चुनावी परिणाम सन्तोषजनक : राप्रपा गण्डकी

आदर्श समाज सम्वाददाता
जेठ २५, २०७९
rpp

पोखरा । स्थानीय तह निर्वाचनमा राप्रपाले गण्डकीमा सन्तोषजनक नतिजा हात पारेको निष्कर्ष निकालेको छ । अघिल्लो चुनावको परिणाम तुलनामा यसपालिको स्थानीय तह चुनावमा दोब्बर प्रगति हासिल गरेको समीक्षा बैठकको निष्कर्ष छ ।

राप्रपा गण्डकी अध्यक्ष पञ्चराम गुरुङको अध्यक्षतामा बसेको बैठकमा केन्द्रीय उपाध्यक्ष तथा सचिवालय प्रमुख इञ्जिनियर हेमजंग गुरुङले निर्वाचनको परिणामभन्दा दोब्बर प्रगति हासिल गरेकोमा प्रदेशलाई धन्यवाद ज्ञापन गरे । उनले यत्तिमै सन्तुष्टी लिएर बस्न नहुने र आ–आफ्नो क्षेत्रबाट संगठन बिस्तार गरी सक्रियरुपमा अघि बढ्नुपर्ने बताए । उनले आगामी दिनमा संघ र प्रदेशको चुनावको तयारीमा प्रशिक्षण कार्यक्रम गर्ने बताए ।

पूर्वमन्त्री समेत रहेका केन्द्रीय सदस्य भीमप्रसाद गौचनले अन्य दलले पैसाको होडबाजीमा निर्वाचन जितेको विषय उजागर गर्दै राप्रपा भ्रष्टाचारको अन्त्य, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र संघीयता खारेज गरी सुशासनको पक्षधरमा अडान भएकोले इमानदारितापूर्वक अघि बढ्दै जाने बताए ।

पार्टीका प्रदेश २ अध्यक्ष भरत गिरी, केन्द्रीय सदस्य तथा पोखरा महानगरपालिकाका मेयरका उम्मेदवार शंकर खराल, पूर्व केन्द्रीय सदस्य बिन्दु पौडेल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

गण्डकीका ११ वटै जिल्लाबाट अध्यक्ष एवं प्रतिनिधिले निर्वाचनमा भएको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

गण्डकीमा राप्रपाले १२ वडा सदस्य गरी १३ सिट जितेको राप्रपा गण्डकी प्रवक्ता पार्वता पौडेलले जनाइन् । जसमा नवलपुरको त्रिवेणी गाउँपालिका वडा ७ मा अध्यक्षसहित प्यानल निर्वाचित भएको छ । गैडाकोट वडा १५ मा २ वडा सदस्य, पर्वतको महाशिला ४ मा १ वडा सदस्य, मुस्ताङको घरपझोङ २ मा २ वडा सदस्य, बागलुङमा २ र तनहुँको आँबुखैरेनीमा १ वडा सदस्य गरी १३ सिट जितेको हो । पार्टी उपाध्यक्ष चन्द्रावती पन्थले स्वागत मन्तव्य गरेको कार्यक्रमको संचालन सचिव बरुणविक्रम राणाले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width