८५ वटै पालिकाका प्रमुख उपप्रमुख पोखरामा

आदर्श समाज सम्वाददाता
जेठ २८, २०७९
training for local level representative 2

पोखरा । गण्डकी प्रदेशका स्थानीय सरकार प्रमुख र उपप्रमुख पोखरामा भेला भएका छन् । गण्डकी प्रदेश सरकारले नवनिर्वाचित प्रमुख उपप्रमुखलाई अभिमुखीकरण कार्यक्रम आयोजना गरेको हो ।

जनप्रतिनिधिले पालिकामा सम्पादन गर्ने कामबारे सहजीकरण गर्न कार्यक्रम गरिएको प्रदेश सरकारले जनाएको छ । शुक्रबार कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संघीयता संस्थागत गर्न यो कार्यकाल पूर्ण सफल बनाउन आग्रह गरे । ‘यो कार्यक्रमबाट सरकार सञ्चालन र स्रोत व्यवस्थापनमा स्पष्ट भएर जानुहुन्छ । कानुनी राज्यमा हामी छौं । जनताको चित्त बुझाउने र कानुनी दायराभित्र रहेर कार्यसम्पादन गर्नुछ । यो २ विषयको सन्तुलन मिलाउनु अहिलेको चुनौती हो,’ उनले भने, ‘यसका लागि हामीबीच समन्वय आवश्यक छ । कहिलेकाहीं समन्वय हुन सकेको छैन । अन्तरसम्बन्धको विकासबाट हामीले भनेको समृद्धि आउन सक्छ ।’

उनले प्रदेश सरकारले निर्माण गरेका कानुन कार्यान्वयन हुन नसकेको भन्दै उनले त्यसतर्फ स्थानीय सरकारको ध्यानाकर्षण गराए । मुख्यमन्त्री पोखरेलले पोखरासँग प्रदेशभित्रका सबै पालिकालाई नजिक जोड्ने अभियान सुरु गरिसकेको बताए । ‘समृद्ध गण्डकी प्रदेश निर्माण गर्ने सपना साकार पार्न पालिकालाई समृद्ध बनाउनुपर्छ । संघीयता त आयो तर वित्तीय संघीयता आएको छैन,’ उनले भने, ‘संघले पैसा दिन आनाकानी गरिरहेको छ । तर जति दिएको छ, यसलाई व्यवस्थापन गरेर हामी अघि बढ्नु छ ।’

नवनिर्वाचित प्रमुख उपप्रमुखलाई पालिकामा सम्पादन गर्ने कामबारे सहजीकरण गर्न पोखरामा अभिमुखीकरण कार्यक्रम गरिएको हो

प्रदेश नीति तथा योजना आयोग उपाध्यक्ष डा. रघुनाथ काफ्लेले जनताका अपेक्षा पूरा गर्न स्थानीय पालिका सबैभन्दा महत्वपूर्ण हुने भन्दै त्यसमा सचेत रहन आग्रह गरे । ‘तपाईंहरुले प्रवाह गर्ने सेवाको आधारमा सिंहदरबार र मुलुकको राज्य सत्ताको मूल्यांकन हुन्छ । जति इमानदार भएर सेवा दिनुहुन्छ, नागरिकले व्यवस्थाप्रति विश्वास राख्छन्,’ उनले भने, ‘अहिले नागरिकहरु निराश हुँदै गएका छन् । उत्साही हुने गरी काम गर्नुस् । उत्साहका साथ हामी हातेमालो गर्न तयार छौं ।’
मुख्य न्यायाधिवक्ता रोहितराज बास्तोलाले स्थानीय सरकारको कानुन निर्माणका लागि सहजीकरणमा प्रदेश सरकार तयार रहेको बताए । ‘सरोकार राख्ने कानुन हामी निर्माण गर्छौं । केही महिनाभित्रै ती पुस्तकहरु पठाउने छौं,’ उनले भने, ‘कानुनी हिसाबले कतै रोकिनुपर्दैन ।’

पोखरा महानगरका मेयर धनराज आचार्यले पालिकाबीचको सहकार्य अहिलेको अपरिहार्य रहेको बताए । ‘यहि हिसाबले पोखराको जनसंख्या बढ्दै गए हामी धान्न नसक्ने अवस्थामा पुग्छौं । त्यसैले पोखरालाई ग्रेटर पोखराको रुपमा विकास गर्नु छ,’ उनले भने, ‘हामीले पोखरासँग नजिक रहेको पालिकालाई स्याटलाइट सिटीको रुपमा विकास गर्ने योजना बनाएका छौं । अन्तरपालिकाबीच सहकार्य आवश्यक छ । सबैले त्यसै अनुसार गरौं ।’ स्थानीय सरकार जनताको नजिकको सरकार भएकोले माथिल्ला सरकारले सोहीअनुसार अधिकार विकेन्द्रित गर्नुपर्ने उनको सुझाव छ ।

प्रमुख सचिव रविलाल पन्थले स्थानीय तहका जनप्रतिनिधिले सम्पादन गर्नुपर्ने प्रमुख कामबारे सहजीकरणका लागि कार्यक्रम आयोजना गरिएको बताए । उनले प्रदेश सरकार स्थानीय तहसँगै रहेको भन्दै जनपक्षीय काम गर्न आग्रह गरे । अभिमुखीकरण २ दिन चल्नेछ ।

Related News

सम्बन्धित समाचार

hero news full width