चितुवाको आक्रमणबाट ११ बालबालिकाको मृत्यु

आदर्श समाज सम्वाददाता
असार १, २०७९
chituwa

तनहुँ । तनहुँमा चितुवाको आक्रमणबाट ३ वर्षयता ११ बालबालिकाको मृत्यु भएको छ ।
जिल्लाको भानु, बन्दिपुर, आँबु, व्यासलगायत पालिकामा गरी चितुवाको आक्रमणबाट बालबालिकाले ज्यान गुमाएका हुन् । चितुवाको आक्रमणबाट बालबालिका घाइते पनि भएका थिए । जसमध्ये सबैभन्दा धेरै भानु नगरपालिकामा प्रभावित भएको छन् भने पछिल्ला दिनमा बन्दीपुर क्षेत्रमा पनि चितुवाको आतंक बढ्न थालेको छ ।

शनिबार बन्दीपुर गाउँपालिका १ बागदलेस्थित वनमा चितुवाको आक्रमणबाट २ जनाको आक्रमण गरी घाइते बनाएपछि पासो थापिएको छ । बन्दीपुरमा शनिबार ८ वर्षीया बालिका रियाना थापा र ३५ वर्षीया भीमलाल गरञ्नालाई चितुवाले आक्रमण गरी घाइते बनाएको थियो । तनहुँको बन्दीपुर क्षेत्रमा चितुवाको आतंक बढ्न थालेपछि डिभिजन वन कार्यालय तनहुँको सक्रियतामा चितुवा नियन्त्रणको लागि खोर थापिएको हो ।
वनको खोरमा बाख्रासमेतको पासो राखिएको छ । बाख्रा खान जाँदा चितुवा पासोमा पर्ने हुँदा नियन्त्रणको लागि सहज हुने डिभिजन वन कार्यालय तनहुँले जनाएको छ । वडा कार्यालयको आग्रहमा डिभिजन वन कार्यालयसँग सहकार्य गरी चितुवा नियन्त्रणको प्रयास गरिएको बन्दीपुर १ का वडाध्यक्ष शिवकुमार श्रेष्ठले जानकारी दिए ।
उक्त क्षेत्रमा चितुवाको आतंकले जनमानसमा त्रासको वातावरण बनेकाले चितुवा नियन्त्रण गरी सुरक्षित साथ वन्यजन्तु संरक्षण क्षेत्रमा पठाउन प्रयास गरिएको उनले बताए । डिभिजन वन कार्यालयले पनि एक पटक आक्रमण भएको ठाउँमा चितुवाले पुनःआक्रमण गर्ने सम्भावना रहने हुँदा सतर्कताको लागि चितुवा नियन्त्रणको पहल गरिएको अध्यक्ष श्रेष्ठले बताए । डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलप्रसाद काफ्लेले बिहान बेलुकाको समयमा उच्च सतर्कता अपनाउन सर्वसाधारणसँग आग्रह गरिएको बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width