एक महिनामा ११ अर्ब खर्च लक्ष्य

धनबहादुर गुरुङ
असार १, २०७९
Asare Budget Photo

पोखरा । प्रदेश लेखा नियन्त्रक कार्यालय, गण्डकीले अबको २५ दिनमा ११ अर्ब ३१ करोड ७४ लाख बजेट खर्च हुने अनुमान गरेको छ । प्रदेशका ११ जिल्लामा जेठ ३० सम्म ४३.७९ प्रतिशत रकम खर्च गरेको कार्यालयले अब लगभग ३६ प्रतिशत बढी बजेट खर्च हुने अनुमान गरेको छ ।

कार्यालयका निर्देशक केशवराज आचार्यले चालु आवको असार २५ सम्म ८० प्रतिशतसम्म बजेट खर्च हुने बताए । उनका अनुसार चालु आवको जेठ अन्तिमसम्म गण्डकीमा चालुतर्फ ४२ र पुँजीगततर्फ ४५ प्रतिशत बजेट खर्च भएको छ । चालुतर्फ ५ अर्ब ३२ लाख र पुँजीगततर्फ ८ अर्ब ३६ करोड खर्च बजेट खर्च भएको आचार्यले जानकारी दिए । गत वर्ष सो अवधिमा ४२.८१ प्रतिशत बजेट निकासा भएको थियो । गत वर्ष तुलनामा सामान्य प्रतिशतले सुधार भएको आचार्यको भनाइ छ । ‘अहिलेसम्म ४४ प्रतिशत हाराहारीमा बजेट विनियोजन भएको छ,’ उनले भने, ‘असार मसान्तसम्म ७५ देखि ८० प्रतिशत बजेट खर्च हुने अनुमान छ ।’ गत वर्ष ७३ प्रतिशत बजेट खर्च भएकोमा यो वर्ष केही मात्रामा बढ्ने उनको अनुमान छ ।

असार लागेपछि विकास निर्माणको काम गरी बजेट सक्ने परिपाटी गण्डकीमा अझै रोकिएको छैन । असारमा गरिने विकास निर्माणका काम गुणस्तरीय नहुने भन्दै चौतर्फी आलोचना भए पनि यो परिपाटी नरोकिएको तथ्यांकले देखाउँछ । बाहिर चर्चामा रहेको असारे विकासबारे भने प्रदेश लेखा नियन्त्रक आचार्यको फरक धारणा छ । ‘बाहिर चर्चामा रहेको जस्तो सबै बजेट असारमै खर्च भएको भन्न त मिल्दैन,’ उनको तर्क छ, ‘चैत–बैशाखमा भएको कामको क्लेम असारमा गर्दा खर्च असारको जस्तो देखिने हो ।’ जनताले आरोप लगाउने असारे विकास, हिले विकासको यथार्थ नभएको उनले बताए । योजना सकिने वित्तिकै रकम विनियोजन गर्न पाएमा असारमा धेरै रकम खर्च नहुने उनको भनाइ छ । विगतका वर्षमा असार १५ पछि धेरै खर्च भएका रकर्ड रहेको पनि उनले सम्झिए । केही योजनामा भने विविध कारण असारमा नै हुने गरेको उनी स्वीकार्छन् । योजनाको प्रत्येक चौमासिकमा भुक्तानी गरिने हुनाले पहिलो चौमासिकमा १० प्रतिशतभन्दा कम नै खर्च हुने गरेको उनी बताउँछन् । दोस्रोमा २५/३० र अन्तिममा बढी मात्रामा खर्च हुने गरेको उनले जानकारी दिए ।

असारे खर्च : असार लागेपछि विकास निर्माणको काम गरी बजेट सक्ने परिपाटी गण्डकीमा अझै रोकिएको छैन

गण्डकीको चालु आवको लागि ३० अर्बको बजेट थियो । जसमा चालुतर्फ १२ अर्ब ५५ करोड ७९ लाख र पुँजीगततर्फ १८ अर्ब ४५ करोड ७० करोड रुपैयाँ विनियोजन गरिएको थियो । जेठ अन्तिम सातासम्म चालु र पुँजीगत गरी १३ अर्ब ६८ करोड ६५ लाख बजेट खर्च भएको लेखा निर्देशक आचार्यले जानकारी दिए । सबैभन्दा बढी प्रदेश लोक सेवा आयोगले ६९ प्रतिशत बजेट खर्च गरेको छ भने सबैभन्दा कम कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्रालयले १९.९५ प्रतिशत बजेट खर्च गरेको छ ।

प्रदेशका विभिन्न कार्यालय र आयोजनाका लागि पर्याप्त बजेट भए पनि खर्च गर्न नसकेको हो । खासगरी ठूला विकासे अड्डाले समयमा बजेट खर्च गर्न नसक्दा फ्रिज हुने अवस्था छ । विगतमा पनि समयमा पुँजीगततर्फको बजेट खर्च अर्थात् विकास निर्माणको कार्य समयमा हुन नसक्दा करोडौं रुपैयाँ बजेट फ्रिज हुँदै आएको छ ।

गण्डकीमा विगतको तुलनामा मन्त्रालय संख्या बढेकाले पनि पहिलेको तुलनामा यो वर्ष धेरै बजेट खर्च हुने लेखा निर्देशक आचार्यको अनुमान छ । अघिल्लो आवमा ७ मन्त्रालय रहेकोमा अहिले बढाएर १२ वटा बनाइएको छ । चालु आव २०७८/०७९ का लागि असार २५ सम्म बजेट निकासा हुने चलन छ । केही समस्या भए निवेदन आधारमा मसान्तसम्म रकम निकासा लिने पुरानै चलन हो ।

Related News

सम्बन्धित समाचार

hero news full width