आजदेखि हेमजा गोल्डकप

आदर्श समाज सम्वाददाता
असार ४, २०७९
hemja gold cup

प्रतियोगिताको लागि सिंगारिएको गेट।

हेमजा । हेमजा युनाइटेडको आयोजनामा शनिबारदेखि छैटौं नेपाल आइस अन्तर्राष्ट्रिय हेमजा गोल्डकप हुँदैछ । असार ११ सम्म चल्ने प्रतियोगिताको तयारी पूरा भएको आयोजक संस्थाका अध्यक्ष इन्द्रबहादुर कुँवरले जनाए । पोखराका नवनिर्वाचित मेयर धनराज आचार्यले प्रतियोगिता उद्घाटन गर्ने कार्यक्रम छ ।

प्रतियोगिता सुरु हुनु पूर्व स्थानीय मिलनचोकदेखि गौरीशंकर खेलमैदान (गैरी) सम्म बाजागाजासहित शोभायात्रा निकाल्ने कार्यक्रम रहेको जनाइएको छ ।

उद्घाटन खेल आयोजक हेमजा युनाइटेड र वीरगञ्ज युनाइटेडबीच शनिबार हुनेछ । प्रतियोगितामा १ विदेशी सहित ८ टिम सहभागि हँुदैछन् । जसमा विभागीय एपिएफ, चर्च ब्वाइज, विदेशी अफ्रिकन क्यामरुन, कमलटार, कालिका स्पोट्र्स चितवन, बागमती युवा क्लब सर्लाही, वीरगञ्ज युनाइटेड र आयोजक हेमजा युनाइटेडले सहभागिता जनाउँदैछन् ।

विजेताले ६ लाख र उपविजेताले ३ लाख साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार, सर्वाधिक गोलकर्ताले २५ हजार, उत्कृष्ट डिफेन्डर, मिडफिल्डर, फरवार्ड, गोलरक्षक तथा उदियमान खेलाडीले जनही २० हजार रकम प्राप्त गर्नेछन् । अनुशासित टिमलाई २५ हजार रुपैयाँ दिइनेछ ।

आयोजक युनाइटेडले प्रतियोगितासँगै हेमजाबाट अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्नुका साथै पोखरा २५ भित्रका हरेक विद्यालयलाई खेलकुद हवरुपमा विकास गर्न सहयोग पुग्ने विश्वाससमेत लिएको छ । प्रतियोगितालाई नेपाल आइसले प्रायोजन गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width