संस्कृतिलाई पर्यटनसँग जोड्न सकेनौं : तीर्थ श्रेष्ठ

आदर्श समाज सम्वाददाता
जेठ २३, २०७९
Tirtha Shrestha (1)

पोखरा बागबजारका तीर्थ श्रेष्ठ साहित्य सिर्जना, समाजसेवा र संस्कृति संरक्षणको क्षेत्रमा उत्तिकै सक्रिय छन् । कविता, मुक्तक र गीतका विभिन्न ७ कृतिहरु उनले प्रकाशित गरिसकेका छन् । तरलतावादी आन्दोलनका प्रवर्तकमध्ये एक श्रेष्ठले प्रज्ञाप्रतिष्ठानको संस्थापक सदस्य सचिव भएर पनि काम गरे । पोखराको शैक्षिक तथा धार्मिक विकासमा उनको योगदान प्रशंसनीय छ । पोखरेली युवा सांस्कृतिक परिवारको अध्यक्षदेखि पोखरा उद्योग वाणिज्य संघमा समेत उनको संलग्नता रह्यो । पोखराको महेन्द्रपुलको पुनः निर्माणमा उनले सचिवको भूमिकामा काम गरे । पोखरा नगर पञ्चायतको उपप्रधानपञ्च र नेपाल विद्यार्थी संघ कास्कीको अध्यक्षसहित विभिन्न २० संस्थामा रहेर उनले सेवा गरे । उनले १४ वटा पुरस्कार तथा सम्मान पाइसकेका छन् । प्रखर वक्ता र सञ्चारकर्मीका लागि समाचारका स्रोतसमेत मानिने श्रेष्ठ घुम्न र साथीभाइसँग रंगिलो गफ गर्न उत्तिकै रमाउँछन् तर पछिल्लो समय स्वास्थ्यका कारण आफ्नै घरमा उनी बढी भेटिन्छन् । नेपालको विकासका लागि नेपालीले हिमाल चिन्न जरुरी भएको उनको मत छ । हिमाल प्रकृति र नेपाली संस्कृतिसँग जोडिएको भन्दै उनले हिमाल चिनेर पर्यटनका माध्यमबाट नेपाल समृद्ध बन्न सक्ने बताए । हिमालका विषयलाई केन्द्रित गरी संस्कृति, साहित्य र राजनीतिको पाटोलाई समेत समेटेर आदर्श समाजका रुपनारायण ढकालले श्रेष्ठसँग गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ :

हिमाल चिन्नुपर्छ भन्नुको आशय के हो ? हिमाल चिनेर नेपालीलाई के फाइदा हुन्छ?

नेपाल आफैंमा एउटा हिमाली मुलुक हो । मूलतः हिमालको उत्पतिसँगै नेपालको उत्पति भएको हो । टेथिस सागरमा चिनिया प्लेट र इन्डियन प्लेट ठोक्किन थालेपछि हिमालको उत्पति भएको देखिन्छ । हिमाल उठेसँगै पहाड उठ्यो । हिमनदीले थुपारेको पाँगो माटोले मधेश अर्थात् तराई बन्यो । अतः सिंगो नेपालको उत्पतिमा हिमाल महत्वपूर्ण कारक रहन पुग्यो । भूगोलविद्हरुले भन्ने कुरा पनि यही हो । हिमाललाई चिन्ने भनेको हिमालको उचाइ, हिमालले संसारमा बनाएको आकर्षण र नेपालको हावापानीमा हिमालको प्रभावलाई पनि चिन्ने हो । मनसुन आएर हिमालमा नठोक्किने हो भने सायद नेपालमा वर्षाको अभाव हुन्थ्यो । हिमाललाई चिन्ने भनेको के पनि हो भने वर्षाको कारकलाई चिन्ने हो । नेपालको आध्यात्मिक र यहाँको संस्कृतिलाई पनि चिन्ने हो । नेपालका धेरै आध्यात्मिक ऋषिमुनिहरु हिमालमा नै गएर तपस्या गरे । हाम्रा धेरै जनवीवनमा धेरै अलौकिक कुराहरु हिमालसँग जोडिन्छ । चाहे यती, मुनाल, डाँफे वा वनस्पति नै किन नहुन् । हिमालमा उद्गम भएका हिमनदीकै कारणले गर्दा हामीकहाँ पानीको अभाव हुँदैन । हिमाल स्वयं पानीको ठूलो भण्डार हो । हिमनदीले हाम्रा खेतखलियानहरु सिञ्चित छन् । यी हिमनदीबाट भोलि हामी समुद्रसम्म बाटो बनाउन सक्छौं । पारबहनको सबैभन्दा सबल र कम लागत लाग्ने माध्यम हाम्रा नदी बन्न सक्छन् । नेपालको पर्यटनको सबैभन्दा ठूलो आकर्षण पनि हिमाल हो । सँगसँगै भोलिको परराष्ट्र नीतिमा हिमाल पनि एउटा माध्यम बन्न सक्छ ।

हिमाल चिन्ने र चिनाउने काम कसरी गर्न सकिन्छ?

हिमालका सन्दर्भमा हामीकहाँ जेजति अध्यन, अध्यापन र जनतालाई सूसुचित गर्नुपर्ने हो त्यो भएको छैन । पोखरालाई पर्यटकीय नगर भनेर हामी हिँड्छौं, के हाम्रा केटाकेटी स्कुलब्याग बोकेर बाटोमा हिँड्दा एउटा पर्यटकले कुनै हिमालको नाम के हो भनेर सोधे उत्तर दिन सक्ने क्षमताका छन् ? विशेषतः होटल र पदयात्रा व्यवसायीलाई यहाँ देखिने हिमालको नाम, उचाइ र आरोहणको इतिहास थाहा छ ? हामीले कहिल्यै यस विषयमा पढाउने, जान्ने र सिक्ने कोसिस गरेका छौं ? के हामीले त्यसप्रकारले गाइडलाई प्रशिक्षित गरेका छौं ? वास्तवमा छैन । पोखराबाट कहाँ, कस्तो र कुन कुन हिमाल देखिन्छ भन्ने हामीसँग जानकारी छैन । ८ हजार मिटर अग्ला ३ वटा हिमाल यहाँ पोखराबाट देखिन्छ । ती कुन कुन प्वाइन्टबाट देखिन्छ त? हामीले ती ठाउँ पत्ता लगाएर पर्यटकलाई पठाउने व्यवस्था गर्न सकिन्छ । माछापुच्छ्रेका फरक फरक स्वरुप देखिने ठाउँमा पर्यटकलाई पुर्‍याउन सकिन्छ । त्यसैले तपाईंले हिमाललाई जान्नु नै भएको छैन, चिन्नु नै भएको छैन र हिमालको संरक्षण र्नै गर्नुभएको छैन भने त्यसबाट तपाईंले लाभ पनि लिन सक्नुहुन्न । हिमालको सम्पूर्ण महत्तालाई बुझ्न र बुझाउन सक्यौं र त्योसँग जोडिएर हुने पर्यटकीय तथा अन्तर्राष्ट्रिय कुटनीतिक गतिविधि अनि उत्पादन र सम्भावनाका कुरालाई जोडेर हेर्‍यौं भने हिमाल नेपालको प्रमुख स्रोत हो । नेपालको विकासका सन्दर्भमा सबैभन्दा महत्वपूर्ण कारक र महत्वपूर्ण स्रोतका रुपमा हिमाललाई परिचालित ग¥यौं भने नेपालको कायापलट हुन सक्छ । संसारले रकेट बनाउला तर पैसा खर्च गरेर हिमाल बनाउन सक्दैन ।

कहिलेकाहीं नेपालका हिमालको नामकरणको सन्दर्भ उठाउनुहुन्छ, यो विषय खासमा के हो?

नेपाल ६/७ हजार हिमशिखर भएको मुलुक हो । कति हिमालको अहिलेसम्म नामाकरण नै भएको छैन । ७ हजार मिटरभन्दा अग्ला ७२ हिमालको नामकरण भएको छैन । अन्नपूर्णमा नै ५ वटा चुलीको नामकरण नै भएको छैन । विश्व मानव समुदायका निम्ति महत्पूर्ण व्यक्तिका नाममा हामीले हिमालको नामकरण गर्न सक्यौं भने त्यसले पनि मानिसहरुलाई आकर्षण गर्न सकिन्छ । मैले त प्रस्ताव पनि गरेको र सार्वजनिक रुपमा पनि भन्दै आएको हो । मण्डेला, गान्धी, आइन्स्टाइन, जुनको तावेई र मौरिस हर्जोगको नाममा ती चुलीको नामकरण गर्न सकिन्छ । अन्नपूर्ण प्रथम हिमाल पहिला आरोहण गर्ने व्यक्ति मौरिस हर्जोग नै हुन् । संसारमा महिलाहरुले पहिलोपटक हिमाल चढेको भनेको गंगापूर्ण हो, यसलाई जुनको तावेईले चढिन् । त्यसैले विश्वसमुदायमा हिमालहरुको माध्यमबाट आफूलाई परिचित गराउनेमात्र होइन, ध्यानाकर्षण गराउने माध्यम बन्न सक्छ । हिमालको कुरा गर्दा संसारका ८ हजार मिटर अग्ला १४ मध्ये ८ वटा त हामीसँगै छन् ।

सगरमाथाभन्दा ३ वर्ष पहिला नै आरोहण गरिए पनि जेठो हिमाल मानिने अन्नपूर्णको चर्चा न्यून सुनिन्छ, पोखरालाई आधार मानी आरोहणका गतिविधि पनि भएको देखिँदैन, के भन्नुहुन्छ?

सन् १९५० जुन ३ तारिखमा ८ हजार मिटरभन्दा अग्लो हिमाल पहिलोपटक अन्नपूर्ण हिमाल चढिएको हो । केही वर्ष अघि पोखरामा अन्नपूर्ण आरोहण दिवस मनाउन हामीले नै सुरुआत गरेको हो । यसलाई निरन्तरता दिन सकेका छैनौं । यसका लागि अन्नपूर्ण संरक्षण आयोजना, अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय र नेपाल पर्वतारोहण संघ मिलेर संसारमै पहिलोपटक ८ हजार मिटर अग्लो हिमाल चढेको दिनलाई अन्तर्राष्ट्रिय पर्वतारोहण दिवसका रुपमा किन नमनाउने? त्यो पनि नसके अन्नपूर्ण दिवस त मनाउन सक्छौं नि । कतिसम्म भने अन्नपूर्ण हिमशृंखलामा रहेका कतिपय अन्य हिमालको चर्चा नै छैन, गंगापूर्णको समेत चर्चा छैन । नेपालको पर्यटन र पर्वतारोहणसँग जोडिएका निकाय मौन छन् । हाम्रा शेर्पा दाजूभाइहरुले जस्तै यताका गुरुङ, मगर दाजुभाइ दिदीबहिनीहरु हिमालसँगै जोडिएर बसेको पाउँदैनौं । त्यही भएर पनि पर्वतारोहण व्यवसायमा यताका मानिसको संलग्नता न्यून छ । गाइडहरु कम छन् हामीसँग । यो विषय गण्डकीका यसअघिका मुख्यमन्त्री र पर्यटन मन्त्रीलाई पनि मैले भनेको थिएँ मौखिक रुपमा । उनीहरुलाई पर्वतारोहण र पदयात्रासम्बन्धी गतिविधि बढाउन सक्छौं भनेर भनेको थिएँ । पर्वतारोहणसम्बन्धी गतिविधिले यस क्षेत्रलाई चर्चामा ल्याउँछ र यसका लागि ठूलो आर्थिक भार पनि पर्दैन ।

ग्लोबल वार्मिङका कारण हाम्रा हिमाल र हिमाली जनजीवन प्रभावित भएकोलाई कसरी हेर्नुभएको छ ?

हिमालमा सबैभन्दा ठूलो असर अहिले ग्लोबल वार्मिङका कारण भएको छ । दुई कुरामा हामी जोगिनुपर्ने अवस्था छ, हिमाली देश भएका नाताले । भूकम्पीय जोखिम बढी भएको देश नेपाल पनि हो । हिमाल बन्ने क्रममा दुई प्लेटका बीचमा भएको टकराबले त्यस्तो जोखिम छ । दोस्रो कुरा ग्लोबल वार्मिङका कारण संसार तात्ने र हिउँ पग्लँदा कतिपय जलविद्युत्का पावरहाउस जोखिममा छन् । बाढीको पनि जोखिम छ । यसबाट कसरी जोगिने भन्ने विषयमा पनि बहस जरुरी छ । कुरा के भने हाम्रा पुर्खाहरुले भूकम्प प्रतिरोध घर बनाउन जानिसकेका थिए । लिच्छवी कालमा बनेको चाँगुनायण मन्दिर १५/१६ सय वर्ष पुरानो होला तर महाभूकम्पले ढलाउन सकेन । त्यहाँ केही प्रविधि छ । चन्द्र शमशेरको पालामा बनेको बृटिस शैलीको हनुमान ढोकाको गद्दी बैठक भने ढल्न पुग्यो । पुरानो ढलेन तर सय वर्षको ढल्यो । हामीले स्थानीय, ज्ञान, सीप, प्रविधिलाई जीवनमा उतारेका छैनौं । आफ्नोलाई छ्या भनेका छौं र पराइले गरेको उन्नति प्रगतिलाई आहा भनेर स्वागत गर्ने गरेका छौं । हिमालबाट हुने सम्भावित क्षतिप्रति पनि हामी सचेत भएर अघि बढ्नु पर्छ ।

पर्यटनको पात्रोमा ट्हाेंटे, गाईजात्रा, दसैं छैनन् । बरु रोपाइँ जात्रा भनेर राखिएको छ । राखेकोमा चित्त दुखाइ होइन, महत्वपूर्ण छुटेकोमा चित्त दुखाइ हो

नेपाली संस्कृतिलाई पर्यटनसँग कसरी जोड्न सकिन्छ ?

संसारभर नै पर्यटनको दुई मुख्य आधार– प्रकृति र संस्कृति हुन् । नेपालको पर्यटन अहिले लँगडो भएर हिंडेको छ । किनभने संस्कृतिको आधारलाई जसरी समात्नपर्ने हो त्यसरी समात्न सकिएको छैन । हामीले हाम्रो परम्परागत संस्कृतिलाई पर्यटनसँग जोड्न सकेनौं । हामीले गन्धर्व दाजुभाइलाई एउटा गतिलो जीविकोपार्जनको अवसर दिन सक्थ्यौं उनीहरुको सारंगीको माध्यबाट । खानाकै कुरा गर्दा हामी त ठ्याक्कै पिजामा गयौं । बर्गरमा गयौं । हामीले हाम्रो खाना कसरी पस्कने । नेवारी खाजा होला, थकाली दालभात होला, यसलाई कसरी पस्कने भन्नु बुझ्नुपर्छ । थारुहरुको आफ्नो खाद्य संस्कृति छ । एउटा पर्यटक रेस्टुराँ वा होटल पस्दा उसलाई कुन नेपाली उत्पादनले स्वागत गर्ने भन्ने हाम्रो सोच हुनुपर्छ । नेपाली रक्सी नै ब्रान्डिङ गरेर दिन सक्ने पो हो कि । तर उत्पादन यहाँ भएको हुनुपर्छ । विदेशबाट उत्पादन भएका सामग्री ल्याएर स्वदेशमा पर्यटकलाई स्वागत गर्नुको खासै अर्थ छैन । हामीले पर्यटकको संख्यामात्र होइन गुणस्तर, वसाई अवधि र खर्चको विषयलाई सँगसँगै हेर्नुपर्छ । अतः भौतिक पूर्वाधारका काम त विस्तारै विकास हुँदै गएका छन् तर यहाँको संस्कृतिलाई कसरी देखाउन सक्छौं भन्ने सोच्नुपर्‍यो । हाम्रो पर्यटनको पात्रोमा ट्हाेंटे, गाईजात्रा, दसैं छैनन् । बरु रोपाइँ जात्रा भनेर राखिएको छ । राखेकोमा चित्त दुखाइ होइन, महत्वपूर्ण छुटेकोमा चित्त दुखाइ हो । त्यस्तै पर्यटनको एउटा महत्वपूर्ण पक्ष धार्मिक पर्यटन हो । संसारमा पर्यटनको आधार नै धर्मबाट सुरु भएको हो ।

पोखराको नेवारी संस्कृतिलाई कुन रुपमा बुझ्न सकिन्छ ?

पोखराको नेवारी संस्कृतिको तीनवटा मूल स्वरुप हुन् । गाईजात्रामा नचाइने तायामचा नाच, नेवार बस्ती जहाँ जहाँ छ त्यहाँ नेवार हटिया भएको ठाउँमा नचाइने लाखे नाच र शास्त्रीय संगीतमा आधारित गणनृत्य हो । यसलाई १२ भैरव नाच भनेर प्रचलित गराइएको छ यहाँ । कतिपय ठाउँमा रोपाइँ जात्रा पनि देख्न सकिन्छ । देउरालीको हटियामा रोपाइँ जात्रा पनि चलाउँछन् । नेवारी भाषा र धिमे बाजाका प्रशिक्षण चलेका छन् । खिं अर्थात् मृदङ्ग बाजा बजाउने प्रशिक्षण चलेका छन् । कुमारी नाचका प्रशिक्षण चलेका छन् । यस्तो क्रम बढेको छ तर यसलाई हामीले पर्यटनसँग जोड्न सकेका छैनौं । म आफैं पनि नेवा खलः कास्कीको उपाध्यक्षका रुपमा कार्यरत छु । हामीले नेवारी सांस्कृतिक संग्रहालय बनाउन खोजेका छौं । पोखरा यस्तो गज्जब ठाउँ हो । पोखरा सांस्कृतिक इन्द्रधनुष विद्यमान भएको ठाउँ हो ।

फरक प्रसंगमा जाऊँ, नेपाली साहित्यको मूल समस्या के देख्नुहुन्छ ?

नेपाली साहित्य सारै प्रशंसनीय अवस्थामा पुगेको पनि छैन र साह्रै कमजोर अवस्थामा पनि छैन । सरकार र एकेडेमीहरुले लेखकहरुको जीवन रक्षामा ध्यान दिन सकेका छैनन् । हामीकोमा कापीकलम लिएर बसेपछि लेखिन्छ भन्ने एउटा भ्रम छ नि, यो भयानक डरलाग्दो भ्रम हो । लेख्नका लागि घुम्नुपर्छ, मानिससँग भेट्नुपर्छ, पढ्नुपर्छ, चिन्तन गर्नुपर्छ । जीवनका विविध आयामहरुलाई आफैंले जीवनन्त रुपले स्पर्श नगरी लेख्न सकिँदैन । एउटा उपन्यास अनुसन्धान गरेर लेख्ने हो भने १० लाख रुपैयाँभन्दा बढी खर्च हुन्छ । त्यसबाट आम्दानी त्यति हुन्छ कि हुन्न भनेर सोच्नुपर्ने अवस्था छ । यस्ता कुरामा राज्यले कसरी सहजीकरण गर्ने भन्ने ध्यान पुगेको छैन । भएको प्रतिलिपि अधिकारी ऐन पनि कमजोर र लेखकहरुको सुरक्षा गर्न सक्ने खालको छैन । हाम्रा एकेडेमीहरु यस्तो कमजोर अवस्थामा छन्, म आफैं पनि एकेडेमीमा बसेर केही समय काम गरें । एकेडेमीका पनि आफ्नै पीडाहरु छन् । त्यहाँ जाने पनि अधिकांश राजनीतिक दलको पुच्छर समातेर वैतरणी पार गरेजस्तो ठानेर गएका छन् । उसको क्षमता र प्राज्ञिक रुपमा दिन सक्ने योगदानका आधारमा भन्दा पार्टीको आबद्धताका आधारमा उसलाई नियुक्ति गरिन्छ । पूर्ण रुपमा राजनीतिक नियुक्तिजस्तो भयो प्राज्ञिक नियुक्ति पनि । प्रतिष्ठान पनि सोचेजस्तो बनाउन सकिएको छैन । निजी क्षेत्रले पनि संगीत र खेलकुदमा बढी लगानी गरेको छ । साहित्यको क्षेत्रमा तुलनात्मक रुपमा नगण्य छ लगानी । साहित्यमा सरकार र निजी क्षेत्रको भूमिका न्यून रह्यो । पठन संस्कृतिको भूमिका अभिवृद्धिमा पनि राज्यको भूमिका देखिएन । लेखक साहित्यकारलाई दुई महिना घुम्ने व्यवस्था त गर्न सकिन्छ नि अनुसन्धानका लागि । सबैलाई नगरे पनि । उसलाई एक प्रकारले लेखनवृत्ति दिन सकिन्छ । हाम्रोमा साहित्यिक पत्रकारिता पनि सबैभन्दा निम्छरो अवस्थामा पुगेको छ । पोखराको कुरा गर्दा यो साह्रै धेरै साहित्यिक गतिविधि हुने स्थलका रुपमा स्थापित छ । यहाँ प्रदेश र महानगरस्तरका दुई एकेडेमी पनि बने, प्रदेश स्तरसम्म त ठिकै हो तर नगरस्तरमा प्रतिष्ठान आवश्यक होइन कि । पोखरा प्राज्ञ प्रतिष्ठानले गर्ने भन्दा धेरै काम गर्ने त प्राज्ञिक प्रतिष्ठानहरु नै छन् यहाँ । तिनलाई सिधै रकम दिन सकिन्छ । गण्डकी प्रज्ञा प्रतिष्ठानमा पनि सुरुमै आवेदन दिएर प्राज्ञ हुनुपर्ने अप्राज्ञिक कर्मबाट यो सुरु भयो । यो अत्यन्त दुखदायी हो । यद्यपि यस प्रतिष्ठानले क्रियाशीलता देखाएको छ, यसलाई भने सम्मान गरिनुपर्छ ।

हाम्रो राजनीतिलाई कसरी हेर्नुभएको छ, हालै चुनावमा स्वतन्त्र उम्मेदवार पनि हाबी देखिए ।

हाम्रो राजनीति खासमा राजनीति भन्ने शब्दले जे अर्थ बोक्छ त्यो अनुरुप भएन । आम मानिसले राजनीति भन्न साथ फट्याँइ, छुल्याँइ र धुत्र्याइँको रुपमा बुझ्न थाले । यो राजनीतिको दुर्दशा हो । राजनीतमा संलग्न हुन चाहना राख्ने व्यक्तिहरुमा आदर्शको भावना भन्दा स्वार्थको भावना प्राधानता देखिन्छ । ठूलो निराशा के आयो भने पैसा नभए राजनीति गर्न सकिन्न भन्ने भयो । यस्तो निरासा चिर्न केही स्वतन्त्र अनुहारहरु यसपटक निर्वाचनमा देखा परे । राजनीतिक दलले जनतालाई हेप्दाको परिणामस्वरुप स्वतन्त्र उम्मेदवार अघि आए । पोखराको सन्दर्भमा मेयरले धेरै सन्तुलन मिलाएर जानुपर्ने अवस्था छ । एक हिसाबले त सन्तुलन मिलेको पनि छ । घोषणापत्रमा नगरको सरसफाई सबै दलले प्राथमिकतामा नै राखेका होलान् । बाटो र पानीका कुरा प्राथमिकतामै होलान् । यस्ता कुरामा सँगै अगाडि मिलेर जानु पर्छ नै । अर्को कुरा गठबन्धन बाध्यताले जन्मिएको अवस्था पनि रह्यो तर यो राम्रो संस्कृति राम्रो भने होइन । यो सैद्धान्तिकभन्दा पनि स्वार्थमा आधारित छ । यसको महान् प्रणेता त वास्तवमा केपी शर्मा ओली नै हुन् ।

तीर्थ श्रेष्ठ
जन्मः २०१६ कात्तिक १६ गते सोमबार
माताः स्व.योगमाया श्रेष्ठ
पिताः स्व.धर्मप्रसाद श्रेष्ठ

प्रकाशित कृतिहरुः
१) तीर्थ श्रेष्ठका कविताहरु
२) जिन्दगीको कुरुक्षेत्रबाट
३) पाइलाका नीवहरुले (संयुक्त कविता संग्रह/मन्जुल र कुमार आलेसँग)
४) महाभारतका गीतहरू (मुक्तक संग्रह )
५) मेरै हिमाल जस्तो (गीत संग्रह )
६) जिन्दगीको गोधूलीमा(मुक्तक संग्रह )
७) धर्सैधर्साको चक्रव्यूहमा (कविता संग्रह )

संलग्नता :
१) नेपाल संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानको संस्थापक सदस्य सचिव
२) तरलवादी आन्दोलनको प्रवर्तकमध्ये एक
३) पोखरेली युवा सांस्कृतिक परिवारको पूर्व अध्यक्ष
४) पोखरा बहुमुखी क्याम्पसको संस्थापक सदस्य÷पूर्व अध्यक्ष
५) कन्या क्याम्पस पोखराको संस्थापक सदस्य
६) विन्दुवासिनी संस्कृत विद्यापीठको संस्थापक उपाध्यक्ष
७) पोखरा नगर पञ्चायतको उप– प्रधानपञ्च (२०४४–४६)
८) नेपाल विद्यार्थी संघ कास्कीको अध्यक्ष ( २०३६–३७)
९) महेन्द्रपुल पुनर्निर्माण समितिको सचिव
१०) पोखरा उद्योग वाणिज्य संघको कार्यसमिति सदस्य (२०३९–२०४५)
११) विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको सचिव
१२) भैरव सांस्कृतिक संरक्षण समितिको सल्लाहकार
१४) नेपाली लेखक संघको केन्द्रीय अध्यक्ष
१५) संगीत प्रशिक्षण केन्द्र पोखराको सल्लाहकार
१६) नेवा खलः कास्कीको उपाध्यक्ष
१७) क्षेत्रीय न्यायिक समितिको पूर्व सदस्य
१८) संस्कृत माध्यमिक विद्यालयको व्यवस्थापन समितिको पूर्व अध्यक्ष
१९) सिर्जनशील कलाकार समूहको सल्लाहकार
२०) अन्नपूर्ण सेंन्चुरी पर्यटन व्यवसायी समितिको पूर्व सल्लाहकार

पुरस्कार/सम्मान :
१) राष्ट्रिय प्रतिभा पुरस्कार
२) मोती युवा पुरस्कार
३) शिरोमणि पुरस्कार
४) वासुशशी स्मृति पुरस्कार
५) पहलमान सिंह स्वांर स्मृति प्रतिभा पुरस्कार
६) भूपी स्मृति साहित्य पुरस्कार
७) प्रबल जनसेवा श्री पदक
८) गद्दी आरोहण रजत महोत्सव पदक
९) तत्कालीन पोखरा उपमहानगर नगरपालिकाबाट अभिनन्दित
१०) पोखरा महानगरपालिकाबाट अभिनन्दित
११) हिमाली सांस्कृतिक परिवारबाट अभिनन्दित
१२) लायन्स शताब्दी सम्मानबाट सम्मानित
१३.सुदुर पश्चिमाञ्चल साहित्य समाजबाट सम्मानित
१४. कविडाँडा राष्ट्रिय सुवर्ण–तुलसी काव्य पुरस्कार –२०७९

Related News

सम्बन्धित समाचार

  • अपहरण शैलीमा ल्याइएको रविको गुनासो

    विजय नेपाल मंसिर २३, २०८१
    पोखरा । अनुसन्धानका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई प्रहरीले विभिन्न शारीरिक तथा मानसिक यातना दिएको भन्दै उजुरी परेपछि…
  • पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    पोखरा । पोखरा हार्डवयर एसोसिएसन, कास्कीको शनिबार सम्पन्न ३१ औं साधारणसभा तथा १६ औं अधिवेशनबाट अर्जुनबहादुर थापा अध्यक्षमा निर्वाचित भएका…
  • आदर्श कपमा आयोजकको विजयी सुरुआत

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    लेखनाथ । आदर्श युवा क्लबको आयोजनामा शनिबारदेखि २५ औं आदर्श कप फुटबल प्रतियोगिता सुरु भएको छ । २२–२९ मंसिरसम्म लेखनाथ…
  • ‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे

    रासस मंसिर २१, २०८१
    गण्डकी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यात्रु बोक्ने ‘राइड सेयरिङ’ कम्पनीलाई वैधानिकता दिने बताएका छन् । प्रदेश नीति…
  • प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन), कास्कीको आयोजनामा १८ औं प्याब्सन स्पोर्टस् मिट–२०८१ जारी छ । पोखरा रंगशालामा…

hero news full width