हुने रोयल्टी १ करोड छ लाख ४० हजार रहेको छ । यसैगरी, गण्डकी प्रदेश सरकार वित्तीय समानीकरण अनुदान १ करोड ४ लाख ९५ हजार, प्रदेश सरकार राजस्व बाँडफाँट ८१ लाख २२ हजार, पिएलजीएसपि तथा अन्य सशर्त अनुदान चालु कार्यक्रम ६ लाख, सडक बोर्ड अनुदान ५० लाख तथा आन्तरिक, आय रोयल्टी तथा अघिल्लो आर्थिक वर्षको समेत ९ करोड ४८ लाख ६४ हजार बजेटको स्रोत अनुमान गरिएको गाउँपालिका उपाध्यक्ष गुरुङले बताइन् ।

आगामी आवको लागि गाउँपालिकाको ६५ करोड ४८ लाख ८० हजारको बजेट प्रस्ताव गरेको छ

बजेटमा आर्थिक विकासतर्फ ५ करोड ४२ लाख ४० हजार, सामाजिक विकासतर्फ ३२ करोड ८८ लाख ६० हजार, पूर्वाधार विकासतर्फ १४ करोड २५ लाख, वन, वातावरण तथा विपद् व्यवस्थापनतर्फ ८५ लाख ७० हजार र सुशासन तथा संस्थागत विकासतर्फ १२ करोड ७ लाख १० हजार रुपैयाँ विनियोजन गरिएको छ ।

गाउँपालिकाको आवश्यकता, उपलब्ध स्रोतसाधन र जनअपेक्षा अनुरुप दिगो विकास तथा रोजगारीको अवसरमा जोड दिने, पालिका केन्द्र तथा वडा केन्द्रसम्म नियमित यातायात संचालन हुने गरी सडक विस्तार गर्ने र कृषि उपजको बजारीकरणमा सहयोग पु-याउन, कृषि तथा पशुपालन, घरेलु उद्योग, पर्यटन व्यवसायको माध्यमबाट रोजगारी सिर्जना गर्ने र आर्थिक, सामाजिक, सांस्कृतिक तथा मानवीय विकासमा जोड दिने उद्देश्य बजेटले लिएको छ ।

यसैगरी, पूर्वाधार विकास निर्माणलाई देखिने र अनुभूति हुने गरी कार्यान्वयन गर्ने, जनताको प्रत्यक्ष संलग्नतामा पुँजीगत निर्माणका योजना तथा कार्यक्रम संचालन गर्ने, स्थानीय स्रोतसाधनको अधिकतम् उपयोग गरी पुँजी निर्माण गर्ने, स्थानीय सरकारको भूमिकालाई थप प्रभावकारी बनाउन र ‘समृद्ध मादी सुखी मादीवासी’ अवधारणालाई सार्थक तुल्याउने उद्देश्य पनि समेटिएको छ ।

कृषि र पशुपालनको क्षेत्रमा लगानी वृद्धि गरी कृषि उपजमा आत्मनिर्भर बनाई रोजगारीका अवसर सिर्जना गर्ने प्राथमिकता बजेटको छ । युवा स्वरोजगार कोषको स्थापना गरी रोजगारमूलक कार्यक्रममा लगानी अभिवृद्धि गर्ने, पूर्वाधार विकासमा जोड दिंदै अधुरा तथा क्रमागत आयोजना सम्पन्न गर्ने, महिला सशक्तीकरण तथा आयआर्जनसम्बन्धी कार्यक्रममार्फत सामाजिक रुपान्तरणमा सहयोग गर्ने जस्ता बुँदा बजेटको प्राथमिकतामा परेका छन् ।

साथै, बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, दलित, जनजाति तथा असहायको उत्थान हुने कार्यक्रम संचालन गर्ने, शिक्षा, स्वास्थ्य, खानेपानी संस्कृति प्रवद्र्धन, युवा तथा खेलकुदजस्ता सामाजिक क्षेत्रमा लगानी वृद्धि गर्ने, सार्वजनिक सेवा प्रवाहलाई गुणस्तरीय, पारदर्शी र प्रविधिमैत्री बनाउने, फोहोरमैला व्यवस्थापन, वन तथा वातावरण संरक्षण र विपद् व्यवस्थापन गर्ने, स–साना र टुक्रेयोजनामा लगानी कम गरी ठूला र देखिने योजना तथा कार्यक्रममा लगानी वृद्धि गर्ने र चालु प्रकृतिको खर्च कम गरी उत्पादनमूलक र रोजगारमूलक तथा पुँजीगत योजनामा लगानी वृद्धि गर्ने विषय पनि प्राथमिकतामा छन् ।

मादी गाउँपालिकाका अध्यक्ष नेपाली कांग्रेसका देवीजंग गुरुङले बजेटको कार्यान्वयन महत्वपूर्ण विषय भएको बताए । उनले गाउँपालिकाको विकासका लागि सबैजनाको उत्तिकै सहयोग आवश्यक रहेको औंल्याए । गत वैशाख ३० को स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले आफ्नो कार्यकालको पहिलो बजेट ल्याएका हुन् ।

Related News

सम्बन्धित समाचार

hero news full width