हाम्रोमा बोल्ने धेरै, काम थोरै भयो : रुद्रकुमारी गुरुङ

आदर्श समाज सम्वाददाता
जेठ १५, २०७९
Rudra Kumari Gurung

कास्कीको मादी गाउँपालिका थाकमा जन्मिएकी रुद्रकुमारी गुरुङ (मैना) सामाजिक एवं धार्मिक व्यक्तित्व हुन् । समाज सेवाका अतिरिक्त वित्तीय एवं व्यावसायिक संस्थामा उनको संलग्नता धेरै नेपाली महिलाका लागि मात्र नभई पुरुषका लागि समेत प्रेरणाकी स्रोत हुन् । हाल पोखरा– १० अन्नपूर्ण टोलमा बसोबास गर्दै आएकी गुरुङ बुद्धचोकस्थित पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडकी अध्यक्ष हुन् । यसैगरी कुँडहर आधारभूत विद्यालय, धर्मकाय बुद्ध मण्डला तथा व्यवस्थापन समिति र रोयल दिदीबहिनी किचन प्रालिमा समेत उनले अध्यक्षको भूमिकामा रहेकी छिन् ।

उनी हिमाली सांस्कृतिक परिवार, तमु प्रतिष्ठान नेपाल, अन्नपूर्ण टोल समाज, तमु धिं नेपाल, गुरुङ कलाकार संघ, गोर्खा कम्युनिटी पोखरा, सञ्जीवनी दिदीबहिनी समूह र कुंगा गुम्बाकी सल्लाहकार पनि हुन् । गोर्खा कम्युनिटी पोखराको गोर्खाली तारा, जिल्ला शिक्षा कार्यालय कास्की, तमुधिं नेपाल र सनातन धर्म सेवा समिति कास्की लगायत संस्थाबाट उनी सम्मानित भइसकेकी छिन् । २५६६ औं बुद्ध जयन्तीका अवसरमा बुद्धजयन्ती समारोह समिति कास्कीले पनि २ जेठमा उनलाई सम्मान गर्‍यो । आफूलाई लो प्रोफाइलमा राखेर निरन्तर सेवामा खटिन चाहने गुरुङसँग आदर्श समाजका रुपनारायण ढकालले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ :

धेरै सामाजिक संघसंस्थामा संलग्न हुनुहुन्छ, यो क्षेत्रमा लाग्ने प्रेरणा कसरी प्राप्त भयो ?

पहिला मेरा बाबा कास्की जिल्ला उपसभापति हुनुहुन्थ्यो । उहाँ दुई पटक जिल्ला उपसभापति हुनुभयो । गाउँ फर्क राष्ट्रिय अभियानमा पनि लाग्नुभयो । २६ वर्षमा प्रधानपञ्च भएर गाउँ सेवामा लागिरहनु भयो । यसकारण समाज सेवामा लाग्ने प्रेरणा मैले बाबाबाटै पाएँ । त्यो बेला हामी सानै थियौं तर पनि उहाँको कामको प्रभाव म मा पर्‍यो ।

रोयल सहकारीको अध्यक्ष पनि हुनुहुन्छ, आर्थिक क्षेत्रसँग कसरी जोडिन पुग्नुभयो ?

मानिसलाई जुनै पनि ठाउँमा अगाडि बढ्न अर्थ महत्वपूर्ण पाटो रहेछ । रोयल सहकारी कास्कीका ६ सयभन्दा बढी सहकारीमध्ये एक नम्बरको हो, गण्डकीका २५ सयभन्दा बढी सहकारीमध्ये हामी टप थ्रीमा पर्छौं । म यो आर्थिक पक्षसँग कसरी जोडिएँ भने अर्थ भनेको जीवनको अभिन्न एउटा अंग रहेछ । अर्थबिना जीवन चल्न नसक्ने भयो । यो सहकारी अहिले २१ वर्ष लाग्यो । मैले सुरुबाटै कार्यसमितिमा रहेर काम गर्दै आएकी छु । हामी साथी साथी मिलेर अनि हाल प्रमुख कार्यकारी अधिकृत रहनुभएका भीम गुरुङ सर र मुख्य प्रबन्धक रहनुभएका मीलन ढकाल सर मिलेर यो सहकारी स्थापना गरेका हौं । सहकारीमा लागेपछि आर्थिक गतिविधि थप बुझ्दै गइयो । पछि कोषाध्यक्ष, उपाध्यक्ष हुँदै गएको असोजदेखि अध्यक्षको भूमिकामा रहेकी छु । हाम्रो टिम र कार्यसमिति राम्रो छ । सहकारीमा मात्र ४५ जनाले रोजगारी पाएका छन् । रोयल सहकारीका दुलेगौंडा, लेखनाथ, मोहोरियामा शाखा पनि छन् ।

बैंक तथा वित्तीय संस्थामा तरलता अभाव भयो भनिन्छ, सहकारीहरुको अवस्था अहिले कस्तो छ ?

अहिले अलिकति संकट त पक्कै पनि होला । अहिले लोन माग्नेहरुको फाइल पनि धेरै आउँछन् । बैंकले ऋण रोकेको पनि सुन्नमा आएको छ । सबैले रोकेका त छैनन् होला । सबै सहकारीको त म भन्न सक्दिनँ तर बजारमा चर्चा आएजस्तो तरलता अभाव हाम्रोमा छैन । हामीले ऋण पनि दिइरहेका छौं । पहिलाजस्तो ठूलो कर्जा त दिएका छैनौं । सहकारी भनेकै सहकार्य गरेर सेवा गर्ने थलो हो । बैंक र सहकारीमा फरक पनि छ । हामी सदस्यलाई बढी सेवा दिन्छौं । ऋण माग्नेलाई हामीले सकेसम्म फर्काएका छैनौं ।

रोयल दिदीबहिनी किचनको अवधारणा कसरी आयो ?

रोयल किचनमा हामी यहाँ ९९ जना दिदीबहिनी जोडिएका छौं । सहकारीमा हामी समितिका साथीहरु बसेर छलफल गर्दा रोयलले अन्य क्षेत्रमा पनि फड्को मार्नुपर्छ भन्ने कुरा आयो । म उपाध्यक्ष हुँदा एउटा किचन बैंक्युट खोल्ने कुरा आएअनुसार यो खोलिएको हो । पछि दिदीबहिनीमात्र संलग्न भएर खोल्ने कुरा आयो । यहाँ खासगरी डाक्टर, सिंगापुर र बृटिस आर्मीमा सेवा गरेका व्यक्ति र समाजसेवामा हिँडेका साथीहरु बढी मात्रामा आबद्ध छौं । यसमा सुरुमा २१ जना कर्मचारीलाई हामीले रोजगारी पनि दिएका थियौं । कोभिडले केही प्रभाव पार्‍यो । अहिले पुनः राम्रो हुँदै गएको छ ।

राजनीतिसँग जोडिएको परिवारको सदस्य भएर पनि यो क्षेत्रमा किन लाग्नु भएन ?

पञ्चायत कालबाट नै मेरा बाबा राजनीतिमा जोडिनुभयो । परिवारमा ५ दाजुभाइ र दुई दिदीबहिनी हौं हामी । तर हामीचाहिं लाहुरे परिवेशतिर नै बढी ढल्कियौं । राजनीतिमा हाम्रो त्यति मन गएन । बाबा पनि शान्त खालको हुनुहुन्थ्यो । सायद बाबाले पनि हामीलाई आफ्नो किसिमले जिउन दिनुभयो । प्रेसर दिनुभएन । त्यो बेला हाम्रो त बच्चा दिमाग थियो । तिमीहरु राजनीतिमा आउनुपर्छ भन्न सक्नुहुन्थ्यो नि । तर उहाँ कसैलाई दबाब नदिने, प्रेसर नदिने, त्यस्तो खालका हुनुहुन्थ्यो । त्यसैले परिवारमा हामी कोही पनि राजनीतिमा गएनौं । मेरो पनि बृटिस गोर्खा आर्मीसँग विवाह भयो । मेरो माइलो भाइ पनि बृटिस आर्मी र ठूलो दाइ इन्डियन आर्मीमा, साइलो भाइ अहिले बेल्जियममा र काइँलो भाइ सिंगापुर आर्मीमा जोडिन पुगे । कान्छी बहिनी पनि बृटिस आर्मीसँगै विवाह भयो र कान्छो भाइ अहिले पोर्चुगलमा परिवारसहित बस्छन् । खासमा हामी यस्तो परिवारको सदस्य हौं । घर धान्न, बच्चाहरुको स्याहार सुसारले गर्दा राजनीतिमा जाने समय पनि जुरेन । बरु अहिले राजनीतिमा जान अफर आएको थियो । यस्तो अफर योङ बेला आएको भए जान्थें होला । अब गएर के गर्ने ? मलाई यही समाजसेवा नै ठीक छ । यो क्षेत्र मलाई मन पर्छ । तर म भन्छु, जुनै ठाउँमा भए पनि राम्रो राजनीति हुनुपर्छ । राजनीति नराम्रो कुरा होइन । सबै जना एकै खालका त हुन्नन् तर अहिलेको चुनाव हेर्दा जनताहरुले धेरै कुरा बुझिसकेको जस्तो लाग्यो । म कुनै पार्टीमा पनि छैन । भोट हाल्दा राम्रा मानिस चुन्छु, चाहे जुनसुकै दलका हुन्, राम्रा मानिस रोजीरोजी भोट हाल्छु । जनताको काम गर्ने र जनताको मर्म बुझ्ने मानिस आउनुपर्छ, राजनीतिमा भन्ने लाग्छ ।

विदेशमा काम नगरी बसेर खाने मानिस देखिँदैनन्, हाम्रोमा धेरै समय भाषण र गफमा खेर फालिन्छ

लाहुरे परिवारको समेत सदस्यको नाताले जीवन कत्तिको संघर्षपूर्ण रहन पुग्यो ?

आजभोलि यसो सम्झिएर ल्याउँदा कस्तो लाग्छ भने, हुर्कियो, बढियो र विवाह गरेर गइयो अनि सन्तानहरु भए । मेरो एकछोरा र एक छोरी हुन् । जीवन त एक हिसाबले उनीहरुलाई हुर्काउने पढाउनेमै गयो भन्दा पनि हुन्छ । त्यसकारण म समाज सेवामा अलि पछि मात्र आइपुगें । जब मेरो बच्चाहरुले १२ कक्षाको पढाइ पूरा गरे, अनि म यता आएँ । उनीहरु हाल अमेरिका छन् । मेरो छोरालाई लाहुरे बनाउने मेरो सोच आएन । पढाउनु पर्छ भन्नेमा नै गयो । मेरो नानी (कमला) ले पनि अमेरिकाबाट सिए गरिन् । बाबु (सचिन) सफ्टवेयर इन्जिनियर हो । त्यही भएर पनि म राजनीतिमा गइनँ । ती दिन सम्झँदा समग्रमा जीवन संघर्षपूर्ण नै रहन पुग्यो ।

यहाँसँग विदेश भ्रमणको समेत राम्रै अनुभव छ, उता र यताको जीवन र विकासलाई कसरी तुलना गर्नुहुन्छ ?

विदेशमा कस्तो छ भने मानिस आफ्नो तरिकाले राम्रोसँग काम गरेर जिउन सक्छन् । यहाँ त हरेक ठाउँमा सोच्नुपर्ने । मलाई यता फसाइदिने हो कि उता फसाइदिने हो कि जस्तो । विदेशको राम्रो के भने, सरी र थ्यांक यु भन्ने । उनीहरुले सानो कुरामा थोरै सहयोगमा पनि मुखमा थ्यांक यु झुण्डिने । यहाँ अलिकति टच भए ओइ आँखा देखिनस् भन्छन् । त्यही भएर अलिकति अनुशासित हुन जरुरी छ हामी । हाम्रो देशमा धेरै समय भाषण र गफमा खेर फालिन्छ । उनीहरु रात दिन काम गर्छ । हाम्रोमा काम थोरै, बोल्ने धेरै भयो । थोरै बोलेर धेरै काम गर्नुपथ्र्यो । विकसित देशमा जुन काम गर्छु भन्छन्, त्यो काम गरेरै छाड्छन् । हाम्रोमा त्यो हुन नसकेको हो कि जस्तो लाग्छ । हाम्रोमा समय धेरै खेर फाल्ने । हाम्रोमा क्यारेम खेलेको, चौतारोमा गफ गरेर बसेको निकै देखिन्छ । सबैले काम गरे त देश विकास भइहाल्थ्यो । घर अगाडि फोहोर थुप्रिएको हुन्छ । यहाँका मानिस उहाँ गएर शौचालय र भाँडा सफा गरेको देखिन्छ । त्यो काम यहाँ किन नगरेको जस्तो लाग्छ । विदेशमा काम नगरी बसेर खाने मानिस देखिँदैनन् । बाटोमा जेब्राक्रसममा समेत मानिस भागिरहेको देखिन्छन् । हाम्रोमा ढल्किँदै हिँडेको देखिन्छ । म युके, ब्रुनाई, हङकङ, बेल्जियम र अमेरिका गएँ । हङकङमा निकै बसें । श्रीमान् (मनिराज) सँग ब्रुनाई पनि बसें । युके बसें । अमेरिकामा बच्चाहरु र श्रीमान् भएका कारण त्यता आउने जाने गरिरहन्छु । यो आधारमा मैले मेरो अनुभव सुनाएकी हुँ ।

तमु धिं नेपालमा महासचिव भएर पनि काम गर्नुभयो । गुरुङ समुदायलाई केही भन्न चाहनुहुन्छ कि ?

गुरुङहरु वास्तवमा भन्ने हो भने धेरै इमानदार छन्, सज्जन पनि छन् । हाम्रो समुदायमा धेरै आर्मी ब्याकराउन्डको हुनुहुन्छ । त्यही भएर पनि धेरै इमानदार हुनुहुन्छ उहाँहरु र आफूलाई दिएको कामहरु एकदम जिम्मेवारीपूर्वक गर्नुहुन्छ । हामीहरुले हाम्रा बाबु नानीहरुलाई पनि पढाउनुपर्छ । शिक्षाबिना अगाडि जान सकिन्न । बच्चाहरुलाई शिक्षित बनाउनुपर्छ । सम्पत्ति भनेकै त्यही हो । हामीले धेरै सम्पत्ति जोडेर राखे पनि भोलि सन्तानले केही जानेको छैन भने केही गर्न सक्दैन । त्यही सम्पत्ति बेचेर खान्छ बरु । उसलाई अरु आइडिया हुन्न । पढाइदियो भने सम्पत्ति भनेको त्यही हो । अर्को कुरा पोखरामा गुरुङ समुदाय भएर पनि यो सहर सफा भएजस्तो लाग्छ । भित्री टोलहरु हेर्दा पनि त्यो देखिन्छ । कतिपय टोलहरुमा बार नै छुट्याएर सफाई अभियान नै चलाइन्छ । यो अहिले अरुले पनि सिको गर्न थाले, यो निकै राम्रो हो ।

बुद्ध धर्मसँग पनि जोडिनुभएको छ, यस धर्मबाट कसरी प्रभावित हुनुभयो ?

म बौद्ध अर्घौं सदन रामघाटमा एक कार्यकाल कार्यसमितिमा बसेर पनि काम गरें । मेरो पहिलो समाजसेवा भनेको त्यहींबाट सुरु भएको हो । त्यहाँ ठूला धर्मगुरु आइरहनुहुन्थ्यो । उहाँहरुको प्रवचन सुन्थें । त्यो बेलाको कमलो दिमागमा ती कुराहरु घुस्थे । अनि हिंसा गर्नुहुँदैन, कसैमाथि हत्या गर्नुहुँदैन । वचनले पनि बिराए, त्यो हत्यासरह भनेर गुरुले भन्नुहुन्थ्यो । वचनले पिराए पनि त्यो हत्यासरह भन्नुहुन्थ्यो । शान्त बस्न, आफूभन्दा ठूलालाई मान सम्मान गर्नुपर्छ, सानोलाई माया गर्नुपर्छ, झुटो बोल्नु हुँदैन र हिंसा गर्नुहुन्न भन्ने कुराहरु मैले त्यहाँबाट प्राप्त गरें । त्यो बेला मेरो उमेर ३५/४० वर्ष हुँदो हो । घरबाट पनि मैले त्यही खाले शिक्षा पाएँ । हरेक धर्मले राम्रै कुरा सिकाउँछ । म अरु धर्मको पनि उत्तिकै सम्मान गर्न चाहन्छु ।

Related News

सम्बन्धित समाचार

  • कुशासन, भ्रष्टाचार र दण्डहीनताले गणतन्त्रमाथि खतरा छ : पहाडी   

    आदर्श समाज सम्वाददाता जेठ १८, २०८१
    काठमाडौं । पहेँलो कुर्ता र धोतीमा देखिनु हुने कृष्ण पहाडीका विषयमा केही थाहा नहुने सामान्य मानिसले कुनै आध्यात्मिक सन्तका रुपमा…
  • महिला उत्थानमा सीप विकासका ४७ वर्ष

    आदर्श समाज सम्वाददाता फागुन २१, २०७९
    पोखरा हस्तकलाका माध्यमबाट विगत ४७ वर्षदेखि नारी उत्थानमा योगदान पुर्याउँदै आएको महिला सीप विकास संस्थाले यही फागुन २४ गते नारी…
  • संघ सरकारको दबदबा कायमै : रोशन गाहा

    धनबहादुर गुरुङ फागुन ४, २०७९
    अघिल्लो कार्यकाल प्रदेश सभा सदस्यमात्र भएर ५ वर्ष बित्यो । दोस्रो पटक निर्वाचित भएपछि पार्टीले मन्त्री बनाएको छ । विगतमा…
  • ‘बजेट खर्च बढाउन ऐन संशोधन’

    प्रकाश ढकाल फागुन ४, २०७९
    गण्डकीको अर्थतन्त्र अहिले ठ्याक्कै कुन अवस्थामा छ ? अन्तर्राष्ट्रिय परिस्थितिले पनि प्रदेशको अर्थतन्त्रमा प्रभाव पार्ने रहेछ । कोरोनाका कारण गण्डकीको…
  • संघीयताको जग बनेको रहेनछ : पञ्चराम

    आदर्श समाज सम्वाददाता फागुन ४, २०७९
    सुरुमा प्रदेश संरचनाको विरोधमा सडक तताउनुहुन्थ्यो, अहिले सरकारमै हुनुहुन्छ । किन ? हामीले राजनीति गर्ने भनेकै देश र जनताका लागि…

hero news full width