चुनावको जात्रा, मकैको व्यापार

धनबहादुर गुरुङ
जेठ ११, २०७९
Makai Story Photo

पोखरा । भुंग्रोमा मकैका घोगा ओल्टाइपल्टाइमै दिन बित्छ, अचेल पोखरा ७ कि कल्पना मगरका आमाछोरीको । छोरी नानुमायाले मकै खोस्टाउने र बेच्ने अनि आमाले भुंग्रोमा मकै पड्काउँछिन् । पोखरामा अहिले कुनै मेला महोत्सव र जात्रा त छैन तर स्थानीय तह निर्वाचन मतपरिणामको नतिजा सुन्ने नेता तथा कार्यकर्ताको हुलले जात्राभन्दा कमी छैन । गएको ११ दिनयता मानिसको भीड थामिनसक्नु छ, सहिदचोक र पार्कमा ।

बिहानदेखि नतिजा सुन्न बसेको नेता कार्यकर्ताको खाजाको जोहो नै मकै, चटपट र काँक्रोले गरेको छ । सहिदचोकको फुटपाथको वारपार मकै पोल्ने, काँक्रो र चटपट बेच्नेको लर्को छ । त्यही भीडमा ५६ वर्षीया कल्पना र उनकी छोरी बिहान १० देखि ७ बजेसम्म आगोको रापमा व्यस्त हुन्छिन् ।

पतिको मृत्युपछि हातमुख जोर्न समस्या हुँदा कल्पनाले यो काम थालेकी हुन् । छोरीको बिहे भए पनि बाबु बितेपछि नानुमाया आमासँगै छिन् । छोरीसँगै साथमा छोरा पनि छन् । उनीहरुको कमाइ नै मालपोत कार्यालय अगाडि सिजन अनुसारका फलफूल बिक्री गर्नु हो । वैशाख पहिलो हप्तापछि चुनावी सरगर्मीले व्यापार ओरालो लाग्दा अहलिे गणनाको दौरान ग्राहको भीडले राहत मिलेको छ, उनीहरुलाई ।

वैशाख ३० को मतदानलगत्तै भोलिपल्टदेखि गणना हुने भएपछि उनीहरु सहिदचोकतिर हानिएका हुन् । अनि व्यापारले गति लियो । मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट हुने माइकिङ र जीत हारले आमाछोरीलाई कुनै प्रभाव पार्दैन । न कुनै पार्टीको मतलब छ, न विजयी र्‍यालीको । चासो छ त, कति घोगा मकै बिके ? कति पैसा जम्मा भयो ?

मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट हुने माइकिङ र जीत हारले आमाछोरीलाई कुनै प्रभाव पार्दैन

जीतको खुसीमा त्यहाँ सुरु हुने विजयी ¥यालीमा नेता कार्यकर्ताको भीडले उनीको व्यापार उकालो लागेको छ । पहिले दैनिक ३ सय बचत हुन समेत धौंधौं परेकोमा अचेल ८ सयदेखि १ हजारसम्म बचत गर्न भ्याएका छन् । ‘पहिले मकै खरिद गरेको रकम कटाएर दिनमा २÷३ सय बचाउन पनि गाह्रो हुन्थ्यो,’ कल्पनाले भनिन्, ‘अहिले राम्रै कमाइ भएको छ, के ढाँट्नु छ र, दिनमा ८/९ सय कमाइ हुन्छ ।’

त्यसैले अचेल बिहान बेलुकाको छाक टार्न सहज बनेको कल्पना बताउँछिन् । पोखराको विभिन्न स्थानसँगै कास्की आसपासबाट घोगासँगै खरिद गर्ने मकै पोलेर बेच्दा प्रतिघोगा ५० रुपैयाँका दरमा बेच्छन् ।

मतगणना आखिर हुँदै गर्दा उनीहरुलाई भने पिर पर्न थालिसकेको छ । चुनावी जात्रा सकिएपछि कर्मथलो उही मालपोत कार्यालय वरिपरी हो । त्यहाँ बस्दा पनि नगरपालिकाले फुटपाथमा व्यापार गरेको भन्दै उर्दी जारी गर्छ । व्यापार कम हुने अनि नगरपालिकाको हेपाहा प्रवृत्तिले आजित उनीहरु फेरि त्यही भुमरीमा जानुपर्ने कारण चिन्तामा छन् । ‘अहिले त यहाँ राम्रो छ नि ! व्यापार पनि राम्रो छ, कहिलेकाहीं प्रहरी फुटपाथमा नबेच्न त भन्छ तर पहिला जस्तो समस्या छैन,’ उनले भनिन्, ‘अब यहाँ मत गन्ने काम सकिन लाग्यो भन्छन् फेरि पुरानै ठाउँमा फर्किनु पर्छ ।’

कल्पनाको आमा छोरीजस्तै सहिदचोक क्षेत्रमा मकै बेच्नेहरु १२ जना जति छन् । उत्तिकै संख्यामा काँक्रो र चटपट बेच्नेहरु पनि छन् । निर्वाचनले उनीहरुको व्यापारमा राम्रो भएको बताउँछन् ।

Related News

सम्बन्धित समाचार

hero news full width