अन्तरविद्यालय क्रिकेट सुरु

आदर्श समाज सम्वाददाता
जेठ २२, २०७९
cricket

पोखरा । पोखरा क्रिकेट एकेडमीको आयोजना तथा मेरोलिवोन क्रिकेट क्लव फाउण्डेशन युके र किडासा युकेको प्राविधिक सहयोगमा पोखरामा शनिबारदेखि ब्रेकिङ बाउन्ड्रिज एमसिसी अन्तरविद्यालय छात्रछात्रा क्रिकेट प्रतियोगिता सुरु भएको छ ।

अमरसिंह खेल मैदानमा सुरु प्रतियोगिताको किडासाका नेपालका लागि डेपुटी देशीय प्रतिनिधि हितमान गुरुङले उद्घाटन गरे । उनले विद्यालय खेलकुद प्रारम्भको जग भएको बताउँदै घर बलियो बनाउन जग बलियो हुनुपर्नेमा जोड दिए ।

सन्दीप लामिछानेले क्रिकेट खेलबाटै नेपाललाई अन्तर्राष्ट्रियजगतमा चिनाएको प्रसँग जोड्दै यस्तै प्रतियोगितालाई निरन्तर दिन सकिए नेपालबाट अन्य सन्दीपहरु उत्पादन हुने बताए ।

पोखरा क्रिकेट एकेडेमीका अध्यक्ष वविन कुँवरले क्रिकेट विकासका लागि हातेमालो गर्ने संस्थाहरुप्रति कृतज्ञता जाहेर गरे । पोखरामा युवा खेलाडी उत्पादनका लागि विद्यालयस्तरीय क्रिकेटका प्रतियोगिता सञ्चालन गरिनुपर्नेमा उनले जोड दिए ।

उद्घाटन खेलमा अमरसिंह माविले गगन सेकेन्डरी स्कुललाई पराजित गरेको छ । सो खेलमा ३८ बलमा १ सय २० रन बनाएका अमरसिंहका सुदीप भट्टराई म्यान अफ द म्याच भए । अर्को खेलमा त्रिभुवन माविले जनप्रकाशलाई पराजित गर्दा ३ ओभरमा ३ विकेट लिएका त्रिभुवन माविका आशीष नेपाली म्यान अफ द म्याच भए । प्रतियोगितामा छात्रछात्रातर्फ १४/१४ टिमको सहभागिता छ ।

Related News

सम्बन्धित समाचार

hero news full width