धनराज पोखराको १६ औं मेयर

प्रकाश ढकाल
जेठ १२, २०७९
main photo

पोखरा । पोखराको १६ औंं मेयररुपमा सत्ता गठबन्धनका साझा उम्मेदवार धनराज आचार्य निर्वाचित भएका छन् । बैशाख ३१ देखि सुरु भएको गणना मंगलबार राति सकिएको हो । प्राप्त मतपरिणामअनुसार मेयरमा सत्ता गठबन्धनका आचार्य र उपमेयरमा एमालेकी मञ्जुदेवी गुरुङ निर्वाचित भएकी छिन् । आचार्यले एमालेका कृष्ण थापालाई ६ हजार ४५ मत अन्तरले पराजित गर्दा गुरुङले गठबन्धनबाट कांग्रेस उम्मेदवार कोपिला रानाभाटलाई ३ हजार ८ सय ८३ मतअन्तरले पराजित गरिन् । मेयर निर्वाचित आचार्यको ५८ हजार ८ सय ९३ मत र थापाको ५२ हजार ८ सय ४८ मत आएको छ ।

उपमेयरमा भने गुरुङको ६० हजार ५ सय ४६ र रानाभाटको ५६ हजार ६ सय ६३ मत आएको छ । अरु उम्मेदवारहरु खासै चलेनन्, पोखरामा । राप्रपाका शंकर खरालले मेयरमा ५ हजार ६ सय ७४ मत ल्याउँदा स्वतन्त्र उम्मेदवार गनेस पौडेलले ३ हजार ३० मत प्राप्त गरे ।

उपमेयरमा राप्रपाकी रञ्जना कुमारी सेन पौडेलले ५ हजार ६ सय ९९ मत ल्याएकी छिन् । दुइतिहाइ वडामा अध्यक्ष कांग्रेसले जित्दै गर्दा उपमेयर भने निकै फराकिलो अन्तरले कांग्रेसकै उम्मेदवार पराजित भइन् । उता बहुमत नगर सदस्य र लोकप्रिय मतका साथ उपमेयर विजयी हुँदै गर्दा मेयरमा एमाले उम्मेदवार झन् फराकिलो मतअन्तरले चुनाव हारे ।

पोखरामा मेयर र उपमेयर छनोट गर्ने यो १६ औं श्रृखंला हो । २०१६ सालमा पहिलो पटक पोखराको स्थानीय चुनाव भएको थियो । कास्कीका लागि स्थानीय निकायमा सबैभन्दा पहिलो जनप्रतिनिधिरुपमा शिवबहादुर थापा तत्कालीन पोखरा नगरपालिकाको मेयर बनेका थिए । साविक पोखरा नगरपालिकामा १० जना प्रधानपञ्चले काम गरे भने १ जना मेयर निर्वाचित भए । २०५२ सालमा उपमहानगर बनेपछि भएको २०५४ को चुनावमा एमालेका उम्मेदवार कृष्ण थापा मेयर बनेका थिए । स्थानीय निकायको चुनाव हुन छोडे पनि २०६० सालमा तत्कालीन राजा ज्ञानेन्द्रले हर्कबहादुर गुरुङलाई मेयर मनोनीत गरे । २०६२ मा पनि भीमसेन थापालाई राजाले नै मेयरको रुपमा मनोनयन गरेका हुन् । २०७४ मा एमालेका मानबहादुर जिसी महानगरको पहिलो मेयर निर्वाचित भएका थिए ।

कार्यपालिकामा कांग्रेस, सभामा एमाले

महानगरको कार्यपालिकामा गठबन्धनको बहुमत भए पनि नगरसभामा भने एमाले बलियो भएको छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा प्रमुख र उपप्रमुखसहित २२ वडाको अध्यक्ष र १ सय १९ पदमा चुनाव जितेको एमाले अहिले ९ वडामा खुम्चिएको छ । यहाँका ३३ वडामध्ये नेपाली कांग्रेसले २३ वडामा अध्यक्ष जित्दा वडा नम्बर २२ मा भने स्वतन्त्र उम्मेदवार हिमलाल बरालले जितेका छन् । उनी पनि गठबन्धनको समर्थनमा उम्मेदवार बनेका हुन् । योसँगै कार्यपालिकामा गठबन्धनबाट २५ र एमालेबाट १९ सदस्य हुने भएका छन् ।

नगरसभाको बहुमतका कारण ५ जना महिला र ३ जना दलित तथा अल्पसंख्यक समुदायबाट संविधानतः थपिने ८ जना एमालेकै हुनेछन् । महानगरको नगर सभा १ सय ६७ सदस्यीय छ (पछि ३ थपिंदा १७० पुग्छ) भने कार्यपालिका ४३ सदस्यीय छ । धेरै वडामा आएको मिश्रित मतपरिणामले नेकपा एमालेले नगर सभामा बहुमत पुर्‍याएको छ । एमालेले समग्रमा ८६ सिट जितेको छ भने कांग्रेसले ७९ तथा मेयर र स्वतन्त्र वडाध्यक्षसहित ८१ सिट गठबन्धनले जितेको छ ।

पोखराको उपमेयरमा एमालेकी मञ्जुदेवी गुरुङ सर्वाधिक मतसहित दोहोरिएकी छन्

गठबन्धनको साथ लागेर ‘सिंगल’ चुनाव जितेका धनराजलाई अर्को आपत परेको छ, आफ्नो कार्यकाल पूरा गर्न उनले कांग्रेस–एमाले दुवैलाई रिझाउनुपर्ने भएको छ । दैनिक कामकाज र कार्यपालिकाका निर्णय पास गर्न कांग्रेसको साथमा लाग्नुपर्छ भने नीति तथा कार्यक्रम र वार्षिक विकास बजेट एवं ऐन नियम पास गर्नका लागि एमालेको साथ अनिवार्य छ । गठबन्धन यही अवस्थामा रहिरहने अवस्था नभए आचार्यले पोखरामा चाहेजस्तो काम गर्न सक्दैनन् । उनी एकीकृत समाजवादीबाट मेयरमा निर्वाचित हुँदा यहाँ समाजवादीले एकजना वडा सदस्य समेत जितेको छैन ।

महिला उपेक्षित

३३ वडा रहेको पोखरा महानगरमा महिला नेतृत्व एउटा वडामा मात्रै आएको छ । यसअघि पनि एउटा मात्रै वडामा महिला अध्यक्षले जितेका थिए । अहिले वडा १७ अध्यक्षमा राधिका शाही योगी निर्वाचित भइन् । शाही पोखराको मात्रै होइन, कास्कीकै ७२ वडामध्ये एकजना मात्रै महिला वडाध्यक्षको रुपमा निर्वाचित भएकी हुन् । कास्कीभर पार्टी र स्वतन्त्रसहित १५ जनाले वडाध्यक्षमा उम्मेदवारी दिएका थिए । प्रमुख पार्टीबाट ९ जना र बाँकी साना पार्टीबाट उम्मेदवार थिए ।

पोखरा वडा १ र ८ मा कांग्रेस, १० र १७ मा एमाले तथा २ मा माओवादीले उम्मेदवार बनाएको थियो । अरु सबै उम्मेदवार पुरुषसँग चुनाव हारेका छन् । खुला सदस्यमा भने २ जना मात्रै महिला निर्वाचित भएका छन् । कांग्रेसबाट उम्मेदवारी दिएका वडा २ मा भीमकुमारी आले र वडा ९ मा लक्ष्मी पहारी निर्वाचित भए । अरु सबै महिलाहरु कोटाभन्दा माथि उठ्न सकेनन् । ‘पहिले पनि चुनाव लडेको हो । सदस्यमा सजिलो भएको थियो । तर कार्यकारी पदमा चाहिं लैंगिक हिसाबले जनसंख्या र मतदाता महिला धेरै भए पनि सहयोग गर्दैन रहेछन्,’ निर्वाचित वडाध्यक्ष शाही भन्छिन्, ‘पार्टीले भने लैंगिक रुपमा सहयोग गर्दैन । हामीले अवसर पाए काम गर्न सक्छौं तर जिम्मेवारी दिन खोज्दैन । परम्परावादी मानसिकता छ ।’

मत बदर अस्वभाविक

यसपालिको पोखरा महानगरको चुनावमा अत्यधिक मत बदर भएको छ । १ लाख ४३ हजार १ सय १० मत गणना हुँदा पूर्ण बदर खासै धेरै नभए पनि मेयर र उपमेयर सहित सम्बन्धित पदमा भने अधिक मत बदर देखिएको छ । मेयरमा २० हजार ७ सय ८१ र उपमेयरमा १९ हजार ६ सय ७२ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यो अनुपात हिसाब गर्दा मेयरमा १४.५२ र उपमेयरमा १३.७५ प्रतिशत मत बदर भएको देखिन्छ, जुन पोखराको इतिहासमै सबैभन्दा धेरै बदर हो । अधिकांश बदर गठबन्धनका कारण भएको बताइन्छ । तर त्यसबारे कुनै आकलन छैन ।

राजनीतिबारे चासो राख्ने विश्व सिग्देल मतदाता शिक्षाको कमीका कारण बदर बढी भएको बताउँछन् । ‘गठबन्धनअनुसार मतदाता शिक्षा पुगेन । भोटको ‘प्याटर्न’ ३–४ थरीको छ । कसैले पार्टीलाई हेरेर भोट हालेका छन् । कसैले एउटा पार्टीमा बसेर क्रस भोट हाले,’ उनी भन्छन्, ‘तटस्थ मतदाता समेत झुक्किएका छन् । परम्परागत रुपमा एउटै छापमा लहरै भोट हाल्दै आएका मतदाताले छ्यासमिस मत हाल्ने चाहना राखे पनि कास्ट गर्दा कन्फ्युज भएका हुन् ।’ मतदाता शिक्षा नपुगेकोमा स्वयं निर्वाचन कार्यालयका कर्मचारी र राजनीतिक दलका नेताहरु नै स्वीकार्छन् ।

एमालेको बिरासतमा ब्रेक !

२०७४ को स्थानीय निर्वाचनमा एमालेका उम्मेदवार मानबहादुर जिसी ६० हजार १ सय १८ मतसहित मेयरमा विजयी भएका थिए । १ लाख ६८ हजार ६७ मतदाता रहेको पोखरामा त्यतिबेला १ लाख २५ हजार ८ सय ६८ मत खसेको थियो । जिसीले १३ हजार ७ सय २ मतान्तरसहित कांग्रेसका रामजी कुँवरलाई पराजित गरेका थिए । अहिले एमालेले तत्कालीन समयमा ल्याएको मत समेत जोगाउन सकेन । एमालेका मेयर उम्मेदवार कृष्ण थापाले ५२ हजार ८ सय ४८ मत पाए । पोखरामा ३९ हजार मतदाता थपिएका छन् । मतदान प्रक्रियामा १ लाख ४३ हजार १ सय १० मत खसेको थियो । जुन मत २०७४ को भन्दा १७ हजार २ सय ४२ बढी हो । एकातिर बढी मत खस्नु र अर्कोतिर पहिलेकै मत समेत जोगाउन नसक्नु यसपालि एमालेको हार अस्वभाविक छ ।

मेयरले मात्रै होइन, उपमेयर समेत पुरानो मत बल्लबल्ल जोगाउन सफल भएकी छिन् । उपमेयरमा निर्वाचित मञ्जुदेवी गुरुङले ६० हजार ३ सय ७२ मत पाइन् । तर थपिएका मतदाताको मत भने उनले पनि पाएकी छैनन् । तथापि उनले पहिलेभन्दा आफ्नो मत भने धेरै सुधार गरेकी छिन् । २०७४ को चुनावमा गुरुङले ५६ हजार ४ सय ४३ मत पाएकी थिइन् । मेयरमा ४६ हजार मत पाएको कांग्रेससँग अहिले आफ्नै उम्मेदवार थिएनन् । कांग्रेसले गठबन्धनकै उम्मेदवारलाई मत दिंदा धनराज आचार्यले ५८ हजार ८ सय ९३ मत ल्याएका छन् । यसमा माओवादी र जनमोर्चाको मतसमेत जोडिन्छ । यता गठबन्धनबाटै चुनाव लडेकी कांग्रेसकी उपमेयर उम्मेदवार कोपिला रानाभाटले ५७ हजार ५८ मत पाइन् । उनी पनि गठबन्धन उम्मेदवार भएकोले कांग्रेसको मत कति भन्ने यकिन गर्न मुस्किल छ । तर कांग्रेसले पुरानो मत भने संरक्षण गर्दै केही थपेको आकलन सजिलै गर्न सकिन्छ ।

Related News

सम्बन्धित समाचार

  • चुमानलाई पहिलोपटक ढुकुटीको साँचो, मनाङे फेरि भौतिकमा

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । सदनबाट विश्वासको मत लिने प्रयासलाई अर्धबिराम लगाएर मुख्यमन्त्री खगराज अधिकारीले बिना विभागीय मन्त्रीलाई जिम्मेवारी दिएका छन् । मुख्यमन्त्री…
  • चुमानलाई अर्थ, मनाङेलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मा

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । गण्डकी प्रदेशमा बिनाविभागीय २ जना मन्त्रीहरुले मन्त्रालयको जिम्मा पाएका छन् । माओवादीका हरिबहादुर चुमानले आर्थिक मामिला र राजीव…
  • सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कृष्ण गण्डकी शालिग्राम पर्यटन प्रतिष्ठान आयोजनामा नेपाल–भारत सिमानाको सुनौलीबाट सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू भएको छ । कालीगण्डकी…
  • ‘वन्यजन्तु संरक्षणमार्फत पर्यापर्यटन बढाऔं’

    श्रीभद्र पौडेल वैशाख ७, २०८१
    पोखरा । वन्यजन्तु संरक्षण गरी पर्यापर्यटन बढाउनुपर्ने एक कार्यक्रमका वक्ताले जोड दिएका छन् । पृथ्वीनारायण क्याम्पस प्राणीशास्त्र विभाग तथा प्राणीशास्त्र समाजको…
  • कथा सुन्न भक्तजनको आकर्षण

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पाेखरा नयाँबजारमा जारी श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञमा भक्तजनको आकर्षण बढ्दो छ । हरिहर सन्यास आश्रम देवघाटधामका पीठाधीश अनन्तश्री विभूषित स्वामी…

hero news full width