पत्रकारिता व्यक्तिगत स्वार्थमा हाबी हुनु हुँदैन : बास्तोला

आदर्श समाज सम्वाददाता
जेठ ३१, २०७९
krishna sir 3

दाङ । स्वतन्त्र पत्रकार संघ नेपालका अध्यक्ष कृष्णप्रसाद बास्तोलाले सभ्य समाज निर्माणका लागि निष्पक्ष पत्रकारिताको अभाव हुन नहुने बताएका छन् ।

स्वतन्त्र पत्रकार संघ नेपाल, दाङ शाखाले सोमबार तुलसीपुरमा गरेको स्वागत तथा बधाई कार्यक्रमलाई सम्बोधन गर्दै बास्तोलाले पत्रकारिता पेसा नितान्त समाजका लागि गरिने इमानको पेसा भएकाले व्यक्तिगत इच्छा, आकांक्षा र स्वार्थमा हाबी हुन नहुने बताए ।

उनले स्वतन्त्र पत्रकारले जुनसुकै राजनीतिक दलमा आस्था राखे पनि पत्रकारितामा कलम चलाउँदा निष्पक्ष र स्वतन्त्र ढंगले चलाउनुपर्ने सुझाव दिए । ‘स्वतन्त्र पत्रकारले कुनै पनि पार्टीमा आस्था राख्नु नै हुँदैन भन्ने होइन,’ उनले भने, ‘पत्रकारिता पेसामा हुँदा कलम स्वतन्त्ररुपले चल्नुपर्छ । पत्रकारितामा कसैको आग्रह पूर्वाग्रह हुनु हुँदैन भन्ने नै हो ।’ उनले निस्वार्थ भएर समाजका लागि सत्यको पक्षमा कलम चलाउनु नै स्वतन्त्र पत्रकारिता भएको स्पष्ट पारे ।

संघका संस्थापक अध्यक्ष समेत रहेका उनले नेपालमा पछिल्लो समय एकपक्षीय ढंगले गरिने पत्रकारिता मौलाउँदै गएकोले स्वतन्त्र र मर्यादित पत्रकारिताको आवश्यकता खड्किन थालेको बताए ।

स्वतन्त्र पत्रकारिता अभाव हुँदा सहरदेखि गाउँसम्म भ्रष्टाचार, विकृति र विसंगति मौलाउँदै गएको उनको भनाइ छ । ‘सरकारलाई चेक एन्ड ब्यालेन्समा ल्याउने भनेकै पत्रकारिता हो तर पछिल्लो समय निष्पक्ष, स्वतन्त्र र सत्यको पक्षमा कलम कम चल्दा समस्या देखिएको छ,’ उनले भने, ‘पत्रकारले स्वतन्त्र र निष्पक्षरुपमा समाचार लेखेर पत्रकारिताको साख जोगाउनुपर्छ ।’

कार्यक्रममा संघका निवर्तमान अध्यक्ष केबि मसालले राष्ट्रको चौथो अंगको रुपमा रहेको पत्रकारिताजगत्को साख जोगाउन स्वतन्त्र पत्रकारको भूमिका महत्वपूर्ण हुने बताए । उनले पत्रकारिता पेसा सुन्दर समाजका निर्माणको बलियो पक्ष भएकाले पत्रकारले कुनै पनि लोभ, लालच र व्यक्तिगत स्वार्थमा नभई समाजको हितका लागि समाचार लेख्नुपर्ने बताए ।

संघका नवनिर्वाचित केन्द्रीय सदस्य दीपक कुमालले पत्रकारको पेसागत सुरक्षाका लागि सम्बन्धित संचारसंस्था र सरकार जिम्मेवार बन्नुपर्ने बताए ।

स्वतन्त्र पत्रकार संघ नेपाल दाङ अध्यक्ष जीतसागर जिएमको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय अध्यक्ष बास्तोलासहित केन्द्रीय सदस्य जितसागर जिएम, शरद शर्मा, डिलाराम भण्डारी (मिलन) र दीपक कुमाललाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो । संघको हालै नवलपुरमा सम्पन्न १० औं वार्षिक साधारणसभा तथा चौथो राष्ट्रिय महाधिवेशनबाट कृष्णप्रसाद बास्तोलाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको थियो ।

त्यस अवसरमा निवर्तमान केन्द्रीय अध्यक्ष मसालले नवनिर्वाचित अध्यक्ष बास्तोलालाई निर्णय पुस्तिका हस्तान्तरण गरेका थिए । संघका शाखा उपाध्यक्ष पुरुषोत्तम अधिकारीले स्वागत र सचिव वसन्त पौडेलले सहजीकरण गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width