११ लाख चोरी

आदर्श समाज सम्वाददाता
असार ३, २०७९
chori

लमजुङ । मध्यनेपाल नगरपालिका–६, भोर्लेटारमा सहकारीसहित पसलहरुमा शृंखलाबद्ध चोरी हुँदा ११ लाख बढीको नोक्सानी भएको छ । बुधबार राति लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था, सुप्रिया फेन्सी पसल, भोर्लेटार बिज भण्डार, भूपू सैनिक किराना पसल र अर्को एक घरमा चोरी भएको हो ।

त्यसमध्ये सबैभन्दा बढी लालीगुराँस सहकारीको चोरी भएको छ । सहकारीको ५ लाख ९३ हजार नगद र संस्थामा ऋण भुक्तानीका लागि संस्थाको नाउँमा काटिएका ४ लाख ५३ हजार बराबरको चेक रहेको प्रबन्धक पंकज भुजेलले बताए ।

चोरले सटरका २ ताला फाडेर भित्र छिरी नगद लिनुका साथै चेक राख्ने गरेको कलर फोेडेको छ । भुजेलले भने, ‘त्यो दृश्यले यो सबै यहीको मेसो पाएको व्यक्तिको संलग्नतामा भएको बुझ्न सकिन्छ ।’

यस्तै, सहकारी नजिकैको सुप्रिया फेन्सी पसलको करिब ७० हजार रुपैयाँ नगद चोरी भएको सञ्चालक सोविता खड्काले प्रहरीसमक्ष बताएको इलाका प्रहरी कार्यालय भोर्लेटारका प्रमुख प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले जानकारी दिए ।

भोर्लेटार बिजभण्डार तथा भूपू सैनिक किराना पसलका सञ्चालक सिताराम रानाभाटका अनुसार एउटै प्रकृतिको चोरीमा चोरले सटरको चाबी काटेर पैसा राख्ने डअरसहित करिब ११ हजार रुपैयाँ लगेको छ । उनले भने, ‘अर्को एक घरका मानिसहरू काठमाडौं गएको घरमा पनि चोरी भएको छ, त्यहाँ के कति नोक्सान भयो उनीहरू आएपछि मात्र थाहा हुनेछ ।’

प्रहरी निरीक्षक लक्ष्मण पचभैयाका अनुसार घटनाको प्रकृति हेर्दा चोर ‘प्रोफेसनल’ हुन सक्ने देखिएको छ । उनले भने, ‘स्थानीय व्यक्ति पनि त्यस काण्डमा संलग्न भएर वस्तुस्थितिका बारेमा जानकारी दिएको हुन सक्ने देखिन्छ । यसबारे अनुसन्धान जारी छ ।’

बुधबार राति विद्युत लाइन गएको मौका छोपेर ११ देखि १ बजेबीचमा श्रृंखलाबद्ध चोरी भएको हो ।

स्थानीयका अनुसार चोरले बजारका अन्य पसल तथा घरमा पनि चोरीको प्रयत्न गरेको बताएका छन् । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width