‘गणतन्त्र दिवसले समृद्ध नेपाल बनाउन झक्झकाउँछ’

आदर्श समाज सम्वाददाता
जेठ १६, २०७९
Ganatantra Photo

पोखरा । जेठ १५ गते अर्थात् गणतन्त्र दिवस । राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन । जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको घोषणा गरिएको थियो । हजारौंको बलिदान, लाखौं नागरिक सडकमा उत्रिएर ल्याएको गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइएको थियो । त्यही सन्दर्भमा गण्डकी प्रदेश सरकारले पनि गणतन्त्र दिवस विविध कार्यक्रम गरी मनाएको छ । प्रदेशले पोखराको सहिद चोकस्थित पार्कमा माल्यार्पण गरी विभिन्न झाँकीसहितको र्‍याली आयोजना गरेको थियो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीसहितको र्‍याली शहिदचोकबाट सुरु भएर मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पुगेर औपचारिक कार्यक्रममा परिणत भएको थियो ।

औपचारिक कार्यक्रममा गण्डकी प्रदेशका प्रमुख उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा प्रदेश सरकारले आर्थिक वर्ष २०७७/०७८ र २०७८/७९ मा उत्कृष्ट छनोट गरेका कार्यालय तथा कर्मचारीलाई प्रमाणपत्र वितरण गरेको थियो ।
कार्यक्रममा उपस्थितहरुले व्यवस्था परिवर्तनसँगै नागरिकको जीवनस्तर परिवर्तन हुनुपर्नेमा जोड दिइएका थिए । नेपाली जनताको लामो संघर्षको उपलब्धिस्वरुप प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास हुन आवश्यक रहेको बताउँदै कार्यक्रमका वक्ताले व्यवस्थासँगै नागरिको आर्थिक एवं सामाजिक विकास भएमा मात्र त्यसले सार्थकता पाउने बताएका थिए ।

कार्यक्रममा गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले संघीय लोकतान्त्रिक गणतन्त्र शासन प्रणालीका रुपमा मात्र नभई नागरिकको जीवनपद्धति र शैलीका रुपमा स्थापित गर्नसके नागरिकले लोकतन्त्रको सुखद् अनुभूति गर्न पाउने बताए । गणतन्त्र नेपाल घोषणा भएपछि नेपाली जनताले अपेक्षा गरेका चाहनाहरु आंशिकरुपमा सम्बोधन भए पनि त्यो पूर्ण हुन नसकेको उनको भनाइ थियो । जबसम्म राजनीतिक परिवर्तनले जनताको दैनिक जीवन र राष्ट्रको समृद्धिमा प्रत्यक्ष प्रभाव पार्दैन, तबसम्म राजनीतिक परिवर्तन स्वयं दिगो र संस्थागत हुन पनि नसक्ने उनको धारणा थियो ।

सम्पन्न स्थानीय तहको निर्वाचन र अब हुन गइरहेको प्रदेश सभासँगै प्रतिनिधि सभा निर्वाचनहरुले संघीय लोकतान्त्रिक गणतन्त्रको जगलाई संस्थागत र थप सुदृढ तुल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनको विश्वास थियो । गणतन्त्र दिवसले समृद्ध गण्डकी प्रदेशसँगै नेपाल बनाउने बाटोमा अघि बढ्न झक्झकाउने उनको भनाइ थियो ।

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले राजनीतिक परिवर्तनसँगै आर्थिक, सामाजिक परिवर्तन गर्न नसके त्यसको कुनै अर्थ नहुने बताए । व्यवस्थामा परिवर्तन आए पनि जनताको आकांक्षाअनुसार बढ्न नसकिएको वास्तविकतामा जनताका आवश्यकता तथा चाहनालाई सम्बोधन गर्ने गरी एकताबद्ध रुपमा लाग्नुपर्ने आवश्यकता उनले औंल्याए । व्यवस्था परिवर्तनमा दलहरूबीचमा देखिएको सहमति, सहकार्य र एकताको भावनालाई आत्मसात गर्दै आगामी दिनमा पनि त्यही भावनाका साथ अघि बढ्नु जरुरी रहेको उनले बताए ।

गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले विसं २००७ सालदेखिको नेपाली जनताको चाहना र संघर्षको प्रतिफलस्वरुप गणतन्त्र दिवस मनाउने अवस्थामा पुगिएको बताउँदै यसको संस्थागत विकास आवश्यक भएको बताए । जनताको आर्थिक, सामाजिक परिवर्तन हुन सकेमात्रै दिवसको सार्थकता रहने बताउँदै उनले सरकार तथा राजनीति दलहरू त्यसतर्फ लक्षित हुनुपर्ने बताए ।

आन्तरिक मामिला मन्त्री डोबाटे विश्वकर्माले गणतन्त्र दिवस नेपाली जनताको महत्वपूर्ण उपलब्धि भएको बताए । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले लामो समयको संघर्षको प्रतिफलस्वरुप गणतन्त्र प्राप्त भएको बताउँदै जनतालाई यसको अनुभूति गराउन अझै धेरै काम बाँकी रहेको बताए । जनताका अपेक्षालाई सम्बोधन गर्न एकताबद्ध प्रयास आवश्यक रहेको उनको भनाइ थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width