गाउँलेलाई भिटोफको गाइड तालिम

आदर्श समाज सम्वाददाता
असार ६, २०७९
VToF

पोखरा । पर्वत जिल्लाको मोदि गाँउपालिका १ लौसिबोटमा दुइदिने भिलेज टुर गाइड (गाउँले गाइड) तालिम हालै सम्पन्न भएको छ ।गाउँ पर्यटन प्रबर्द्धन मञ्च – नेपाल (भिटोफ), गण्डकी प्रदेशको आयोजनामा कार्यक्रम भएको हो । नेपाल पर्यटन बोर्डले कार्यक्रमको प्रबद्र्धन गरेको थियो ।

तालिममा लौसिबोट सामुदायिक होमस्टे, भुक सामुदायिक होमस्टे, ताङ्ले सामुदायिक होमस्टे तथा झिलिबराङ्ग सामुदायिक होमस्टेको तर्फबाट प्रतिनिधित्व गरेका २५ जना स्थानीय गाइडहरुको सहभागिता रहेको कार्यक्रम संयोजक कृष्ण भारतीले जानकारी दिए । वडा नम्बर १ का अध्यक्ष टेकबहादुर गुरुङले यस्तो तालिमले ग्रामीण पर्यटनको विकास गरी रोजगारी सिर्जना गर्ने अभियानमा टेवा पुग्ने बताए । नेपाल पर्वतारोहण संघ, गण्डकी प्रदेशका अध्यक्ष शेषकान्त शर्मा प्रमुख प्रशिक्षकको रुपमा रहेका थिए ।

गाँउ पर्यटन र घरबास पर्यटनको बारेमा भिटोफ गण्डकीका संस्थापक अध्यक्ष तथा पोखरा पर्यटन परिषद्का सचिव तारानाथ पहारी र संस्थाका अध्यक्ष उदय सुबेदीले प्रशिक्षण प्रदान गरेका थिए । व्यावसायिक दक्षता र आत्मबिस्वास बढाउने गरी यसप्रकारको तालिम गाउँमा पहिलोपटक आयोजना गरिएको सहभागी एवं स्थानीय जनप्रतिनिधि सुबेदार लोकमान गुरुङले बताए । उद्घाटन कार्यक्रमको संचालन भिटोफ गण्डकीका सदस्य रमेश अर्यालले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width