पोखरा महानगरमा मतान्तर बढाउँदै धनराज

रासस
जेठ ५, २०७९
Dhanraj-krishna

कास्की । स्थानीय तह निर्वाचन–२०७९ अन्तर्गत पोखरा महानगरपालिकाको मतगणना वैशाख ३१ गतेदेखि जारी छ । पोखरा–७ सहिदचोकस्थित उपत्यका नगर विकास समिति र जिल्ला समन्वय समितिको सभाहलमा भइरहेको गणनामा आज साँझसम्म सत्तारुढ गठबन्धनबाट महानगर प्रमुखमा नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार धनराज आचार्यले मतान्तर बढाउँदै जानुभएको छ ।

यसैगरी उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार कोपिला रानाभाटको पनि केही मतको अग्रता छ । पोखरामा हालसम्म ५५ हजार २६७ मतगणनामा गठबन्धनबाट प्रमुखका उम्मेदवार आचार्यको दुई हजार ७२० मतान्तरले अघि हुनुहुन्छ ।

आचार्यले २२ हजार ८५२ मत प्राप्त गरेर अग्रता कायम राख्दा उहाँका प्रत्यासी एमालेका कृष्ण थापाले २० हजार १३२ मतसहित पछ्याइरहनुभएको छ । यसैगरी राप्रपाका शङ्कर खरालले दुई हजार ३०४ र स्वतन्त्रका अटेरी उम्मेदवार गनेस पौडेलले एक हजार ३१२ मत प्राप्त गर्नुभएको छ ।

उपप्रमुखमा कांग्रेसका कोपिला रानाभाट १४३ मतले अघि हुनुहुन्छ । रानाभाटले २३ हजार १६४ मत प्राप्त गर्दा एमालेका मञ्जुदेवी गुरुङको २३ हजार २१ मत छ । राप्रपाका रञ्जना सेनले दुई हजार ९९ मत प्राप्त गर्नुभएको छ । पोखरा महानगरका ३३ वडामध्ये हालसम्म १२ वटा वडाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । जसमा नेपाली कांग्रेसले नौ वडामा जीत हासिल गरेको छ भने एमालेले तीन वडा जितेको छ । नेपाली कांग्रेसले वडा नं २, ३, ४, १२, १३, २३, २४ ,२५ र २६ नं वडा जितेको छ । नेकपा (एमाले) ले वडा नं १, ५ र वडा नं ६ जितेको छ । हाल वडा नं ७, ८, ९, १४, २७, २८ र वडा नं २९ को गणना भइरहेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width