अन्नपूर्ण आरोहण दिवस : पदयात्रा पर्यटनमा लेस्पारको महत्व

आदर्श समाज सम्वाददाता
जेठ २२, २०७९
taan

पोखरा । अन्नपूर्ण आरोहण दिवस अवसरमा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघद्वारा आयोजित कार्यक्रममा पर्वतको लेस्पारलाई पदयात्रा पर्यटनसँग जोड्नुपर्ने आवश्यकता औंल्याइएको छ ।

संघद्वारा पर्वतको मोदी ४ स्थित लेस्पारमा आयोजित कार्यक्रमका वक्ताले धेरै सम्भावना भएर पनि ओझेलमा परेको लेस्पार पदयात्रा पर्यटनका दृष्टिले आकर्षक गन्तव्य भएको भन्दै यसको प्रवद्र्धन आवश्यक भएको बताए ।

मोदी गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्माले लेस्पार पदयात्रा पर्यटनका दृष्टिले धेरै सम्भावना भएको बताइन् । उनले यसको प्रवद्र्धन र विकासमा सबैको साथ र सहयोग आवश्यक हुने बताइन् । गाउँपालिकाले यहाँको विकासलाई प्राथमिकतामा राखेको उनको भनाइ छ ।

टान पश्चिमाञ्चल क्षेत्रीय संघ अध्यक्ष सुशीलराज पौडेलले लेस्पारको पर्यटकीय सम्भावनालाई उजागर गर्न यस वर्षको अन्नपूर्ण आरोहण दिवस सो गाउँमा मनाइएको बताए ।

पदयात्रा पर्यटनसँग गाउँ जोड्न सके स्थानीयको आर्थिक समृद्धि बढ्ने बताउँदै उनले स्थानीयलाई उत्पादनसँग पनि जोड्नुपर्ने उल्लेख गरे । पर्यटन कार्यालय पोखराका प्रमुख थमनसिंह गौतमले पर्यटन प्रवद्र्धनसँगै स्थानीयलाई उत्पादनसँग जोड्दै रोजगारी अभिवृद्धि गर्नुपर्नेमा जोड दिए ।

संघका पूर्व अध्यक्ष रामचन्द्र शर्माले पदयात्रामार्गसँग जोडिएको लेस्पारले धेरै सम्भावना बोकेको बताए ।

कार्यक्रम संयोजक एवं टान पश्चिमाञ्चल क्षेत्रीय संघका द्वितीय उपाध्यक्ष कृष्णप्रसाद आचार्यले लेस्पारको पर्यटकीय सम्भावनाको प्रवद्र्धनका लागि ‘अन्नपूर्ण डे’ सोही ठाउँमा मनाइएको बताए ।

कार्यक्रम संचालन संघ सहसचिव रेशम अधिकारीले गरेका थिए । सो अवसरमा लेस्पार सामुदायिक होमस्टेका सचिव नरसिंह पुन, समाजसेवी टीका पुनलगायतले लेस्पारको पर्यटकीय सम्भावनाबारे चर्चा गर्दै यसलाई पदयात्रासँग जोड्नुपर्ने बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width