यार्चागुम्बा खोज्नेहरुले देखेका थिए विमान दुर्घटना

प्रकाश ढकाल
जेठ १७, २०७९
air crash s

पोखरा । आइतबार बिहान पोखराबाट जोमसोमका लागि उडेर सम्पर्कविहीन भएको तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका २, कोवाङको सानसरेमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । दुर्घटनामा चालक दलका ३ सदस्यसहित २२ जनाको मृत्यु भएको एयरलाइन्सले पुष्टी गरेको छ ।

पोखरादेखि मुस्ताङका लागि तारा एयरको ट्विन् ९एनएइटी विमान आइतबार बिहान ९ बजेर ५५ मिनेटमा उडेको थियो । १० बजेर ७ मिनेटपछि जहाज सम्पर्कविहीन भएको हो । बाक्लो हुस्सु र कुहिरोका कारण जहाज खोजी गर्न समस्या भएकोमा २१ घण्टापछि सोमबार बिहानमात्र फेला परेको थियो । त्यसअघि आशंकाको भरमा धेरैतिर खोजी गरे पनि पत्ता लागेको थिएन । यार्चागुम्बा खोज्न लेकतिर गएका बागलुङका केही ब्यक्तिहरुले विमान दुर्घटना भएको देखेपछि गाउँमा खबर गरेका थिए । गाउँलेले प्रहरीलाई भनेपछि आर्मीसहितको सुरक्षा टोली घटनास्थलतर्फ गएको हो ।

दुर्घटनामा २२ जनाको मृत्यु भएको र सबैको शव फेला परेको तारा एयरले विज्ञप्तिमार्फत जानकारी दिएको छ । १० जनाको शव नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं लगिएको छ । बाँकी ११ शव दुर्घटनास्थलमै रहेको नेपाली सेनाको मध्यकमाण्ड हेडक्वार्टर विजयपुरका जनसम्पर्क प्रमुख प्रेम पौडेलले जानकारी दिए । ‘मौसम खराब भयो । सबै शव आजै (सोमबार) लैजाने भनेका थियौं तर हुस्सु र बादल लागेपछि हेलिकोप्टर उड्न सकेन,’ उनले भने, ‘आधार शिविरमा जम्मा गरिएको १० वटा शवमात्रै काठमाडौं लगियो । अरु मंगलबार लगिनेछ ।’

शव भेटिए पनि अधिकांशको पहिचान हुने अवस्थामा नरहेको पौडेलले बताए । ‘पहिचानका लागि डिएनए नै परीक्षण गर्नुपर्छ,’ उनले भने, ‘अस्पतालले निर्णय नदिंदासम्म केही भन्न सकिने अवस्था छैन ।’ काठमाडौं लगिएको शव त्रिवि शिक्षण अस्पतालस्थित फरेन्सिक मेडिसिन विभागमा पोस्टमार्टमको लागि लगिएको छ । संकलित शवको पोस्टमार्टम गरिसकेपछि परिवारलाई बुझाइने तारा एयरले जनाएको छ ।

जहाजका यात्रु सबैजसो पारिवारिक

जहाज दुर्घटनामा परी ज्यान गुमाएका अधिकांश परिवारसहित घुम्न मुस्ताङ जाँदै थिए । जसमा धनुषाका एकै परिवारभित्रका आफन्तसमेत गरी ७ जनाको मृत्यु भएको छ । त्यस्तै गोरखाका एकै घरका ४ जनाको समेत दुर्घटनामा मृत्यु भएको छ । भारतका ४ जना र जर्मनीका २ जनाको पनि दुर्घटनामा परी मृत्यु भएको छ । भारतीय ४ जना पनि एकै परिवारका हुन् । केही समयअघि मात्रै सम्बन्ध विच्छेद भएका अशोककुमार त्रिपाठी र उनकी श्रीमति वैभवी बन्देकर, छोरा धनुष र छोरी ऋतिका १० दिनका लागि नेपाल भ्रमणमा आएका हुन् । त्रिपाठी र बन्देकरको केही दिनअघि मात्रै सम्बन्ध विच्छेद भएको बताइएको छ ।

सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिका २, कोवाङको सानसरेमा दुर्घटनाग्रस्त अवस्थामा जहाज फेला परेको हो

यता, धनुषाको मिथिला नगरपालिका ११ लोटा गाउँका एकै परिवारका ७ जना छन् । राजनकुमार गोले, उनका बुबा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङ रहेको परिवारजनले पुष्टि गरेको छ ।

यस्तै, गोरखाका पनि एकै परिवारका ४ जना दुर्घटनामा परेका छन् । सहिद लखन गाउँपालिका तीनमानेका गणेश नारायण श्रेष्ठ, उनकी श्रीमती रविना र छोरीहरु रश्मी र रोजिना हुन् । दुवै छोरीहरु केही समयअघि अमेरिकाबाट नेपाल आएका थिए । बाँकी ३ जना उडान कर्मचारी र २ जना जर्मन नागरिक हुन् ।

जाँचबुझका लागि ५ सदस्यीय समिति

विमान दुर्घटनाको कारण खोजी गर्न सरकारले पाँच सदस्यीय समिति गठन गरेको छ । वरिष्ठ एरोनटिकल इ.रतिश चन्द्रलाल सुमनको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको हो । समिति सदस्यमा क्याप्टेन दीपुराज ज्वारचन, वरिष्ठ मेन्टिनेन्स इ. उपेन्द्रलाल श्रेष्ठ, वरिष्ठ मौसमविद् मणिरत्न शाक्य र सहसचिव वुद्धिसागर लामिछाने छन् । एयरलाइन्सका अनुसार उक्त ट्वीनअटर विमान १४ हजार ५ सय फिट उचाइमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width