पोखरामा एमालेको वडा खोस्दै कांग्रेस

आदर्श समाज सम्वाददाता
जेठ ६, २०७९
Mat Ganana

पोखरा । स्थानीय तह निर्वाचनअन्तर्गत पोखरा महानगरपालिकामा शुक्रबारसम्म १६ वटा वडाको टुंगो लागेको छ । अन्तिम मतपरिणाममा सत्ता गठबन्धनअन्तर्गत नेपाली कांग्रेसले ११ र प्रमुख प्रतिपक्षी नेकपा एमालेले ५ वटा वडामा आफ्नो नाम लेखाउन सफल भएका छन् । एमालेले विगतमा जितेका ५ वटा वडामा यसपालि कांग्रेसको नेतृत्व आयो । बाँकी ६ वटा उसले विगतमा जितेकै वडा हुन् । तर पोखरा वडा नम्बर ६ भने कांग्रेसले गुमायो ।

गएको एक सातादेखि जारी मतगणनामा हालसम्म पोखरा वडा १, २, ३, ४, ५, ६, ७, ८, ९, १२, १३, २०, २३, २४, २५ र २६ को टुंगो लागेको छ । तीमध्ये वडा ७, १३, २४, २५ र २६ नम्बर वडा एमालेले गुमाउन पुग्यो । पोखराको सहिदचोकमा अन्य वडाको जारी मतगणनामा पनि एमालेले विगतमा पकड जमाएका वडा १४, १६, २७ र २८ मा कांग्रेसले अग्रता लिएको छ ।

पछिल्लो २४ घण्टामा पोखरा महानगरका विभिन्न ४ वटा वडाको अन्तिम परिणाम सार्वजनिक हुँदा २/२ वडा कांग्रेस र एमालेले बाँडेर लिए । वडा ८ र २० एमालेले जित्दा ७ र ९ कांग्रेसको पक्षमा गएको छ ।

पोखरा ७ वडाध्यक्षमा नेपाली कांग्रेसका राममोहन आचार्य निर्वाचित भए । उनले नेकपा एमाले उम्मेदवार किशोर बराललाई ९९ को झिनो मतान्तरले हराए । आचार्यले १ हजार ३ सय ८३ मत प्राप्त गर्दा बरालले १ हजार २ सय ८४ पाए ।

वडाध्यक्ष कांग्रेसले जिते भने अन्य ४ सदस्य एमालेले जितेको छ । महिला सदस्यमा बसुन्धरा लामिछाने (१३२३), दलित महिला सदस्य सुनिता सुनार (१२९५), खुला सदस्यमा अर्जुन थापा (१२७६) र विष्णुमणि बराल (१३०२) मत ल्याउँदै निर्वाचित भएका हुन् । पोखरा ८ यसअघि एमालेले जितेको वडा हो ।

पोखरा वडा ८ र २० एमालेले जित्दा ७ र ९ कांग्रेसको पक्षमा गएको छ

यस्तै, पोखरा ९ अध्यक्षमा कांग्रेसका दीपेन्द्र मर्सानी विजयी भए । उनले एमालेका प्रेमबहादुर गुरुङलाई पराजित गरे । मर्सानीले १ हजार ५ सय ७४ मत प्राप्त गर्दा प्रेमबहादुरले ८ सय ५५ मत प्राप्त गरे । प्यानल नै जितेको कांग्रेसले महिला सदस्यमा भावना श्रेष्ठ (१४५०), महिला दलित सदस्य गीता नेपाली (१५०३), खुला सदस्य नन्नराम गिरी (१३५६) र लक्ष्मी पहारी (१२९८) लाई पायो ।

पोखरा २० अध्यक्षमा एमालेका गंगाबहादुर खत्री निर्वाचित भए । उनले १ हजार २ मत प्राप्त गर्दा कांग्रेसका महेन्द्र अधिकारीले ७ सय ९५ मत ल्याए । महिला सदस्यमा एमालेकी मीना पौडेल १ हजार २ सय ८७ मत ल्याउँदै निर्वाचित भइन् ।

दलित महिला सदस्यमा एमालेकी रुपा सार्की १ हजार ३ सय ७ मत सहित निर्वाचित भइन् । खुला सदस्यमा एमालेका उत्तम गुरुङ (१२१३) र एमालेकै गजमान गुरुङ (११९३) विजयी भए ।

पोखरा ८ मा एमालेको प्यानल नै विजयी हुँदै विरासत जोगायो । रुद्रनाथ बराल फेरि अध्यक्षमा दोहोरिएका हुन् ।

बरालले २ हजार १ सय ४० मत ल्याउँदै पुनः निर्वाचित हुँदा उनका निकतम् प्रतिस्पर्धी नेपाल कांग्रेसका शारदा गिरीलाई पराजित गरेका हुन् । गिरीले १ हजार ४ सय ८८ मत प्राप्त गरिन् । वडा सदस्य गोविन्द बराल, हिराकाजी श्रेष्ठ, पवित्रा पौडेल र लक्ष्मी विक निर्वाचित भए ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग