ढल्केबरको तरबुजा बेंसीसहरमा

आदर्श समाज सम्वाददाता
जेठ ९, २०७९
news tarbuja

लमजुङ । लमजुङको जिल्ला सदरमुकाम बेंसीसहरमा यतिबेला धनुषाको ढल्केबरमा उत्पादन भएको तरबुजा धमाधम बिक्री भइरहेको छ । २ दाजुभाइ व्यवसायीले मिनी ट्रकमा राखेर बेंसीसहरको टोल– टोलमा लगेर सो तरबुजा बिक्री गरिरहेका छन् ।

कलैया नगरपालिका– ६ को वसन्तपुर टोल निवासी विनोद चौधरीका दाजु भाइले व्यापार व्यवसाय गर्नका लागि मिनी ट्रकसमेत किनेका छन् । उनका अनुसार केराको सिजनमा केरा बिक्री गर्छु, अहिले जेठ महिनाभर तरबुजा नै बिक्री हुन्छ । उनले भने ‘ट्रक आफैंले चलाउने गरेको छु ।’

ट्रकमा ल्याएको तरबुजा बिक्री गर्न प्रचारका लागि ती दाजुभाइले ट्रकमा एउटा सानो माइक जोडेर निरन्तर विज्ञापन बजाउने गरेको बताए । ‘ल आउनु होस्, जाता, मिठो तरबुजा खानु होस् । सस्तो मीठो ! आउनु होस् ! आउनु होस् ! तरबुजा खानु होस् ।’ त्यही आवाजले मानिसलाई उनीहरूतर्फ आकर्षण गर्दो रहेछ ।

यसअघि ४ पटक तरबुजा बोकेर आफूहरू बेंसीसहरमा आएको रेशम चौधरीले बताए । उनकाअनुसार तनहुँको डुम्रे बजारदेखि नै बेच्दै आएका हौं,’ तनहुँको भन्सार, तुरतुरे, बाइसजाँघर तथा कालीमाटी बजारमा पनि तरबुजा बिक्री भएको उनले जानकारी दिए । उनले भने, ‘लमजुङको पाउँदी बजार, भोटेओडार, उदीपुर बजारमा पनि केही बिक्री भयो, त्यसपछि बेंसीसहर आएका हौं ।’

त्यहादेखि यहाँ आएर मुनाफा हुन्छ त ? भन्ने जिज्ञासामा ‘होलसेलमा ३० रुपैयाँ प्रति केजीमा किनेका हौं, यहाँ ५० रुपैयाँमा केजीको दरमा बिक्री भइरहेको छ’ विनोदले भने । उनका अनुसार ढल्केबरदेखि बेंसीसहर आउन २ दिन लाग्यो । बीचमा १ दिन गाडी बिग्रिएर बनाउनमै लाग्यो । पसलमा बिक्री गरे हुन्न ? भन्ने अर्को जिज्ञासामा भने,‘हुन्छ हुन त तर यसरी बेच्दा तत्कालै नगद हातमा आउँछ, होलसेलवालाले पैसा १ वर्षसम्म पनि झुलाउने गर्छ,’ उनले भने ।

ट्रकमा ल्याएको तरबुजा सस्तो हुन्छ, पसलमा किन्न जाँदा यतिबेला ७०/७५ रुपैयाँप्रति केजी भन्ने गरेको सुनाउँछिन् बेंसीसहर ८ बस्ने लक्ष्मी पौडेल ।

विनोद भन्छन्, ‘बजारको तरबुजा भन्दा यो केही खल्लो छ तर यो शुद्ध हो । बजारमा पाइने तरबुजा भारतबाट आएको हो, त्यो अलिक बढी गुलियो हुन्छ, त्यसमा सुई लगाएर त्यस्तो बनाएको हो ।’ यसलाई १/२ घन्टा फ्रिजमा राखेर खायो भने अझै मीठो हुन्छ,’ उनले दाबी गरे । गाडीले एक पटकमा २ टन बोक्ने गरेको उनले बताए । बेंसीसहरमा आफूले ३ वर्षदेखि यस्तो व्यापार गर्दै आएको विनोदले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width