संघीयता नेपाली जनताका लागि गलगाँड बन्यो : प्राडा दिलबहादुर क्षत्री

आदर्श समाज सम्वाददाता
जेठ ११, २०७९
Prof Dr Dil Bahadur Chhetri 2

प्राडा. दिलबहादुर क्षत्री प्राज्ञिक एवं सामाजिक व्यक्तित्व हुन् । पठन, शोध र अनुसन्धान कार्यमा नै उनको दैनिकी बित्ने गरेको छ । २०१० सालमा स्याङ्जाको आँधीखोला गाउँपालिकास्थित ओहियामा मध्यमवर्गीय किसान परिवारमा उनको जन्म भएको थियो । पोखराको नयाँ बजारमा बसोबास गर्दै आएका उनी विभिन्न ५१ वटा सामाजिक संघसंस्थामा आबद्ध छन् भने क्षत्री समाज नेपालको केन्द्रीय अध्यक्ष हुन् ।। पीताम्बर राज्य प्रतिष्ठानको अध्यक्ष र नेपाल नेत्रज्योति संघको केन्द्रीय उपाध्यक्षको जिम्मेवारी पनि उनले सम्हाल्दै आएका छन् । सुपिङ बहुमुखी क्याम्पस भीमफेदीबाट २०४१ सालमा प्राध्यापन आरम्भ गरेका उनले वीरेन्द्र सैनिक बहुमुखी क्याम्पसमा ९ वर्ष पढाएर २०४९ सालमा पृथ्वीनारायण क्याम्पसमा प्रवेश गरे । अध्यापन क्षेत्रमा नै आफ्नो ९० प्रतिशत जीवनको अंश गुजारेका उनले २०६० देखि २०६४ सालसम्म सो क्याम्पसको प्रमुख भएर पनि काम गरे । प्राडा. क्षत्रीका सिद्धशक्तिपीठ विन्ध्यवासिनी तथा पोखराका मठमन्दिरहरु, गलेश्वर शिवालय पुलाश्रम क्षेत्र संक्षिप्त अध्ययन र स्याङ्जा नुवाकोटसम्बन्धी अध्ययनलगायत इतिहास र संस्कृतिसम्बन्धी विभिन्न १४ पुस्तक प्रकाशित छन् । राजा वीरेन्द्रबाट गोरखा दक्षिणबाहु, विश्वविद्यालयमा सेवा गरेबापत् दीर्घसेवा पदक र विद्यावारिधि गरेबापत् महेन्द्र विद्याभूषण प्राप्त गरेका उनले बालनरसिंह सुवर्ण सम्मान र धनबज्र बज्राचार्य शोध अनुसन्धान पुरस्कार पनि पाएका छन् । दासप्रथामा विद्यावारिधि गरेका सरल र कर्मशील स्वभाव भएका क्षत्रीसँग आदर्श समाज राष्ट्रिय दैनिकका रुपनारायण ढकालले गरेको संवाद यहाँ प्रस्तुत गरिएको छ ।

अनुसन्धान र प्राज्ञिक क्षेत्रसँग बढी सम्बन्धित हुनुहुन्छ, अनुसन्धान कत्तिको जटिल कार्य हो ?

अनुसन्धान आफैंमा जटिल हो । त्यसैमा पनि हाम्रो जस्तो साधन र स्रोत सीमित भएको मुलुकमा प्राज्ञिक अनुसन्धान बडो खर्चिलो र जटिल छ । यहाँ विश्वविद्यालयहरु त प्रशस्त छन् तर तिनीहरुले आशातीत रुपमा खोज तथा अनुसन्धान कार्य गरेको तथा प्राज्ञ, विद्वान र विद्यार्थीलाई त्यस्तो कार्यमा लगाएको पाइँदैन । प्राज्ञिक उन्नयन र अनुसन्धानमूलक कार्यमा हाम्रा विश्वविद्यालयहरु कमजोर नै देखिन्छन् । विश्वविद्यालय आफैंमा प्राज्ञिक र स्वतन्त्र तथा नेतृत्वदायी थलो हुँदाहुँदै पनि यसप्रतिको महत्वपूर्ण जवाफदेहिता र दायित्व भनेको त सरकारको हो । सरकारले कस्तो किसिमको शिक्षा नीति ल्याउने हो, शिक्षालाई कसरी प्रभावकारी बनाउने हो र यसलाई स्रोतयुक्त तथा अनुसन्धानमूलक कसरी बनाउने भन्ने कुरामा सरकारको नीति स्पष्ट हुनुपर्छ ।

हाम्रो शिक्षा अव्यावहारिक र गुणस्तरका हिसाबले दुई खालको भएको भन्ने गुनासोप्रति यहाँको के राय छ ?

यो ठीकै कुरो हो । सरकार स्वयं शिक्षा नीतिमा स्पष्ट हुँदैन र एउटा रोजगारमूलक, समयसापेक्ष र अनुसन्धानमूलक शिक्षाप्रति यथोचित ध्यान दिँदैन भने यस्तो अवस्था आउँछ नै । अर्को कुरा रोजगारमूलक र अनुसन्धानमूलक शिक्षा नहुने अनि अनुसन्धानका लागि यथेष्ट बजेट पनि विनियोजन हुँदैन भने त्यहाँ शिक्षा र देशको स्थिति राम्रो हुँदैन । हामीकहाँ भएको यही हो । राज्य र सरकार स्वयं नै शिक्षा नीतिमा स्पष्ट भएको अझै लाग्दैन । शिक्षा र अनुसन्धानको क्षेत्रमा जति बजेट विनियोजन हुनुपर्ने त्यो भएको अवस्था पनि छैन । अन्य देशमा अभिभावकहरु सरकारी शैक्षिक संस्थामा आफ्ना सन्तान पढाउन लालायित हुन्छन् तर हाम्रो अवस्था उल्टो छ । सरकारले लगानी गरेका विश्वविद्यालय र कलेजहरु छायाँमा परेका छन् । निजी सक्रियता र लगानीमा खोलिएका प्राइभेट कलेज र बोर्डिङहरु अहिले यहाँ भन्ने गरिएको गुणस्तरीय शिक्षामा अगाडि मानिन्छन् । यस्तो किन भयो भने लगानीको दृष्टिकोणले हेर्दा सरकारी विद्यालयमा अध्यापनरत शिक्षकहरु आफैंमा हाइली क्वालिफाइड छन् । किनभने राज्यले उनीहरुलाई यथेष्ठ तालिम दिएको अवस्था छ । तर यहींनिर प्रश्न आउँछ निजीको । सरकारी विद्यालय जहाँ क्वालिफाइड शिक्षकहरु छन्, तालिम प्राप्त शिक्षकहरु छन् तर पनि शिक्षा किन खस्क्यो ? निजी क्षेत्रको लगानीमा सञ्चालित विद्यालय र कलेजहरु किन बढी गुणस्तरका देखिए र अभिभावक तथा विद्यार्थीको आकर्षण किन बढी भयो भनेर खोतल्ने हो भने अन्तर्यमा राजनीति भेटिन्छ । सरकारी कलेज र सरकारी जागिर खाएका शिक्षकको ध्यान राजनीतिमा छ । हाम्रो नेता प्रचण्डले भनेको कुरा पनि सुन्नुभयो होला । उहाँले शिक्षक, प्राध्यापकलाई राजनीतिबाट अलग राख्ने हो भने त राजनीति नगरे हुन्छ भन्नुभयो । यस्तो गैरजिम्मेवार अभिव्यक्ति स्वयं स्थापित दलका नेताबाट आउँदा पढाउने शिक्षकहरु दलका कार्यकर्ता बने । पढाउने भन्दा पनि उनीहरुको ध्यान राजनीतिमा केन्द्रित भएको हुनाले सरकारी शैक्षिक संस्थामा गुणस्तर खस्कन पुग्यो । निजीको कुरा के रह्यो भने त्यहाँ तालिम पाएका र क्षमतावान् जनशक्तिको संख्या कम छ । अर्को कुरा निजीस्तरबाट खोलिएका संस्थाहरु नाफामूलक पनि हुने नै भए । उनीहरुले घरखेत बेचेर संस्था सञ्चालन गरेका छन् । त्यसको प्रतिफल उनीहरुले प्राप्त गर्नु खोज्नु अस्वाभाविक होइन । कम संख्यामा तालिम प्राप्त शिक्षक भएर पनि पढाइ राम्रो निजीमा नै छ, हाम्रो परिप्रेक्ष्यमा । निजीस्तरमा सञ्चालित शैक्षिक संस्थामा अनुशासन छ । त्यहाँ राजनीति हाबी छैन । सञ्चालक आफैं कुनै दलमा आस्था राखे पनि ध्यान आफ्नो संस्थामा केन्द्रित छ । शिक्षक लगनशील छन् । उनीहरुलाई जवाफदेही बनाइएको छ । मजदुर दिनभरि बालुवा बेचेर वा बोकेर भए पनि आफ्ना छोराछोरी बोेर्डिङमा पढाउन चाहन्छन् । सरकारीमा गुणस्तरीय शिक्षा छैन भन्ने अभिमत छ, यथार्थ पनि यही हो । यसको कारण राजनीति हो । कारकहरु राजतीतिक दल र तिनका नेता हुन् ।

अनुसन्धान कार्यमा जुट्दा हाम्रा ऐतिहासिक तथा धार्मिक सम्पदाहरुको अवस्था कस्तो पाउनुभएको छ ?

मैले खासगरी व्यक्तिगत पहल र लगानीमा पोखरा उपत्यकाका मठमन्दिर, गुम्बा र बिहारको बारेमा अध्ययन गरेँ । हामी जस्ता प्राज्ञिकसँग आफ्नो स्रोत र साधनको अभाव हुन्छ । बडो दुख हुन्छ । मभित्र रहेको जुन ज्ञान र सीपलाई सही रुपमा उपयोग गरेर यसलाई बाहिर ल्याउनु ज्यादै गाह्रो कुरा हो । म इतिहासको विद्यार्थी र संस्कृतिप्रति विशेष रुचि राख्ने व्यक्ति । वास्तवमा प्राचीन वा लिच्छवीकालदेखि नै कला, कौशल वा कलाकृति तथा प्राकृतिक स्रोत र साधनबाट यो धनी मुलुक हो । तर यहाँ अहिलेको स्थिति दयनीय छ । कारण, राज्यकै नीति हो । यहाँ पोखरी मासेर घडेरी बनाइएको छ । बाटो चक्ल्याउने नाममा चौतारी मासिएको छ । वातावरणमा यसले नकारात्मक असर परेको छ । प्राचीन कालदेखि नै हाम्रो संरक्षण संस्कृति हो । पाटीपौवा, धारा, चौतारा र मठमन्दिरको संरक्षणको लागि गुठी राख्ने चलन थियो । तर अहिले व्यवस्थित रुपमा चलेका गुठी जग्गाहरु रैकरमा परिणत गरियो । राजनीतिक पहुँचको आधारमा व्यक्तिको नाममा दर्ता गरियो । सम्पदाहरु संरक्षण गर्ने र कला संस्कृति संरक्षणको नीतिमा राज्य स्वयं स्पष्ट छैन । राज्य चलाउनेहरु वास्तवमा नेपालको मौलिक संस्कार र संस्कृतिका विरुद्धमा छन् । आयतीति संस्कृतिका पृष्ठपोषक बनेका छन् । नितान्त सत्ता र शक्तिमा लिन भएको हुनाले हाम्रो मौलिक धर्ममा पनि प्रहार भयो । मुलुकलाई पारिवारिक शक्तीकरणमा रुपान्तरण गरियो । वैदिक सनातनदेखि चलिरहेको धर्म, संस्कृति र परम्परामा खललमात्र होइन, यसलाई निमिट्यान्न पार्न उद्यत छन्, ठूला दलका नेताहरु । उदाहरणको रुपमा संसारमा ७२ देश इसाई धर्मसापेक्ष छन् । ५२ भन्दा बढी देश मुस्लिम धर्म र १२ भन्दा बढी बौद्ध धर्मसापेक्ष राष्ट्र छन् । संसारको एक मात्र देश वैदिक सनातन धर्मसापेक्ष राष्ट्र नेपाल हो । लोकतन्त्र र गणतन्त्रको नाममा हामीले लामो संघर्ष गरे पनि भयो के भने लोकतन्त्र र गणतन्त्र छाडातन्त्रमा रुपान्तरण भयो । यो आफ्नो मौलिक धर्म संस्कृतिको बाधकमा रुपान्तरित भयो । किनभने अहिले स्वयं कतिपय नेताहरु, प्रधानमन्त्री भएका नेताहरु, सभासद भएका नेताहरुलाई सपथ खाँदा ईश्वरको नाम लिंदा पनि अपवित्र भएको ठान्छन् । उनीहरु ईश्वरको नाममा सपथ लिँदैनन् । विश्वका ठूला राष्ट्र भनिनेमा दाहिने हातले बाइबल छोएर छातीमा देब्रे हात राखेर कसम खान्छन् । समग्रमा भन्दा आयातीत धर्म संस्कृतिबाट हाम्रा नेता निर्देशत छन् । आयातीत धर्म संस्कृतिबाट निर्देशित व्यक्तिकै हातमा मुलुक रहेको हुनाले हाम्रो मौलिक धर्म, संस्कृति लोप बनाउने प्रयत्न र कुचेष्टा भइरहेको छ ।

वैदिक सनातनदेखि चलिरहेको धर्म, संस्कृति र परम्परामा खललमात्र होइन, निमिट्यान्न पार्न उद्यत छन्, ठूला दलका नेताहरु

उसो भए नेपाललाई संघीयता पनि नफापेकै हो त ?

हामीले लोकतन्त्र र गणतन्त्र त ल्यायौं । संघीयता पनि प्राप्त गर्‍यौं । संघीयता आफैंमा नराम्रो पनि म भन्दिनँ तर यसलाई सार्थक कसरी बनाउने भन्ने मूल प्रश्न रह्यो । कुनै पनि सिस्टम आफैंमा खराब हुँदैन । सिस्टमको अवधारणा ल्याउने अवधारणाकर्ताले बडो सोचेर, अध्ययन मनन गरेर गम्भीरतापूर्वक एउटा निष्कर्षमा पुगेका हुन्छन् । त्यसको नीति र दर्शन तयार गर्छन् । तर यहाँ सिद्धान्त र व्यवहारमा फरक पाइयो । संघीयता मुलुकको विकासको लागि भन्दा नेताहरु र तिनका परिवारको हितका लागि प्रयोग गरियो । संघीयता नै कति अपरिहार्य भन्ने प्रश्न पनि हाम्रो देशमा आउँछ । वास्तवमा नेपाली जनताले संघीयताको सही अनुभूति गर्न पाएकै छैनन् । किनभने संघीयता भनेको त हिजो भन्ने गरेको सिंहदरबारमा केन्द्रित अधिकार गाउँमा पु¥याउने भन्ने हो । केही सकारात्मक काम नभएका होइनन् तर भयो के भने सत्ता टिकाउने वा निजी स्वार्थमा राजनीतिक दलले संघीयता उपयोग गरे । हाम्रो जस्तो देशमा यति धेरै मन्त्री किन चाहियो? संघीयताको विरोध नगर्दा नगर्दै पनि संघीयता नेपाली जनताका लागि गलगाँड बन्यो । किन बन्यो भने राज्य चलाउनेहरु गैरजिम्मेवार बने । हाम्रोजस्तो देशमा साइकल चढ्ने पनि हाम्रो हैसियत छैन । हाम्रो उत्पादन नै छैन । साइकलको एउटा चेन हामीकहाँ उत्पादन हुँदैन । आज मन्त्री र सभासद् बनेकाहरु विभिन्न समितिका नाममा गाडीहरु चढ्छन् । मुलुकको अर्बौं रुपैयाँ धनराशि गाडीका लागि गएको छ । राजनीतिज्ञहरु नजित्ने बेलासम्म समाजसेवी भन्छन्, जितेपछि स्वयंको सेवी हुन्छन् । आफ्नो र परिवारको भविष्य सुनिश्चित गर्नेतर्फ लाग्छन् । आफ्नो भत्ता आफैं बढाउँछन् । जुन देशमा नीति र थितिको राजनीति हुँदैन, त्यो देश उँभो पनि लाग्दैन । त्यहाँका जनताले सुख पनि पाउँदैन, व्यवस्था चाहे जुनसुकै होस् ।

यही बेला क्षत्री समाज नेपालको आवश्यकता किन पर्‍यो ?

नेपाल यसको अस्तित्वकालदेखि बहुजाति, बहुभाषी, बहुसांस्कृतिक र बहु धार्मिकता भएको देश हो । विविधता र अनेकतामा एकता भएको समाज हो । संसारको इतिहास र सामाजिक बनोटको हिसाबले हाम्रोजस्तो विविधता र अनेकता भएको देश नेपाल नै हो । तर यो समाजलाई भत्काउने प्रयत्न गरियो, राजनीति, आन्दोलन र संघर्षको नाममा । अझ भनौं जनयुद्धको नाममा । आमूल परिवर्तन गर्ने भनेर आएको, प्रचण्डले नेतृत्व गरेको माओवादी शक्ति वा पार्टी नै नेपालको मौलिक संरचना ध्वस्त पार्ने भूमिकामा देखियो । मेरो आपत्ति कहाँनेर हो भने माक्र्स र लेनिनका चेलाहरु वर्गीय चिन्तनमा केन्द्रित भएर वर्गीय कुरा उठाउनुपर्नेमा जातीय कुरा उठाए । वर्गीय चिन्तनको राजनीति गर्नेहरु नै वर्गीय दृष्टिकोणबाट विमूख भए र नितान्त दलीय स्वार्थमा लीन भएर उनीहरुले मुलुकलाई जातिकरण गर्ने प्रयास गरे । दुर्भाग्य हो यो । त्यसैको प्रतिफल हो क्षत्री समाजको गठन । क्षत्री, ब्राह्मण जस्ता जिम्मेवार जाति समुदायहरु राज्य स्वयंबाट तिरस्कृत हुन पुगे । उनीहरुलाई अस्तित्वाविहीन बनाउने प्रयत्न भयो । स्पष्ट संस्कृति र सभ्यता भएकालाई पहिचानविहीन बनाइयो । उनीहरुको पहिचान समाप्त पारी अन्य वा विविधमा राखियो । उनीहरुमाथि आक्रमण गरियो । लखेट्नुपर्छ भन्ने सम्मको कुरा आयो । सडकमा क्षत्रीलाई फाँसी र बाहुनलाई काशी भन्ने नारा लाग्यो । अनि चुप लागेर बस्ने अवस्था भएन । जिम्मेवार राजनीति दलले वर्गीय राजनीति गर्नुपर्नेमा जातीय राजनीतिलाई उचालेर जिम्मेवार जाति समुदायमाथि प्रहार सुरु भएको हुनाले राष्ट्रको अस्तित्व र आफ्नो पहिचानका लागि अपरिहार्य एकता आवश्यकता देखियो । क्षत्री समाज नेपालपछि ब्राह्मण र ठकुरी समाजलगायत गठन भए । क्षत्री समाज बेलैमा नजन्मिएको भए र अन्यको सहयोगमा जातीयताविरुद्ध आन्दोलन गरिन्थेन भने देश गृहयुद्धमा फस्थ्यो । मुलुकको अस्तित्व समाप्त हुने अवस्था थियो । तर हामी क्षत्री, ब्राह्मण, ठकुरी र दशनामीसम्म जिम्मेवार समुदायको रुपमा प्रस्तुत भयौं समयमा नै । २०६९ सालमा हामीले आन्दोलन पनि ग¥यौं । फलस्वरुप जातीय राज्य र गृहयुद्धबाट मुलुक जोगियो ।

तपाईं इतिहास विषयप्रति पनि सम्बन्धित हुनुहुन्छ, यसको महत्वका बारेमा के भन्नुहुन्छ ?

इतिहास समाज र राष्ट्रको ऐना हो । इतिहास अझ संसारकै ऐना हो । अझ इतिहास विज्ञान र कला दुवै हो । घटना विज्ञान हो, त्यसको प्रस्तुति कला हो । इतिहास विगतको पाठबाट वर्तमान हाँक्ने र भविष्यको आकलन गर्ने विद्या हो । पछिल्लो चरणमा कतिपय ठाउँमा इतिहास विषय नपढाउने भन्ने कुरा पनि उठ्यो तर इतिहास, भूगोल, अर्थशास्त्र, राजनीतिशास्त्र यी मानविकीशास्त्रका विषयहरु हाम्रा लागि अपरिहार्य हुन् । इतिहास त सबै विषयको जननीभन्दा हुन्छ । अहिले मैले क्षत्रीहरुको वंशावली लेख्न थालेको कारण के भने आफू र आफ्नो परिवार तथा समाज र देशको बारेमा बुझिएन भने आफ्नो संस्कार र संस्कृतिको बारेमा बुझिएन भने त्यो मानिस र परिवार पहिचान र अस्तित्वविहीन हुन्छ । विद्वानहरुले भनेका पनि छन्,‘कसैलाई पहिचानविहीन बनाउनु छ भने उसको मौलिक संस्कृति र इतिहासमाथि आक्रमण गर्नुपर्छ । हामीकहाँ इतिहास ओझेलमा किन पारियो भने आयातीत संस्कृति, सोच र चिन्तनका कारण तुरुन्त फाइदा लिने प्रवृत्तिका कारण । हिजोे वेद र गीताको व्याख्या गर्नेहरु, हिजो दरबारका गुरु भन्नेहरु नै आज इसाईका पास्टर बनेका छन् । यसमा बढी क्षत्री बाहुन नै छन् । चिन्तन कस्तो भने गरिब र धनीको कुरा होइन, बाँच्न मानिस जसरी पनि सक्छ तर रातारात निहित स्वार्थमा लीन भएर दाम कमाउने प्रवृत्ति हाबी भयो ।

देशकै प्रतिष्ठित पृथ्वीनारायण क्याम्पसको प्रमुख भएर पनि काम गर्नुभयो, आफ्नो कार्यकाललाई कसरी सम्झन चाहनुहुन्छ ?

मलाई एउटा परिवेश र परिस्थितिले क्याम्पस चिफ बन्ने अवसर प्राप्त भयो । मुलुक चरम द्वन्द्वको स्थितिमा रहेको अवस्था वा आफूलाई प्रगतिशील र प्रजातन्त्रवादी भन्ने समूहहरुले आँट गर्न नसक्ने अवस्थामा मैले प्रमुखको जिम्मेवारी सम्हाल्न पुगें । म त्यो परिवेशमा आएँ । म आफैंले भन्नु सान्दर्भिक हुँदैन तर मेरो ४ बर्षे कार्यकाल बडो सन्तुलित रुपमा बिताउन सकें । यसको श्रेय मेरो आफ्नै क्षमताभन्दा पनि मलाई जंगलमा रहने र मंगलमा रहने सम्पूर्ण छोराछोरी, मेरा सबै विद्यार्थी छोराछोरीहरु तथा सबैको मप्रतिको विश्वासको कारणले मैले निर्विवाद रुपमा कार्यकाल सबैको हाइहाई भएर बिताउन सकें । म भाग्यमानी किन पनि हुँ भने मेरो कार्यकालमा कुनै त्यस्तो दुर्घटना भएन । पक्राउका कुरा केही भए तर क्याम्पसभित्र भौतिक सम्पत्ति विनाश बिना नै मैले कार्यकाल पूरा गरें । क्याम्पसकै इतिहासमा चरम द्वन्द्वमा चिफ सम्हाल्न परेको थियो मैले । त्योबीचमा पनि मैले कार्यकाल सफलतापूर्वक र सन्तोषजनक रुपमा पूरा गरें । भौतिक र शैक्षिक उपलब्धिका काम पनि भए ।

अन्त्यमा, यहाँको बुझाइमा राष्ट्रियता के हो ?

राष्ट्रियता कुनै पनि राष्ट्रको मुटु हो, धड्कन हो । जुन मुलुकमा राष्ट्रप्रतिको निस्वार्थ चिन्तन हुँदैन, माया हुँदैन, माटोप्रतिको आबद्धता र त्यसप्रतिको दायित्वको अनुभूति हुँदैन, ती नागरिकहरु राष्ट्रवादी हुन सक्दैन । देश उँभो लाग्न पनि सक्दैन । हामीकहाँ वास्तवमा यस्तै स्थिति छ । आज आम सर्वसाधरण बरु राष्ट्रवादी छन् । किसान र मजदुर सच्चा देशभक्त छन् तर राष्ट्र चलाउनेसँग राष्ट्रियता शून्य छ । यो देशका विद्वान् भन्नेहरु र राज्य चलाउनेहरु राष्ट्रपरक भन्दा पनि विशुद्ध व्यक्तिपरक छन् । हालसम्म भएका सन्धिसम्झौता हेर्दा त्यस्तो देखिन्छ । यसमा एमसिसी पनि जोड्न सकिन्छ । सिमानका कुरा हेर्नुस् । आज राज्यसत्तामा बसेका र आफूलाई स्थापित दलका नेता भन्नेहरुको चिन्तन हेर्नुस् । मुखले एउटा कुरा व्यवहारमा अर्कै कुरा छ ।

सत्ता र प्रतिपक्षमा बस्ने स्थापित दलका नेताहरु विदेशी शक्ति र विदेशी प्रभुलाई खुसी पार्न, रिझाउन र शक्तिमा पुग्न अभ्यस्त छन् । तर पनि राष्ट्रप्रति म एकदमै चिन्तित छु । म त्यस्तो पदीय दायित्व बहन गरेको मानिस त होइन । तर म एउटा प्राज्ञिक व्यक्तित्व भएको नाताले राष्ट्रप्रतिको परिवेश नियालेर हेर्दा अनि यहाँको अवस्था, दल र नेताको चिन्तन र आयातीत संस्कार र संस्कृति सबै नियालेर हेर्दा म ज्यादै चिन्तित छु । यही स्थानीय चुनावलाई हेर्नुस् । अहिले वास्तवमा स्वतन्त्र उम्मेदवार किन लोकप्रिय हुँदै छन्? यसको रिफ्लेक्सन के हो भने राजनीतिक पार्टी र तिनका नेताहरुप्रति जनताको विश्वास छैन । नेतालाई शिक्षा के भने जनताको असन्तुष्टिको प्रतीकात्मक प्रस्तुति हो यो चुनाव । अब नेता र पार्टीहरु मुलुकप्रति जवाफदेही हुन जरुरी छ ।

Related News

सम्बन्धित समाचार

hero news full width