ज्ञानकेन्द्र तनहुँद्वारा मौरीसहितको घार वितरण

आदर्श समाज सम्वाददाता
जेठ २५, २०७९
bee keeping

लेखनाथ । प्रधानमन्त्री कृषि आधुनिकीकरण कृषि ज्ञान केन्द्र तनहुँको सहयोगमा ब्लक विकास कार्यक्रमअन्तर्गत ५० प्रतिशत अनुदानमा ३१ किसानलाई मौरीसहितको घार मंगलबार वितरण गरिएको छ ।

शुक्लागण्डकी २ वडा कार्यालय कोत्रे तनहुँको संयोजनमा ‘एक घर एक मौरी घार’ अभियान सुरु गरी दोस्रो चरणमा मौरीसहितको घार वितरण गरिएको हो ।

कार्यक्रममा ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले किसानको घरमा एक घार भए पनि निर्वाहमुखी भएको भन्दै व्यावसायिक मौरी पालन गर्न सघाउ पुर्‍याउने योजनाका साथ तालिम दिएर मौरीसहितको घार वितरण गरिएको बताए । उनले व्यवस्थापनामा जोड दिनुपर्नेमा जोड दिए । मौरीपालनको लागि यो ठाउँ सुहाउँदो भएकोले ढुक्क भएर मौरीपालन गरी आयआर्जन गर्न आग्रह गरे ।

शुक्लागण्डकी २ का वडाध्यक्ष सुमन रानामगरले हरेक वर्ष फरक फरक किसानलाई मौरीसहितको घार वितरण गर्ने योजना रहेको उल्लेख गरे । तालिमसँगै घार, मह काढ्ने सीप र मह काढ्दा लगाउने पन्जा, पोसाक पनि वितरण गरिएको छ । तालिमपछि स्थानीयले पहिले घरमा भएको भन्दा थप मौरी घार राख्ने योजना बनाएमा वडा कार्यालयले सघाउने लक्ष्य राखेको छ । खेतीयोग्य जमिन र जंगल आसपासको गाउँहरु रहेकाले मौरीका लागि नयाँ पालुवा र फूलका रस सहजै पाउने हुँदा व्यवसायिकरुपमा लैजान सकिने वडाध्यक्ष मगरले सुनाए ।

ज्ञान केन्द्रका राजेश्वर सिलवाल, पञ्चामृत मौरी ब्लक समन्वय समितिका संयोजक नन्दराज थापा, सचिव सुरज वाग्लेले मौरीपालनलाई व्यावसायिक बनाउन सके आयआर्जन बढ्ने र आत्मनिर्भर बन्न सक्ने विश्वास व्यक्त गरे ।

मौरीपालनका लागि वडाका क्षेत्र कोत्रे, जुवादी, एकलेखेत, तार्कुडाँडा, भंगारा, मकनपुर, भुजीकोट र दगाउँलाई नगरपालिकाले अघिल्लो वर्ष नै मौरी पकेट क्षेत्र घोषणा गरी किसानलाई तालिमसमेत दिएको थियो ।

धेरै दुख र लगानी गर्नु नपर्ने वातावरण अनुकूल बनाउने कीराको रुपमा मौरी भएकाले पनि मौरीपालन व्यवसाय गर्न सजिलो रहेकाले किसानहरुको आकर्षण यसतर्फ बढिरहेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width