आगामी चुनावसम्म नै गठबन्धन

आदर्श समाज सम्वाददाता
जेठ ३०, २०७९
Madhav

माधवप्रसाद बास्तोला (मधु) प्रवक्ता, नेपाली कांग्रेस, गण्डकी प्रदेश

राजनीतिकर्मी एवं समाजसेवी माधवप्रसाद बास्तोला (मधु) नेपाली कांग्रेस गण्डकी प्रदेश समितिका प्रवक्ता हुन् । प्रदेश समितिमा सदस्यको भूमिकामा रहेका उनको राजनीति २०३८ सालबाटै सुरु भयो । नेपाल विद्यार्थी संघबाट राजनीति यात्रा आरम्भ गरेका उनी त्यसपछि २०४८ सालमा कांग्रेसको क्रियाशील सदस्य बने । यही क्रममा बास्तोला वडाको इकाइ सभापति र नेपाली कांग्रेस कास्की दुई नम्बरको क्षेत्रीय कार्यसमितिको सहसचिवको भूमिकामा पनि रहे । २०५४ सालमा निर्वाचित वडा अध्यक्ष हुन पुगे । दुईपटकसम्म कांग्रसको क्षेत्रीय सभापति निर्वाचित उनले यो पदमा रही ११ वर्ष काम गरे । कांग्रेसको महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य पनि हुन् बास्तोला । दलको नेतृत्व तहमा इमानदारिताको अभाव देखिन थालेको भन्दै उनले यो चिन्ताजनक विषय भएको बताए । पोखराको शैक्षिक विकासमा समेत बास्तोलाको भूमिका प्रशंसनीय छ । राजनीति शास्त्रमा एमए र कानुनमा बिएल गरेका बास्तोला पोखरा फुलबारीका बासिन्दा हुन् । समसामयिक राजनीतिक विषयमा केन्द्रित गरी बास्तोलासँग आदर्श समाज राष्ट्रिय दैनिकका रुपनारायण ढकालले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ :

नेपाली कांग्रेसको गण्डकी प्रदेश कमिटीले के गर्दै छ अहिले ?

राज्यको पुनर्संरचना भएपछि नेपाली कांग्रेसले पनि आफ्नो विधानमा प्रदेशको अवधारणा लिएर आयो । सोहीअनुसार ७ वटा प्रदेश समितिको व्यवस्था गरियो । कार्यसमिति, काम र कार्यान्वयन पनि नयाँ संरचनाअनुसार हुने भयो । चौधौं महाधिवेशन पछि निर्माण भएको प्रदेश कार्यसमितिले आफ्नो विधानको व्यवस्था अनुसारका कामहरु क्रमिक रुपमा अगाडि बढाएको छ । जसअनुसार कार्यालय व्यवस्थापन गरियो । कार्यसमितिमा कार्यसम्पादन समिति, संसदीय समिति र विभागहरु गठन गर्ने कुरामा लाग्यौं । अघिल्ला दुई काम सम्पन्न गरिसकेका छौं । विभाग गठन गर्ने कुरा बाँकी नै छ । हामीसँग २२ वटा विभाग हुन्छन्, प्रदेश अन्तर्गत । विभिन्न जिल्लाबाट प्रतिनिधित्व हुने गरी विभागहरु गठन गर्ने प्रक्रियामा छौं ।

संघीयताकै कुरा गर्दा प्रादेशिक संरचनाप्रति जनताको ठूलो असन्तुष्टि देखिन्छ, यसलाई खारेज गर्नुपर्छ भन्ने सम्मको आवाज उठेको छ, के भन्नुहुन्छ ?

वास्तवमा हाम्रो सानो देशमा यति धेरै खर्चको कुरा व्यवस्थापन कसरी गर्ने भन्ने कुरा छ । संघीय शासन हुर्काउन र बढाउन चाहिने धेरै खर्चले गर्दा यो संरचना गरिबलाई हात्ती दान दिएजस्तो भयो । यतिधेरै मन्त्री र यतिधेरै सांसदलाई कसरी खर्च पु¥याउने । कि त सुविधा लिनु भएन । जनताको सेवा गर्ने हो भने जनप्रतिनिधिले सुविधा लिन्न भन्न सक्नुपर्‍यो । चुनाव जित्न प्रशस्त खर्च गर्ने र सुविधा पनि प्रशस्त लिने देखियो । गरिब र नागरिकले केही पाएका छैनन् । दिनदिनै महँगी र अभाव छ तर जनप्रतिनिधिले सुविधामात्र लिएको देखिन्छ । यसकारणले यो संघीयता भन्ने विषय नेपालमा सिधै स्थानीय निकाय र संघमात्र व्यवस्था भयो भने राम्रो भन्ने छ । बीचको प्रदेश राख्दा खर्च धेरै भयो भन्ने आम नागरिकको भनाइ छ । यस्सो हेर्दा मन्त्रीहरु मन्त्री हुनकै लागि लडाइँ गर्ने, टिकट पाउन र सुविधाका लागि लडाइँ गर्ने देखिएको छ । महँगो कर उठाउने र तिनलाई खर्च गर्ने । यो खर्चलाई व्यवस्थापन गर्न नसकेको कारण पनि नेपालमा संघीय शासन प्रणाली त्यति राम्रो धान्न सकिने अवस्था लाग्दैन भन्ने नागरिक र विचारणीय कुरा हो । यो परीक्षणमा नै छ । कसरी सर्भाइबल गर्न सकिने नसकिने शंकाको विषय भयो । हरेक नागकिले संघीयता कामै छैन, हिजोको २०५ निर्वाचन क्षेत्र, ७५ जिल्ला र ५ विकास क्षेत्र नै ठीक थियो भन्ने अधिकांशको धारणा फर्मेसन हुन थाल्यो । त्यस्तो होइन है भन्ने कुरा राजनीतिक दलले देखाउनुपर्ने देखिन्छ ।

हालै सम्पन्न स्थानीय तहको निर्वाचन नतिजालाई कसरी हेर्नुभएको छ ?

स्थानीय तहको चुनाव सम्पन्न भयो । चुनावमा खासगरी यो प्रदेशको कुरा गर्दा पहिला ८५ वटा स्थानीय तहमा ४४ वटा कांग्रेसले जितेको अवस्था थियो तर अहिले ५ दलीय गठबन्धन बनाएर चुनावमा जोडिएकाले गठबन्धनका सदस्य दललाई समेत सिट व्यवस्थापन गर्नु पर्दा ३६ वटा स्थानीय तहमा मात्र हामीले चुनाव जित्यौं । तर यहाँ देखियो के भने ५ दलीय गठबन्धन भनिए तापनि गठबन्धन गर्ने केन्द्रीय कार्यालयले नीति त बनायो तर कार्यान्वयनको जिम्मा प्रदेश, जिल्ला र पालिकालाई लगायो । निर्देशन त गरियो तर तल्ला निकायसम्म आइपुग्दा त्यो कति ठाउँमा मिल्यो, कति ठाउँमा मिलेन । मिलेको ठाउँमा त राम्रै भएको देखिएको छ । नमिलेको ठाउँमा हामीहरुकै कारणले मिलेन । किनभने हामी मिल्न सकेनौं अनि अपेक्षित परिणाम नआएको अवस्था पनि छ ।

कांग्रेसजस्तो ठूलो दललाई चुनावमा गठबन्धनको आवश्यकता किन पर्‍यो ?

गठबन्धनको आवश्यकता किन पर्न गयो भने केपी शर्मा ओली सत्तामा गएपछि हिजोको दिनमा माओवादी र एमाले मिलेर संसदीय चुनाव लडे । नेपालमा गणितीय हिसाबमा वामपन्थीको संख्या धेरै पनि देखिन्छ । प्रजातान्त्रिक शक्तिको गणित कम नै देखिन्छ । हिजो उनीहरु दुई पार्टी मिलेर लडेका हुनाले संघीय र प्रदेशको निर्वाचनमा कांग्रेसको संख्या न्यून देखियो । त्यो देखिएकै कुरा हो । त्यो भन्दा पनि उनीहरु मिलेर सरकार चलाए पनि पछि नमिलेका कारण उनीहरु टुक्रिन पुगे । यसबाट के भयो भने पार्टीभित्रको द्वन्द्वलाई सार्वजनिक गरियो । ओलीले एकात्मक खालको साशन व्यवस्था सञ्चालन गर्न खोजे । विभिन्न आन्दोलनबाट प्राप्त भएका उपलब्धि पनि गुम्ने डर हुन थाल्यो र संसद नै दुई दुई पटक विघटन गरियो । संविधानले सुरक्षित गरेको संसदलाई पनि विघटन गर्ने, लोकतन्त्रको अभिमतलाई बहिस्कार गर्ने र कानुन नै मान्दिनँ भनेजस्तो अवस्थाविरुद्ध अन्य दल एक भए ।

खर्चिलो संघीय शासन संरचना गरिबलाई हात्ती दान दिएजस्तो भयो । यतिधेरै मन्त्री र सांसदलाई कसरी खर्च पुर्‍याउने

गठबन्धनको भविष्य कस्तो देख्नुहुन्छ? आउँदो चुनावमा पनि गठबन्धन गर्ने हो ?

ओलीले विघटन गरेको संसद पुनर्बहाली भएपछि सत्ता चलाउन भए पनि गणित त पुर्‍याउनै पर्ने भयो । गठबन्धन गर्नु एउटा बाध्यात्मक अवस्था भयो, लोकतन्त्रको रक्षाको लागि । स्थानीय तहसम्म यो गठबन्धन गरेर जाने कुरा थियो पहिला तर जतिसुकै कुरा गरेपनि माओवादीको सिट संख्यालाई हेर्ने हो भने गठबन्धनकै कारण उसले राम्रै सिट ल्याएको छ, देशभरिको नतिजा हेर्दा । एमालेबाट टुक्रिएको नेकपा (एकीण्कृत समाजवादी) को संख्या संसदमा ठिकै देखियो तर फिल्डमा जनाआधार यकीन थिएन, उनीहरुको अवस्था के छ भने कांग्रेससँग गठबन्धन नगरे उनीहरुको पनि भविष्यमा अवस्था यही हुन्छ भन्न सक्ने अवस्था छैन । अहिले स्थानीय तहको निर्वाचनको परिणाम आएपछि कांग्रेस र माओवादीलाई पनि राम्रै भयो । एकीकृत समाजवादीलाई अलिकिति भनेजस्तो भएन कि भन्ने पर्न गयो । पोखराको कुरा गर्दा गठबन्धन नगरेको भए महानगरको चुनाव जित्ने अवस्था थिएन । गठबन्धनले निरन्तरता पाउने नपाउने आम नागरिकको पनि चासो छ । यसमा के छ भने गठबन्धन हिजोको संघीय निर्वाचन र प्रदेश निर्वाचनको मत परिणाम हेर्दा गठबन्धन विना कसैले पनि अपेक्षा गरेजस्तो मत ल्याउन सक्दैनन् । त्यही भएर पनि गठबन्धनका दलहरु आफू सर्भाइबल गर्न आउँदो चुनावमा पनि यो गठबन्धनलाई निरन्तरता दिन्छन् । अहिले बाहिर छापा र सामाजिक सञ्जालमा आएको कुरा घुक्र्याउने र धम्क्याउने कुरामात्र हो । अहिले गठबन्धन छाड्छु भन्ने कुरा बार्गेनिङको कुरा हो । बागेनिङका लागि गठबन्धन छोड्छु भन्ने कुरा आएको हो ।

चुनावी नतिजालाई लिएर माधव नेपालको असन्तुष्टि पनि देखियो, कांग्रेस इमानदार नबनेको कुरा पनि आयो ?

उहाँहरु नयाँ दल हो । नयाँ दलको संरचना बनाउन उहाँहरुलाई गाह्रो छ । उहाँहरुलाई यति चाँडो चुनाव नहोस् भन्ने पनि थियो होला । किनभने उहाँहरुको संरचना फिल्डसम्म पनि पुगेको थिएन । अहिले उहाँहरुले जे प्राप्त गर्नुभयो त्यो नै उपलब्धिमूलक हो । उहाँहरुको अवस्था के देखियो भने वडामा पनि सदस्य उठाउन सक्ने अवस्था बनेको रहेनछ । यो धेरै ठाउँमा देखियो । पोखरामा नै पनि देखियो । पूर्वतिर राम्रै रहेछ । तर यहाँ त्यस्तो देखिएन । उहाँहरु पनि आफूलाई सेटलमेन्ट गर्न तत्काल एमालेसँग मिल्ने कुरा पनि गाह्रो देखिन्छ । माओवादी र एमाले मिलेमा वा कांग्रेस र एस (समाजवादी) को अवस्था के होला ? माओवादी र कांग्रेस मिले एमाले र एसको अवस्था के होला ? यस्तो अवस्था देखिन्छ । त्यसकारण उनीहरुले आफ्नो अस्तित्व बचाउन पनि गठबन्धन अपरिहार्य देखिन्छ गणितमा । आउने प्रादेशिक र संघयि चुनावमा पनि यो गठबन्धनले निरन्तरता पाउने देखिन्छ । अर्को कुरा संविधान प्रतिको अतिक्रमण रोक्न पनि गठबन्धन आवश्यक छ भन्ने कुरा पब्लिकले पनि बुझे र मौजुदा पार्टीका मान्छे जो हिजो आन्दोलन गरेर आए तिनीहरुले पनि यो बुझ्न जरुरी छ ।

स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारले पनि कतिपय ठाउँमा चुनाव जिते, यसलाई कसरी हेर्नुभएको छ ?

हामी मल्टिपार्टी सिस्टममा विश्वास गर्ने मान्छे । यहाँ आवधिक चुनाव हुन्छ । बहुमत ल्याउनेले गभर्निङ गर्छ । अब यहाँ व्यक्तिहरुले चुनाव जिते । एउटा व्यक्तिले किन चुनाव जिते भने अलिकति दलहरुप्रति विकर्षण हो कि भन्ने मानिसलाई लागेको छ । तर यसको एउटा नराम्रो पक्ष के देख्छु भने एउटा व्यक्तिले केही पनि गर्न सक्दैन । एउटा व्यक्तिले भिजन राम्रो ल्याउन सक्छ तर कार्यान्वयन गर्न गाह्रो हुन्छ । उदाहरणका लागि काठमाडौंका मेयर बालेनले भिजन त ल्याउनुहोला तर भिजन कार्यान्वयन गर्न त शक्ति चाहिन्छ । त्यो शक्ति र समूह उहाँसँग छैन । जस्तै पोखराको मेयरसँग भिजन होला, राम्रो गर्न खोज्नुहोला तर बोर्डमा उहाँलाई सहयोग गर्ने उहाँबाहेक अरु त छैन । सहयोग गर्ने त ग्यारेन्टी हुनुप¥यो नि । व्यक्तिले आफ्नो प्रभाव र भिजनले चुनाव जित्ने कुरा सकारात्मक र राम्रो कुरा हो तर भिजनलाई कार्यान्वयन गर्न शक्ति र संगठन चाहिन्छ । संगठनबिना हाम्रो देशमा विकास र काम कार्यान्वयन गर्न गाह्रो छ । देख्दा पपुलर मान्छेले चुनाव जित्यो, राम्रो भयो भने तापनि परिणाम आउन गाह्रो देख्छु । हिजो एमालेले पोखरामा चुनाव जित्दा उहाँहरुका धेरै बोर्ड सदस्य थिए, धनराजको सन्दर्भ जोड्दा । दलहरुले अनुकूल र प्रतिकूललाई विचार गरेर मात्र सहयोग र असहयोग गर्छन् तर यस्तो गर्नु हुँदैन । स्वतन्त्रले जित्नु लोकतन्त्र र मल्टिपार्टी सिस्टमको लागि राम्रो होइन । उहाँहरुले जित्नुभयो ठीक छ । तर हामी बहुदल मान्नेले त दलकै मानिसले चुनाव जित्नुपर्छ । स्वतन्त्रले चुनाव जितेका कारण हिजोका प्रतिगामी उठेका हुन् कि, उनीहरुको सहयोगले जितेका हुन् कि भन्ने आशंका पैदा भयो । व्यक्तिले लोकप्रियताले जिते पनि स्वतन्त्रले काठमाडौंमा चुनाव जित्नु कठिन हो नि । उहाँले कुनै न कुनै शक्तिका कारण चुनाव जितेको हो । एउटा शक्ति त चाहियो नि ।

यस्तो अवस्थामा भोलि एउटा मानिस डिफल्टर भइदिए के हुन्छ ? कांग्रेस र लोकतन्त्रकै भविष्य कस्तो देख्नुहुन्छ ?

नेपालमा जहानिया राणा शासन पनि थियो । २१ औं शताब्दीमा मानिसका नैसर्गिक अधिकारहरुको कसरी एक्सरसाइज गर्ने भन्ने सन्दर्भअन्तर्गत हिजो बिपीले बहुदलीय व्यवस्था चाहिन्छ भन्ने कुरा अघि सार्नुभयो । आवधिक चुनावबाट प्राप्त भएको बहुमतले गभर्निङ गर्नुपर्छ भन्ने कुरा आयो । मानिसका अधिकारहरुको संवैधानिक ग्यारेन्टी हुनुपर्छ भनेर हाम्रा नेताले आन्दोलन गरे । कांग्रेसलाई आफूले सधैं शासन गर्नुपर्छ भन्ने छैन । आवधिक चुनाव होस् र बहुमत प्राप्त दलले शासन गरोस् । जसले जिते पनि भयो । २०१५ सालमा ‘कू’ भएपछि ३० वर्ष नेपालमा दलीय व्यवस्था प्रतिबन्धित भयो । २०४६ को परिवर्तनपछि राजासहितको बहुदलीय व्यवस्था आयो । राम्रै भएको थियो तर पनि लक्षित वर्गहरु, गाउँ र दुरदराजमा बस्ने अनि दलित तथा समावेशीका कुराहरु परिपूर्ति नभएको भनेर द्वन्द्व सुरु भयो । माओवादीको द्वन्द्वलाई सेटलमेन्ट गर्न कांग्रेसले ठूलो कुर्बानी गर्नुप¥यो । त्यो बेला धेरै कांग्रेस मारिए । कांग्रेसकै मानिस लुटिए । पर्न त द्वन्द्वमा अरु पनि परे तर निशानामा कांग्रेस परे । जंगलमा बसेका माओवादीलाई सिंहदरबारमा र नारायणहिटीमा बसेका राजालाई जंगललाई कांग्रेसले नै पु¥यायो । यो काम कांग्रेसले गर्न सक्दो रहेछ । द्वन्द्वको कुरा गर्दा गिरिजाबाबुको याद आउँछ । बरु म नरकमा जाउँला तर शान्ति बहाली नगरी छाड्दिनँ भनेर भन्नु भएको थियो उहाँले । बन्दुकमा विश्वास गर्नेलाई बाकसमा विश्वास गर्ने कांग्रेसले बनायो नि त । हामी हारेर केही हुन्न तर राज्यले हार्नुभएन भन्ने भयो । यसकारण कांग्रेस देशका लागि आवश्यक छ । संविधान पनि कांग्रेसकै नेतृत्वमा आयो । देशमा समस्याको समाधान कांगेस बिना असम्भव छ । कांग्रेस हारेर अरुले शासन गरे पनि कांग्रेस दुखी हुँदैन । प्रणाली बाँच्यो भने त्यो ठूलो कुरा हो । ओलीले संसद विघटन गरेपछि चुनावमा गएको भए कांग्रेसले नै चुनाव जित्थ्यो तर परम्परा गलत बस्थ्यो । आम नागरिक, बुद्धिजीवी, पेसाकर्मी, समाजसेवी, उद्योगपति र नागरिकको सुरक्षा प्राजातन्त्रमा हुन्छ तर प्रजातन्त्रको रक्षा कसले गर्न सक्छ भन्ने कुरा उहाँहरुले बुझ्न जरुरी छ । कम्युनिष्ट प्रजातन्त्रवादी होइनन् । तिनीहरुलाई प्रजातन्त्रको सबक सिकाउने काम कांग्रेसले गरेको छ । उनीहरुलाई आवधिक चुनावमा ल्यायो । प्रजातान्त्रिक प्रणालीलाई बचाउने एकमात्र शक्ति कांग्रेस हो । कांग्रेसलाई कमजोर बनाउँदा राष्ट्रियता र लोकतन्त्र कमजोर हुन्छ । प्रजातन्त्र पछि सञ्चारमा यत्रो परिवर्तन भयो । शिक्षामा पनि परिवर्तन भएको छ र स्वास्थ्यमा पनि परिवर्तन भएका छन् । विकास र प्रजातन्त्रको संवाहक कांग्रेस नै भएको हुनाले सबैले कांग्रेसलाई मलजल गर्नु आवश्यक छ ।

सामाजिक सेवामा लाग्ने प्रेरणा कसरी पाउनुभयो ?

मैले सुरुबाट नै जागिरप्रति कुनै दिन आशक्ति देखाइनँ । सारा जीवन सामाजिक सेवामा खर्चिएँ । अलिकति मेरो पारिवारिक पृष्ठभूमि पनि एकमाना खान लाउन पुग्ने परिवरको सदस्य भएका कारणले मलाई समाजसेवातिर नै लाग्ने प्रेरणा मिल्यो । मुख्य कुरा बुबाआमाकै प्रेरणाले समाजसेवामा लागेको हुँ । लत नै के बस्यो भने अर्काको सेवा गर्ने । आफूलाई होइन कि अरुलाई खुसी बनाउँदाको आनन्द बेग्लै हुन्छ । अर्कालाई दुख सास्ती नदिन विषय महत्वपूर्ण हो । अर्कालाई सेवा गर्नु नै धर्म हो भन्ने मान्यताले म समाजसेवातिर लागें । म सामाजिक काम गर्न असाध्यै मन पराउने व्यक्ति हो । अहिलेसम्म कसैलाई पिराइएको छैन, कसैको खाइएको छैन । यस्तो भएपछि मलाई डर पनि केहीको छैन भन्ने भावना आउँदो रहेछ । गल्ती गरियो, कसैलाई बिगारियो भने त्यो नै हामीलाई रोग हुन्छ । त्यसकारले मैले विगतमा फूलबारी क्लबको संस्थापक अध्यक्ष र यहाँका स्कुल र क्याम्पस व्यवस्थापन समितिमा अध्यक्ष बनेर पनि सेवा गरें । शिवशक्ति स्कुल र शिवशक्ति क्याम्पसलगायत विकासका लागि मैले काम गरेको छु ।

Related News

सम्बन्धित समाचार

hero news full width