पोखरालाई पर्यटकीय राजधानी घोषणामा जोड

आदर्श समाज सम्वाददाता
जेठ १३, २०७९
Padasthapan Photo 1

पोखरा । पोखरा महानगरपालिकाका नवनिर्वाचित मेयर धनराज आचार्य र उपमेयर मञ्जुदेवी गुरुङले सपथसँगै पदभार ग्रहण गरेका छन् ।

पोखरा सभागृहमा बिहीबार आयोजित कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, संघीय सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमप्रसाद आले, गण्डकी प्रदेशका मन्त्रीहरुको उपस्थितिमा मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले मेयर आचार्यलाई पद तथा गोपनीनयताको सपथ गराएका हुन् । त्यसलगत्तै मेयर आचार्यले उपमेयर मञ्जुदेवी गुरुङ, वडा अध्यक्ष र सदस्यहरुलाई सपथ ग्रहण गराएका हुन् ।

सपथ ग्रहणपछि नवनिर्वाचित मेयर, उपमेयरलगायत जनप्रतिनिधिले पोखरा जिरो किमीदेखि हल्लनचोकसम्म फूल रोपेर पदभार सम्हालेका हुन् । पोखरा ७ को पुष्षलाल पार्कमा पुगेर शालिकमा माल्यार्पण गरि जिरोकिलोमिटर देखि हल्लनचोक सडक खण्डको डिभाइडरमा फुल रोपी महानगरमा पदभार ग्रहण गरेका हुन् ।

‘पोखरा विश्वकै सुन्दर सहर हो । फूल भनेको सुन्दरताको प्रतीक हो । म पोखरालाई पोखरालाई फुलैफूलको सहर बनाउँछु,’ डिभाइडरमा फूल रोपेपछि मेयर आचार्यले भने, ‘पोखरालाई ग्रिनरी सहर बनाउने हाम्रो लक्ष्य छ ।’

पहिलो दिन ३ निर्णय

मेयर आचार्यले पहिलो दिन ३ निर्णय गरेका छन् । उनले न्युन आय भएकालाई पोषणभत्ता, सिम्बोल अफ पोखरा प्रतियोगिता र पोखरालाई पर्यटककीय राजधानी बनाउन संघीय सरकारलाई प्रस्ताव गर्ने निर्णय गरेका हुन् ।

पहिलो निर्णयअन्तर्गत व्यक्तिगत घटना दर्तालाई पहज र सर्वसुलभ बनाउने तथा वडा कार्यालय सिफारिस आधारमा न्युन आय भएका परिवारका बालबालिकालाई पोषण भत्ता दिने निर्णय गरेका छन् । भत्ता कति समयमा दिने, कति दिने भन्ने आगामी बजेटमा घोषणा हुनेछ ।

यस्तै पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न संघ सरकारलाई आग्रह गर्ने निर्णय पनि उनले गरे । सामान्य प्रशासन मन्त्रालय हुँदै संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयमा यसबारे प्रस्ताव पठाउने योजना मेयर आचार्यले सुनाए । पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न यसअघिका मेयर मानबहादुर जिसीले पनि प्रयास गरेका थिए । यस विषयमा गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद्ले निर्णय नै गरिसकेको छ । तर, संघ सरकारबाट निर्णय भने हुन सकेको छैन । अब भने आफूहरु घोषणा नहुँदासम्म एकोहोरो लागिरहने उनको प्रतिबद्धता छ ।

त्यस्तै, पोखरा चिनाउने कुनै योजना अर्थात् ‘सिम्बोल अफ पोखरा’ बनाउन आह्वान गर्ने अर्को निर्णय भएको छ । यसका लागि १ महिना समय दिएर देशभरका युवाहरुमा आह्वान गर्ने र उत्कृष्टलाई २ लाख रुपैयाँ पुरस्कार दिइने मेयर आचार्यले बताए । ‘अक्सफर्ड युनिभर्सिटी जाँदा त्यहाँ उसको सिम्बोल छ । पेरिसको छ । पोखरा चिनाउन यहाँ पनि त्यस्तै बनाउने छौं,’ मेयर आचार्यले भने, ‘त्यसका लागि क्रियटिभ युवालाई आह्वान गरिने छ । यो एक वर्षभित्र बनाउने योजना छ ।’

नवनिर्वाचित उपमेयर मञ्जुदेवी गुरुङले महानगरका अपागंता भएका बालबालिकालाई शिक्षामा समान पहुँच स्थापित गर्ने र महिला हिंसाविरुद्ध पुरुषको ऐक्यबद्धताका लागि महिला पुरुष समचेतना कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेकी छन् ।

सत्ता गठबन्धनबाट मेयर उम्मेदवार आचार्यले एमालेका कृष्ण थापालाई ६ हजार ४५ मतान्तरले पराजित गर्दै पोखराको १६ औं मेयर निर्वाचित भएका हुन् । उनले कुल खसेको मतमा ५८ हजार ८ सय ९३ र थापाले ५२ हजार ८ सय ४८ मत प्राप्त गरे ।

उपमेयरमा एमालेकी मञ्जुदेवी गुरुङ निर्वाचित भएकी हुन् । उनी यसअघि पनि उपमेयर थिइन् । उनले आफ्ना निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसकी कोपिला रानाभाटलाई ३ हजार ८ सय ८३ मतअन्तरले पछि पार्दै निर्वाचित भएकी हुन् । गुरुङले कुल खसेको मतमा ६० हजार ५ सय ४६ मत प्राप्त गर्दा रानाभाटले ५६ हजार ६ सय ६३ मत प्राप्त गरेकी हुन् ।

२०७४ सालको चुनावमा एमालेले मेयर र उपमेयर दुवै जितेकोमा यसपालि एमालेले मेयर गुमायो । पोखराका ३३ वटा वडामध्ये एमालेले मात्र ९ वडा जितेको छ । २३ वटा वडा कांग्रेसले जित्दा १ १ वडामा स्वतन्त्र उम्मेदवार निर्वाचित भए । मेयरमा २३ र उपमेयरमा ८ जना उम्मेदवारबीच प्रतिस्पर्धा रहेको थियो । गत ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनको मतगणना पोखराले १२ दिन लगाएर मंगलबार राति सकेको हो ।

Related News

सम्बन्धित समाचार

  • वर्षाले हिलाम्मे पोखरा प्रवेशमार्ग

    धनबहादुर गुरुङ चैत्र १६, २०८०
    पोखरा ।  पर्यटकीय राजधानी पोखरालाई संघीय राजधानी सहरसँग जोड्ने पृथ्वी राजमार्ग स्तरोन्तति कार्य जारी नै छ । आँबुखैरेनी–पोखरा करिब ८०…
  • असुरक्षित टहरामा बस्न वाध्य सुरक्षाकर्मी

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    ढोरपाटन । खिया लागेका जस्तापाता, उप्किएका भित्ता, धमिराले छियाछिया भएका झ्याल ढोका । छानामा ढुंगाहरूले प्लास्टिक अठ्याइएको छ । यो…
  • गण्डकी सरकारले २०८१ मा ३ दिन बिदा दिने

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । गण्डकी प्रदेश सरकारले आउने वर्ष अर्थात् २०८१ सालमा ३ दिन बिदा दिने निर्णय गरेको छ । संघीय सरकारलेभन्दा…
  • किरिया बसेका दाजुभाइ परीक्षामा

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    स्याङ्जा। किरियामा बसेका २ दाजुभाइ एसइईमा सहभागी भएका छन् । पुतलीबजार नगरपालिका ४ स्थित सरस्वती मावि परीक्षा केन्द्रबाट संगम क्षत्री…
  • सुरु भयो एसइई, ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सामेल

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । माध्यमिक शिक्षा परीक्षा (एसइर्ई) बिहीबारदेखि सुरु भएको छ । चैत २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षाको…

hero news full width