राजसंस्था पुनःस्थापना असम्भव : कमल थापा

आदर्श समाज सम्वाददाता
जेठ ३१, २०७९
rpp nepal

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले नेपालमा राजतन्त्रको पुनःस्थापना हुन नसक्ने बताएका छन् । पार्टीको गण्डकी प्रदेश कमिटीले सोमबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता थापाले राजतन्त्र पुनःस्थापना असम्भव एजेण्डा भएको दाबी गरे ।

पूर्व राजा ज्ञानेन्द्रप्रति व्यक्तिगत रुपमा आफ्नो कुनै दुश्मनी नरहेको भन्दै उनले आफूले विगतमा राजतन्त्रको एजेण्डा बोक्दा उनीबाट साथ नपाएको गुनासो गरे । २०६३ सालमा गणतन्त्र आएपछि आफूहरु अलपत्रजस्तो भएको भन्दै उनले सो समयमा आफूले राजाबाट सामान्य धन्यवादसम्म नपाएको बताए । ‘राजाले बोलाएर एक कप चिया पनि खुवाएनन्,’ उनले भने । राजाप्रति विगतमा राप्रपाले गुन लगाएको भन्दै उनले धन्यवाद र हौसला प्रदान गर्ने कुरा राजासमक्ष राख्दा ‘ए यस्तो पनि गर्नुपर्छ ?, ए हो र’ भनी प्रस्तुत भएको अध्यक्ष थापाले खुलासा गरे ।

राजाको शक्तिको कारण राप्रपा र राप्रपा नेपाल गठन नभएको भन्दै उनले नेपालमा गणतन्त्र आउनासाथ पूर्व पञ्चहरु एक ठाउँमा जम्मा हुन सकेको भए शक्तिशाली पार्टी गठन गर्न सकिने भनाइ पनि उनले राखे । राजाबाट सकात्मक प्रयास भएको भए नेपालमा राजतन्त्र पुनः स्थापना पनि हुन सक्ने थियो भन्दै उनले गद्दीबाट हटेपछि ज्ञानेन्द्रले लगातार दलहरुविरुद्ध विज्ञप्ति निकाल्दै आएको बताए । ‘विभिन्न अवसरमा निकालिएका उनका हरेक वक्तव्य दलहरुविरुद्ध लक्षित छन्,’ उनले भने । जनता र दलहरुलाई साथ नलिई नेपालमा राजतन्त्र फर्कने कल्पनै गर्न नसकिने भन्दै उनले विगतमा आफूले राजतन्त्रको अजेण्डा बोकेप्रति कुनै पश्चाताप नभएको पनि उनले बताए ।

सोही अवसरमा उनले गलत मानिसहरुको संलग्नताले २०७३ देखि २०७८ को विचमा राप्रपाभित्र निकै विकृति मौलाएको भनाइ राखे । आफूले सो समयमा गलत प्रवृत्ति र असहज मान्यतासँग सम्झौता गर्न पुगेको भन्दै जसबाट आफू पलायन रोज्ने कि, संघर्ष गरेर उठ्ने भन्ने अवस्थामा पुगेको सुनाए । ‘यस्तो अवस्थामा मैले दोस्रो बाटो रोजें,’ राप्रपा नेपाल गठन गर्नुको कारणबारे उनले प्रष्ट्याउन खोजे । गाई चिन्ह छाडेको र माओवादी नेता प्रचण्डसँग सहकार्य गर्न पुगेको भनी आफूलाई आफ्नै साथीहरुले सो समयमा गुनासो गरेको पनि नले सुनाए ।

‘केन्द्रमा एउटा बलियो सरकार र स्थानीय तहमा अहिलेको भन्दा बढी अधिकार सम्पन्न सरकार रहने गरी २ तहको संघीय संरचना उपयुक्त’

देशको धरातलीय यथार्थ र जनभावनालाई दृष्टिगत गरी राप्रपा नेपाल गठन गर्नु परेको पनि उनले बताए । नयाँ दल गठनको क्रममा पार्टीको मान्यता र अवधारणालाई पनि समायानुकुल परिमार्जन गरिएको र राष्ट्रियता, लोकतन्त्र र हिन्दू राष्ट्रको मान्यतामा आधारित सम्वद्र्धनवाद राप्रपा नेपालको वैचारिक दर्शन हुने उनले बताए । सम्वद्र्धनवाद नेपालको सन्दर्भमा साम्यवाद, समाजवाद र पूँजीवादको विकल्पमा देखा परेको वैचारिक मान्यता भएको उनले सुनाए । विगत १५ बर्षको अनुभवालई समेत दृष्टिगत गरी नेपाललाई पूर्ण धार्मिक स्वतन्त्रता र समानतासहितको हिन्दू राष्ट्र पुनःस्थापना गरिनुपर्छ भन्ने धारणा आफ्नो दलको भएको नेता थापाले बताए ।

हाल नेपालले अवलम्बन गरेको शासकीय स्वरुपमा सुधार गरी स्थिरता, समृद्धि र विकासका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री कायम गर्ने प्रणाली उचित हुने भनाइ उनले राखे । ‘ हामीले अवलम्बन गर्दै आएको निर्वाचन प्रणालीमा कमिकमजोरी र विकृति तथा विसंगति देखिएको छ, निर्वाचनमा पैसाको ठूलो चलखेल हुने गरेको छ,’ उनले भने, सत्ता र शक्तिको दुरुपयोग हुने गरेको तितो यथार्थलाई दृष्टिगत गरी पूर्ण समानुपातिक निर्वाचन प्रणाली कायम गर्नुपर्छ भन्ने हाम्रो मान्यता छ ।

संघीयताको विषयमा बोल्दै उनले केन्द्रमा एउटा बलियो सरकार र स्थानीय तहमा अहिलेको भन्दा बढी अधिकार सम्पन्न सरकार रहने गरी २ तहको संघीय संरचना उपयुक्त हुने उनले बताए । प्रादेशिक संरचनाको आवश्यकता नभएको उनले सुनाए । आगामी चुनावमा राप्रपा नेपाल राष्ट्रिय दल बनाउने गरी आफूहरु अगाडि बढ्ने भन्दै उनले हिन्दू राष्ट्रको पुनःस्थापना, भ्रष्टाचार नियन्त्रण र वेरोजगारी समस्या समाधानमा जनपरिचालन र जनसंघर्षका कार्यक्रम पनि लगत्तै संचालन गरिने बताए । पार्टीका केन्द्रीय सदस्य सूर्य बास्तोलाले कार्यक्रम संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width