मादीका कान्छा वडाध्यक्ष देवीजंगको योजना : दलित विद्यार्थीलाई छात्रवृत्ति, सिक्लेस–मनाङ पदमार्ग विकास

आदर्श समाज सम्वाददाता
जेठ ८, २०७९
devijung gurung

पोखरा । कास्कीको मादी गाउँपालिका, १ सिक्लेसका देवीजंग गुरुङ २०७४ सालमा वडाध्यक्षमा पराजित भए । त्यतिबेला उनी आफैलाई पढाएका शिक्षक सुरज गुरुङसँग १२६ मतले हारेका थिए ।

यसपटक १२ वडामध्ये सर्वाधिक १६५ मतान्तरले देवीजंग वडाध्यक्ष निर्वाचित भएका छन् । उनले नेकपा एमालेका उमरबहादुर गुरुङलाई हराएर वडाध्यक्ष बनेका हुन् । देवीजंगले ८ सय २८ मत पाउँदा उमरले ६ सय ६३ मत पाए । ३० वर्षीय देवीजंग मादीकै कान्छा वडाध्यक्ष हुन् ।
मादी १ नेकपा एमाले कास्की अध्यक्ष मनबहादुर गुरुङको वडा हो । २०५४ सालदेखि एमालेले जितेको ठाउँ यसपटक कांग्रेसले जितेको हो । एमालेको किल्ला मानिने वडा तोडेका देवीजंग कांग्रेस मादी गाउँपालिका कमिटी सचिव हुन् ।

वडाध्यक्ष देवीजंगले जनताको दैनिकीसँग जोडिएका विषय आफ्नो विशेष प्राथमिकता हुने बताए । पाँच वर्षमा पर्यटन विकासका योजना ल्याउने, यातायातको सहज व्यवस्था गर्ने उनले सुनाए । दलित समुदायका युवा–युवती आर्थिक अभावले बीचमै पढाइ छोड्ने गरेका छन् । देवीजंग उनीहरुलाई अध्ययनमा निरन्तर गराउन चाहन्छन् । ‘दलित समुदायको जो उच्च शिक्षा ब्याच्लर पढ्न चाहन्छ । वडाबाट छात्रवृत्तिको व्यवस्था गर्छु,’ उनले भने ।

सामाजिक सुरक्षा भत्ता वितरणलाई टोलस्तरमा पु¥याउने योजना देवीजंगले बनाएका छन् । सोँदा, खिलाङ, नयाँगाउँलगायत गाउँका बासिन्दा भत्ता लिन सिक्लेस जानुपर्छ । त्यो असुविधा हटाएर टोलटोलमा गएर भत्ता दिने व्यवस्था गर्ने देवीजंगको योजना छ । ‘ठूलो योजना केही छैन । जनताको दैनिकी मुख्य जोड हो । भौगोलिक हिसाबले हाम्रो वडा ठूलो छ । टाढाबाट सिक्लेस नै आउनुपर्ने बाध्यता छ,’ उनले आफ्नो योजना सुनाए, ‘सामाजिक सुरक्षा बैंकसँग सहकार्य गरेर सबै गाउँका टोलटोलमा बाँड्ने योजना छ ।’

प्रसिद्ध पर्यटकीय गाउँ सिक्लेसदेखि मनाङसम्म पदमार्ग विकास गर्न प्रयास गर्ने देवीजंगले सुनाए । ‘सिक्लेसदेखि मनाङसम्मको पदमार्ग विकासको योजना छ,’ उनले थपे, ‘माछापुच्छ«े गाउँपालिकासँग जोडिने टिइँ भन्ने ठाउँ छ । त्यहाँ जाने पदमार्गलाई प्रवद्र्धन गर्ने योजना छ । त्यहाँबाट ५÷७ वटा हिमाल मज्जाले देख्न सकिन्छ ।’

पछिल्लो तीन वर्षयता चर्चामा रहेको कपुचे हिमताल पनि यही वडामा पर्छ । सिक्लेसबाट कपुचे जान ८ घण्टा हिँड्नुपर्छ । हुगु भन्ने ठाउँ नपुग्दासम्म ६ घण्टाबीच बास बस्ने ठाउँ र टि सप छैन । पर्यटकलाई सहज हुने गरेर रुटको कुनै ठाउँमा बास बस्ने व्यवस्था मिलाउने देवीजंगको योजना छ ।
सिक्लेसदेखि कपुचेसम्म घोडा यात्रा गराउने योजना गाउँपालिका अध्यक्ष देवीजंग गुरुङले बनाएका छन् । ‘कपुचेमा व्यवस्थित होटल छन् । अब त्यतिले पुग्दैन, त्यसैले बीचमा पनि केही पूर्वाधार बनाउनुपर्छ,’ देवीजंगले थपे, ‘सिक्लेसबाट कपुचे जान गाउँपालिकाले निश्चित शुल्क लिएर घोडा यात्रा गर्ने गाउँपालिका अध्यक्षको योजना छ । यो काम पनि हुन्छ ।’

रेडियो अन्नपूर्ण, कास्की आवाज पत्रिकामा काम गरेको अनुभव देवीजंगसँग छ । देवीजंग नेपाल पत्रकार महासंघ, कास्कीको पूर्व कार्यसमिति सदस्य हुन् । उनी सिक्लेस युवा क्लबसहित गुरुङ समुदायसम्बद्ध संघसंस्थामा पनि आबद्ध छन् । कास्कीका यज्ञबहादुर थापा कानुनमन्त्री हुँदा उनले सचिवालयमा बसेर काम गरेका थिए ।

मादी १ मा कांग्रेसले प्यानलै जितेको छ । खुला सदस्यमा प्रेमबहादुर गुरुङ, खरजङ गुरुङ, महिला सदस्यमा माया भुजेल, दलित महिला सदस्यमा जितकुमारी सुनार निर्वाचित भएका छन् । गाउँपालिका अध्यक्षमा कांग्रेसकै देवीजंग गुरुङ र उपाध्यक्षमा एमालेकी कल्पना गुरुङ पाँच वर्षलाई निर्वाचित भएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width