अस्थिर नीतिले अटो क्षेत्र मारमा

आदर्श समाज सम्वाददाता
जेठ २९, २०७९
Dhurba Bahadur Thapa

ध्रुवबहादुर थापा, नाडा अध्यक्ष

व्यवसायी ध्रुवबहादुर थापा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष हुन् । १७ वर्षको उमेरमा नै पोखरामा एउटा सामान्य रिकण्डिसन हाउसबाट आफ्नो व्यवसाय सुरु गरेका उनको अहिले हिमालय अर्गनाइजेसनअन्तर्गत १५ भन्दा बढी कम्पनीमा अर्बौं रुपैयाँ लगानी छ । सुजुकी मोटरसाइकल, जापानी गाडी डाइहाट्सु, हुलास, मुस्ताङ हुँदै फोर्ड गाडीको सोरुमसम्म उनको संघर्ष जोडिएको छ । अटो इन्जिनियरिङमा पनि उनले हात हालेका छन् । काम र मेहेनतमा विश्वास गर्ने उनी व्यवसायमा जोखिम पनि लिन सक्नुपर्ने बताउँछन् । रियलस्टेट, बैंकिङ र पर्यटन क्षेत्रमा समेत लगानी विस्तार गरेका थापा लायन्स क्लबसँग पनि जोडिएका छन् । उनी पोखराको माउन्टेन ग्लोरी फरेस्ट रिसोर्ट एन्ड स्पाका निर्देशक पनि हुन् । व्यवसाय र समाजसेवालाई अगाडि बढाउँदै गर्दा उनले थुप्रै पुरस्कार र सम्मान पनि पाएका छन् । सरकारको अस्थिर नीतिले अटोमोबाइल क्षेत्र मारमा परेको बताउने थापासँग आदर्श समाज राष्ट्रिय दैनिकका रुपनारायण ढकालले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ :

कोभिड– १९ पछि अटोमोबाइल क्षेत्रको अवस्था कस्तो छ ?

कोभिड अगाडि र पछाडिको अटोमोबाइल क्षेत्रको कुरा गर्दा, कोभिड अगाडि यो राम्रै मुभमेन्टमा गएको अवस्था थियो । अटोमोबाइल क्षेत्रले वार्षिक रुपमा टर्नओभर पनि राम्रै गर्न थालेको थियो । कोभिडपछि केही ब्रेक लाग्यो । लकडाउनपछि यो क्षेत्रले राम्रै ग्रुमिङ गरेको अवस्था थियो । विस्तारै बजार सहज हुँदै गएको पनि थियो । कमर्सियल भेहिकलको व्यापार ठिकै थियो । निजी गाडी र मोटरसाइकलको व्यापार पनि राम्रो भएको थियो । तर पछिल्लो क्रममा कोभिडले भन्दा पनि बैंकहरुमा असहज परिस्थिति सिर्जना भयो, फाइनान्सियल क्राइसिस र लिक्युडिटी क्रन्च हुन थाल्यो, दसैंलगत्तै पछि, त्यसपछि भने अलि असहज समय सुरु भएको छ, अटोमोबाइल क्षेत्रमा । मुख्य कुरा बैंकको क्राइसिसले गर्दा पनि अवस्था अप्ठेरो परेको छ । नेपाल राष्ट्र बैंकले पनि अटोमोबाइललाई बढी टार्गेट गरेर पोलिसीहरु ल्याउन थाल्यो, सामानहरु आयातका लागि एलसी खोल्दा ५० देखि १ सय प्रतिशत सम्म कोल्याटरल राख्नुपर्ने अवस्था सिर्जना गरियो । यति गर्दा पनि फाट्टफुट्ट व्यवसाय चलिरहेको थियो तर पछि गएर एलसी खोल्न नै बन्द गरियो । समस्या परेपछि हामीले अर्थ मन्त्रालय र प्रधानमन्त्रीलगायत अन्य निकायमा भेटघाट गर्‍यौं । यसरी भेट्दा ‘हाम्रो मनसाय थिएन तर राष्ट्र बैंकले किन रोक्यो’ भन्ने कुरा उहाँहरुबाट आयो । गभर्नरले रोकेको हो भन्ने खालको कुरा आएपछि हामीले एलसीको व्यवस्था खुलाउनुपर्छ भनेर मिडिया लगायत क्षेत्रबाट दबाब दिन थाल्यौं । अटोमोबाइलको आयात बन्द गर्दा म्यासेज राम्रो गएको छैन भनेपछि कमर्सियल, इलेक्ट्रिक भेहिकल र टु ह्वील भेहिकलको आयात सुचारु हुन थालेको छ तर निजी सवारीसाधनको आयात अहिले पनि बन्द नै छ । त्यसैले अवस्था सहज छैन । झनै अप्ठेरो सिचुएसन छ । सवारीसाधनको बिक्री पनि उति राम्रो छैन । किनभने बैंकले फाइनान्स गर्न सकेका छैनन् । फाइनान्स नगरेपछि क्यास हालेर किन्ने त १० प्रतिशत पनि हुन्नन् । त्यसकारण सवारीसाधनको बिक्री न्यून छ अहिले ।

सरकारले हालै सार्वजनिक गरेको बजेटलाई नाडाले स्वागत गर्‍यो तर कतिपय नीतिको भने यहाँले आलोचना गर्दै हुनुहुन्छ ।

स्वागत र आलोचना दुवै छ यसमा । स्वागत यो मानेमा छ कि, बजेटले हाम्रा केही कुरा सम्बोधन गरेको छ । बजेटले नेपालमा नै सवारी साधनको एसेम्बल गर्ने कुरा गरेको छ । यो कुरालाई हामीले स्वागत गर्नुपर्छ । यो विषय हामीले विगतदेखि उठाउँदै आएका थियौं । यस्तो कुरा बजेटमा मात्र सम्बोधन भएर हुँदैन नीति नै बनेर आउनुपर्छ । किनभने आजको बजेटमा एउटा कुरा अनि अर्को बजेटमा त्यसलाई हटाएर अर्को नीति ल्याउने गरिएको हामीले पाएका छौं । यसरी भएन । उद्योग व्यवसाय गर्दा अरबौं रुपैयाँ लगानी गर्नुपरेको हुन्छ । लगानीको सुरक्षा हुनुपर्छ भन्ने हाम्रो कुरा हो । नीतिमा स्थिरता चाहिन्छ भन्ने कुरा हो । अर्को कुरा हामीले अपेक्षा नै नगरेको विद्युतीय सवारी र टु ह्वीलरमा अनपेक्षित कर बढाइँदा आम उपभोक्तालाई ठूलो मर्का पर्ने स्थिति देखिएको छ । हुन त सरकारले एउटा लेभलसम्मका सवारीमा हामीले कर बढाएका छैनौं भनेको छ । विगतदेखि नै सरकारले अटोमोबाइललाई एउटा विलासिता र अनुत्पादक क्षेत्र मान्दै आएकोमा यो बजेटमा के देखिएको छ भने एउटा लेभललाई कर नबढाइँदा अटोमोबाइल क्षेत्रलाई सरकारले आवश्यकताको वस्तुको रुपमा स्वीकार गरेको देखियो । नेपालको सडक र भूगोलअनुसार अहिले जुन क्याटोगोरीलाई तोकेर कर बढाइएको छैन, त्यसले मात्र सबै उपभोक्ताको आवश्यकता परिपूर्ति हुँदैन । यसको माने के हो भने १०० वाटको विद्युतीय सवारीले पहाडी क्षेत्र र रफ रोडको आवश्यकता पूर्ति हुन सक्ने अवस्था छैन । बजारमा एउटा सवारीसाधन र गाउँमा चलाउन अर्को किन्ने भन्ने कुरा पनि हुँदैन । यो कुरालाई विचार गरिएन । कम्तीमा २ सय किलोवाटसम्मको सवारीलाई समेटेर करको विषय उल्लेख गरिनुपथ्र्यो । मोटरसाइकलको कुरा गर्दा नेपाल पर्यटकीय क्षेत्र र एड्भेन्चर ट्रिपको लागि सम्भावना भएको ठाउँ हो । सरकारले २ सय सिसीभन्दा माथिका २ पांग्रेमा कर बढाएको छ । यो जरुरत थिएन । यो व्यवस्थाले त रोयल इन्फिल्डलगायत कतिपय कम्पनीका सवारीको त आयात नै बन्द हुनसक्छ । अलिकति विचार नपु¥याई करहरु लगाइएको पाइएको छ । यो करको कुरालाई पुनर्विचार गर्नुपर्छ भनेर हामीले आधिकारिक रुपमा धारणा व्यक्त गरिसकेका छौं ।

सवारी साधनको एसेम्बललाई प्रोत्साहन गर्ने बजेटको व्यवस्थालाई कसरी हेर्नुभएको छ ?

सवारी साधनको एसेम्बल नेपालमा नै गर्ने भन्ने विषयलाई बिस्तारै हामी पनि सहयोग गर्न तयार छौं । निजी क्षेत्र पनि सधैं आयात मुखी भएर भएन । सुरुमा त एसेम्बल नै गर्ने हो । विस्तारै उत्पादन पनि नेपालमा नै हुँदै जाला । अमेरिकाले पनि सुरुमा एसेम्बल नै गरेको हो । भारतमा पनि पहिला एसेम्बलबाट नै सुरुआत भएको हो । त्यसैले नेपालमा पनि एसेम्बलको कुराका लागि हामी तयार छौं । तर समस्या के भने विद्युतीय सवारी साधनमा २ वर्षको बीचमा ४ पटकसम्म नीतिमा तलमाथि भयो । यस्तो अस्थिर खालको नीति बनाइन्छ नेपालमा । उद्योग स्थापना गर्दा एउटा नीति र पछि अर्को गर्दा त उद्योग नै डुब्छ नि । कम्तीमा १० वर्ष अर्थात् दीर्घकालीन नीति बनेर आएमा हामी नेपालमै गाडी उत्पादन गर्न तयार छौं ।

लगानी र रोजगारीको क्षेत्रमा अटोमोबाइल क्षेत्रले कस्तो योगदान गरेको छ ?

अटोमोबाइल सेक्टरको कुरा गर्दा यो क्षेत्र नेपालमा सबैभन्दा बढी कर बुझाउने क्षेत्र हो । सरकारी तर्फबाट आयाल निगमपछि नाडाअन्तर्गतका व्यवसायी अर्थात् अटोमोबाइल सेक्टरले धेरै कर बुझाउने गरेको छ । डेढ खर्ब रुपैयाँ बराबरको प्रत्यक्ष राजस्व हामी सरकारलाई बुझाउँछौं । अप्रत्यक्ष रुपमा तिर्ने करहरु त अरु पनि छन् । यातायात व्यवसायीले तिर्ने करदेखि लिएर कर्मचारीले बुझाउने अन्तशुल्कलाई यसमा जोडेकै छैन । हामीले भन्सारमा बुझाउने राजस्वको मात्र कुरा गरेको छु मैले । सरकारले उठाउने करमध्ये २५ प्रतिशत त हामी योगदान गर्छौं । यस्तो व्यवसायलाई सरकारले उपेक्षा गरेको छ । जबकि सवारीसाधनको आयात बन्द गर्ने हो भने सरकारी कर्मचारीलाई तलब खुवाउने पैसा पनि नपुग्ने अवस्था आउँछ । आयातलाई प्रतिस्थापन गरेर नेपालमा नै उद्योग स्थापना गर्ने कुरा ठीक छ । आयात अहिले बन्द गरेर तुरुन्त नै उद्योग खोलिहाल्न त मिल्दैन नि । यसका लागि प्रक्रिया हुन्छन् । वर्षौ समय लाग्छ । रोजगारीकै कुरा गर्दा हामीले प्रत्यक्ष १ लाख जनाजतिलाई रोजगारी दिएका छौं । साढे ३ खर्ब रुपैयाँको लगानी यो क्षेत्रमा छ । यो क्षेत्रलाई सरकारले पनि हेर्नुपर्‍यो भन्ने हाम्रो कुरा हो । ढुवानी, निर्माणदेखि उत्पादनसम्म अटोमोबाइल क्षेत्रकै आवश्यकता पर्छ । अटोमोबाइलबिना जीवनको परिकल्पना नै गर्न सकिन्न । यसलाई पनि अनुत्पादक क्षेत्र र विलासिताको वस्तु जस्तो गरेर कर थोपर्नु भएन । यो क्षेत्रमा नेपालले लिएको कर भनेको अहिले संसारमा एउटा भारतीय, अमेरिकी वा चिनियाले तिर्ने करभन्दा ५ गुणा बढी हो । यति महँगो कर तिरेर नेपालीले सवारी साधन चढिरहेको अवस्था छ । यति हुँदाहुँदै पनि यो क्षेत्रलाई उपेक्षा गरिनु राम्रो भएन ।

कसैले १÷२ अर्ब रुपैयाँ लिएर निस्किए पनि बजारमा हाहाकारको अवस्था आउने खालको बजार भयो

तपाईं बैंकिङ क्षेत्रसँग पनि सम्बन्धित हुनुहुन्छ, अहिलेको तरलता अभावलाई कसरी मूल्यांकन गर्नुभएको छ ?

नेपालको अवस्था कस्तो भयो भने एउटा सानो हलचल आउने बित्तिकै त्यसले ठूलो असर पार्ने खालको सानो मार्केट देखियो । कसैले १/२ अर्ब रुपैयाँ लिएर निस्किए पनि बजारमा हाहाकारको अवस्था आउने खालको बजार भयो । कोभिडपछि पर्यटक नआएको अवस्थाले पनि तरलता अभाव भयो । यो अभावलाई मेन्टेन गर्न सकिन्छ तर त्यतातिर सरकारले ध्यान दिएको पाइँदैन । जस्तो अटोमोबाइलको आयात अहिले रोकियो । हामीसँग सरसल्लाह गरेको भए धेरै बाटाहरु थिए । यसले हामी व्यवसायीलाई पनि फाइदा हुन्थ्यो । सरकारलाई पनि विदेशी मुद्राको सञ्चिति कम हुँदैनथ्यो । यदि स्टेकहोल्डरसँग सल्लाह गरेको भए यसको निकासको उपाय थियो जसले गर्दा आयात रोक्नुपर्दैनथ्यो । आयात रोकिँदा विदेशमा नेपाल त डुब्न लाग्यो, नेपाल त श्रीलंकाजस्तो हुन लाग्यो भन्ने मिडियाले भनिराखेको अवस्था छ । यो राम्रो होइन । यसले भोलि ग्यारेन्टीका लागि नेपाली बैंकलाई विदेशी कम्पनीले नपत्याउने अवस्था आउन सक्छ । नेपालमा व्यापार नै नगर्नु भन्दा त बरु ६ महिनाका लागि उधारोमा नै सामान दिन तयार थिए विदेशी कम्पनीहरु । यसका लागि नेपाली बैंक ग्यारेन्टी बसेर रकम पछि तिर्ने गरी खोल्न मिल्ने युसान्स एलसी यहाँका बैंकले खोलिदिन सक्थे । यस्तो हुने बित्तिकै नेपाली व्यापार व्यवसायलाई ब्याज तिर्न नपर्दा नेपाली व्यवसायीलाई फाइदा हुन्थ्यो । समग्रमा देशलाई नै फाइदा हुन्थ्यो । संकटका बेला गाडी पठाइदिइरहुँ भन्ने हुन्थ्यो । दोस्रो कुरा विदेशी मुद्रा सञ्चितिमा पनि दबाब पर्ने थिएन । किन कि ६ महिनापछि रकम पठाउने हो । ६ महिनापछि एकैपटक पठाउँदा दबाब पर्ने भए कन्ट्रोल मेकानिजम बनाएर पालो पालो गरेर एलसी खोल्न लगाउँथ्यौं । अर्को मुख्य फाइदा के हुन्थ्यो भने सामान बेचेको पैसा विदेश तत्काल पठाउन नपर्दा यहीं अर्बौं पैसा व्यवस्था पनि हुन्थ्यो र तरलता संकट हटाउन सहयोगी हुन्थ्यो । किनकि गाडी आयात भइरहन्थ्यो । भन्सारको पैसा त हामी तिथ्र्यौं । सरकारलाई राजस्व पनि आइरहन्थ्यो । हामीसँग सल्लाह लिएको भए आयात नरोकिकन अगाडि बढ्न सकिन्थ्यो । सरकारले सहकार्य गरेन । आयात बन्द गर्नु समाधान त होइन नि । चुनावमा पैसा आउँछ कि भन्ने पनि थियो, त्यो भएन । सरकारी बजेट पनि खर्च गर्ने समय अन्त्य हुन लागिसक्यो । यसले अटोमोबाइलाई मात्र होइन सबैतिर चेन इफेक्ट परेको छ । तत्काल समाधान हुने अवस्था पनि देखिँदैन ।

घरजग्गा व्यवसायसँग पनि जोडिनुभएको छ, यो क्षेत्रको अवस्था कस्तो छ अहिले ?

जग्गा व्यवसाय पछिल्लो क्रममा अलिकति सहज हुन थालेजस्तो देखिन्थ्यो । फेरि अहिले क्राइसिस आयो । भयो के भने सरकारले नै प्लटिङ रोकेपछि र विभिन्न मापदण्ड लगाएपछि जग्गा व्यवासय लगभग ठप्पजस्तो भयो । केही समय अगाडि व्यवसायीले सरकारलाई के भने भने कि जग्गासम्बन्धी नीति ल्याउनुस् कि यसलाई खोल्नुस् भनेपछि प्लटिङ खुल्यो । तर अदालतले यसलाई पुन रोकिदियो । यसले गर्दा जग्गा व्यवसायलाई ठूलै असर परेको छ । लगभग मन्दीको अवस्थाबाट चलेको छ । गर्न त केही व्यवसायीले फाट्टफुट्ट रुपमा कारोबार गरेका छन् र हल्का चहलपहलजस्तो पनि देखिएको छ तर बजारमा जग्गालाई पनि पैसाकै अभाव छ । बैंकले लगानी गर्दैनन् । आफूसँग भएको पैसाले मात्र कारोबार चलाउनुपरेको अवस्था छ ।

पर्यटन क्षेत्र सबैभन्दा बढी मारमा परेको भनिन्छ, यो क्षेत्रको अवस्था कस्तो छ?

कोभिडले सबैभन्दा असर पारेको क्षेत्र भनेको पर्यटन क्षेत्र नै भयो । यो क्षेत्र ठप्पजस्तै भयो साढे दुई वर्ष । अहिले विस्तारै रिभाइभ हुँदै छ । अहिले सही ट्रयाकमा आउन थालेजस्तो देखिन्छ । पछिल्लो २ महिना होटलले पनि राम्रै गर्दै छन् । पर्यटन क्षेत्र सहज हुन त आउँदो सिजन कुर्नुपर्ने हुन्छ । त्यसमा राम्रो भए यो अगाडि बढ्न सहयोग पुग्ला । पर्यटन क्षेत्र नेपालको लागि एकदमै राम्रो विदेशी मुद्राको स्रोत हुन सक्छ । पोखराको कुरा गर्दा पोखराको अवस्था पनि त्यही नै हो । पोखरा त पर्यटनमा बढी निर्भर भएको क्षेत्र पनि भयो । यहाँ मेरो विचारमा अन्तर्राष्ट्रियस्तरका होटल तथा चेन होटलहरु खुल्नुपर्छ । २/४ वटा नेपाली ब्रान्डका मात्र भन्दा पनि अन्तर्राष्ट्रिय चेन होटल आइदिए पोखराको विकासका लागि एउटा कोसेढुंगे सावित हुन्छ । यसका लागि मैले पनि प्रयास गरेकै छु । अब पर्यटन क्षेत्र सहज होला कि भन्ने आशा जागेको छ ।

एउटा सामान्य रिकण्डिसन हाउस खोलेर सुरु भएको व्यवसायदेखि अहिलेसम्म आउँदा आफूलाई कसरी मूल्यांकन गर्नुभएको छ ?

सबैभन्दा ठूलो कुरा मिहिनेत हो । व्यवसायमा एउटा रिस्क लिन पनि सक्नुपर्छ । मैले रिसकण्डिसन गरिरहँदा पनि त्यो नेपालको पहिलो रिकन्डिसन हाउस हो । मैले रिस्क नै लिएको हो एउटा सोरुम खोलेर । सानो लगानीबाट सुरुआत गरेको हो मैले । मुख्य कुरा हामी धेरै नेपाली एकैपटक ठूलो भाग खोज्छौं । एकैपटक ठूलोमा जम्प गर्न खोज्छौं । साना तिनामा आँखा लगाउन खोज्दैनौं । जबकि विदेशमा त्यही काम ठूलो देखेर गर्छौ । नेपालमा त्यही काम गर्न लाज मान्छौं । मेहनत गरे यहीं हुन्छ भन्ने बुझ्दैनौं । मेहनत नै हो मुख्य कुरा हो । अलिकति रिस्क त व्यापार गर्दा लिनु पर्छ नै ।

Related News

सम्बन्धित समाचार

  • असुरक्षित टहरामा बस्न वाध्य सुरक्षाकर्मी

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    ढोरपाटन । खिया लागेका जस्तापाता, उप्किएका भित्ता, धमिराले छियाछिया भएका झ्याल ढोका । छानामा ढुंगाहरूले प्लास्टिक अठ्याइएको छ । यो…
  • गण्डकी सरकारले २०८१ मा ३ दिन बिदा दिने

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । गण्डकी प्रदेश सरकारले आउने वर्ष अर्थात् २०८१ सालमा ३ दिन बिदा दिने निर्णय गरेको छ । संघीय सरकारलेभन्दा…
  • किरिया बसेका दाजुभाइ परीक्षामा

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    स्याङ्जा। किरियामा बसेका २ दाजुभाइ एसइईमा सहभागी भएका छन् । पुतलीबजार नगरपालिका ४ स्थित सरस्वती मावि परीक्षा केन्द्रबाट संगम क्षत्री…
  • सुरु भयो एसइई, ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सामेल

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । माध्यमिक शिक्षा परीक्षा (एसइर्ई) बिहीबारदेखि सुरु भएको छ । चैत २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षाको…
  • बजेट अभावमा नगर अस्पतालको काम रोकियो   

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    दमौली । बजेट अभावका कारण तनहुँको भिमाद नगरपालिका–६ मा निर्माणाधीन भिमाद अस्पतालको भवन निर्माण रोकिएको छ । भिमाद प्राथमिक स्वास्थ्य…

hero news full width