गण्डकी : ८५ पालिकामध्ये ३ मा मात्रै महिला नेतृत्व

प्रकाश ढकाल
जेठ ८, २०७९
Mat Ganana

पोखरा । अघिल्लो निर्वाचनबाट गण्डकी प्रदेशका ६ पालिकामा महिला प्रमुख निर्वाचित भएका थिए । हुप्सेकोट, पुतलीबजार, दुधपोखरी, धवलागिरी, म्याग्दे र कावासोतीको प्रमुख महिला थिए । हुप्सेकोटमा लक्ष्मीदेवी पाण्डे, पुतलीबजारमा सीमा क्षत्री, दुधपोखरीमा छुपीमाया गुरुङ, धवलागिरीमा थमसरा पुन, म्याग्देमा माया राना र कावासोतीमा चन्द्रकुमारी पुन प्रमुख थिए ।

यसपालिको स्थानीय तह निर्वाचनबाट गण्डकी प्रदेशभित्र महिला नेतृत्व निकै खुम्चिएको छ । अहिले पालिका प्रमुखमा ३ जनामात्रै महिला निर्वाचित भए । नवलपुरको हुप्सेकोट गाउँपालिकामा कांग्रेसबाट लक्ष्मी पाण्डे, पर्वतको मोदी गाउँपालिकामा एमालेबाट हिरादेवी शर्मा र बागलुङको बडिगाढ गाउँपालिका अध्यक्षमा कांग्रेसकै गण्डकी थापा अध्यक्षमा चुनाव जितेका हुन् । प्रदेशभरीमा ४१ जना महिलाले पालिका प्रमुखमा उम्मेदवारी दिएका थिए ।

ठूला राजनीतिक पार्टीबाट भने खासै धेरै उम्मेदवारी परेको थिएन । एमालेले सबैभन्दा धेरै ८ पालिकामा प्रमुख महिला उठाएको थियो भने कांग्रेसले ७ ठाउँमा उठाएको थियो । माओवादीले भने २ जना मात्रै महिला प्रमुखमा टिकट दिएको थियो । गण्डकीका ८५ मध्ये २१ वटा स्थानीय पालिकामा महिलाले उपप्रमुख समेत गुमाएका छन् । ती पालिकामा प्रमुख र उपप्रमुख दुवैमा पुरुष निर्वाचित भएका छन् । अधिकांश गठबन्धन गरिएका पालिकाहरूमा यस्तो नतिजा आएको छ । गोरखा, स्याङ्जा, नवलपुर र कास्कीका सबै पालिकामा महिला उपस्थिति छ ।

मनाङको नासोंमा कांग्रेस–माओवादी गठबन्धनबाट माओवादीका देवबहादुर गुरुङ निर्वाचित भए भने मनाङ ङिस्याङ गाउँपालिकामा एमालेले स्वतन्त्र उम्मेदवारलाई सघाएर छिरिङ गुरुङ निर्वाचित भए । चामे गाउँपालिकामा भने २ पार्टीबीच प्रतिस्पर्धा हुँदा अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेस विजयी भएका छन् । यहाँ कांग्रेसले महिला प्रमुख र पुरुष उपप्रमुख टिकट दिएको थियो । चामेको उपाध्यक्षमा मिङमर ढोमा लामा विजयी भए । उता नार्पाभूमि गाउँपालिकामा एमालेकै पुरुष उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । यहाँ एमालेले अध्यक्ष उम्मेदवार उठाएको थिएन ।

गण्डकीका ८५ पालिकामध्ये २१ स्थानीय पालिकामा महिलाले उपप्रमुख समेत गुमाएका छन्

दोर्दीमा कांग्रेस–माओवादी गठबन्धनबाट माओवादीका क्षेत्रबाहादुर गुरुङ, राइनासमा पुष्पराज खनाल, दोर्दीमा कांग्रेसका विच्छबहादुर घले, तनहुँको देवघाटमा माओवादीका भुवनसिंह गुरुङ, म्याग्देमा कांग्रेसका बालकृष्ण घिमिरे र शुक्लागण्डकीमा माओवादीका खुमबहादुर विक निर्वाचित भए । म्याग्देमा कांग्रेसले अध्यक्षमा महिला र उपाध्यक्षमा पुरुष उठाए पनि अध्यक्ष पराजित भएकी थिइन् ।

बागलुङको ढोरपाटनमा कांग्रेसका धनबहादुर कायत, गलकोटमा माओवादीका फमलाल न्यूरे, ताराखोलामा कांग्रेसका भीमबहादुर रोका, निसीखोलामा माओवादीका प्रेमबहादुर घर्ती, काठेखोलामा जनमोर्चाका तेजबहादुर थापा, बागलुङमा माओवादीका राजु खड्का, जैमिनीमा कांग्रेसका हरिहर शर्मा र बरेङमा कांग्रेसकै दिलीपकुमार पुन निर्वाचित भएका छन् । नवलपुरको हुप्सेकोटमा अध्यक्ष महिला हुँदा उपाध्यक्ष पुरुष छन् भने अरु सबै पालिकामा पुरुष प्रमुख र महिला उपप्रमुख छन् । सबैभन्दा बढी महिलाको उपप्रमुख खोसिएको बागलुङमा हो । पर्वतमा पनि जलजलामा माओवादीका दीपक आचार्य, म्याग्दी धवलागिरीमा माओवादीका रेशम पुन र मुस्ताङको थासाङमा कांग्रेसका सोमल हिराचन निर्वाचित भए । अरुमा गठबन्धनका कारण भएपनि मुस्ताङको थासाङमा अध्यक्ष कांग्रेसले र उपाध्यक्ष एमालेले हारेका कारण महिला शून्य भएको हो । यहाँको अध्यक्षमा कांग्रेसले महिला र एमालेले उपाध्यक्षमा महिला उठाएको थियो ।

प्रमुख र उपप्रमुख मात्रै होइन, वडाध्यक्षमा पनि महिलाको उपस्थिति निकै न्युन छ । यहाँका ७ सय ५९ वडामध्ये १८ वडामा मात्रै महिला अध्यक्ष निर्वाचित भएका छन् । गण्डकीका केही गाउँपालिका यस्ता पनि छन्, जहाँ महिला र दलित महिला सदस्य पद खाली भएको छ । हिमाली जिल्लाका २७ वडामा दलित महिला सदस्य र एउटा वडामा महिला सदस्यको पद रिक्त भएको छ । गोरखाको चुमनुब्री १, ४, ५, ६ र ७ नम्बर वडामा दलित महिला सदस्य छैनन् । मनाङको नार्पाभूमि १ मा महिला र दलित महिला सदस्य छैनन् । दलित महिला सदस्य यो गाउँपालिकाको कुनै पनि वडामा छैनन् । मनाङ ङिस्याङको १, २, ७ र ८ नम्बर वडामा पनि दलित महिला सदस्य छैनन् । नासोंको २, ३, ६ र ७ मा दलित महिला सदस्य छैनन् ।

मुस्ताङको लोमान्थाङमा दलित महिला सदस्य ‘निल’ भएका छन् भने लो घेकर दामोदरकुण्ड गाउँपालिकाको २ नम्बर वडाबाहेक अरु वडामा दलित महिला सदस्य छैनन् । महिलाहरूलाई राजनीतिमा कम चासो हुने र राजनीति गर्नेलाई पनि पुरुषले नेतृत्वमा रोक्ने गरेका कारण नेतृत्वमा जान नसकेका हुन् ।

Related News

सम्बन्धित समाचार

hero news full width