माओवादीका एजेन्डामा अरु दलले रजाइँ गरेका छन् : किरणप्रसाद भट्टचन

आदर्श समाज सम्वाददाता
वैशाख २६, २०७९
Bhattchan

किरणप्रसाद भट्टचन नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का तर्फबाट पोखरा महानगरपालिका वडा नम्बर १० मा आउँदो स्थानीय तह निर्वाचनका लागि खुला सदस्य पदका उम्मेदवार हुन् । माओवादी १० नम्बर वडा कमिटीको अध्यक्षसमेत रहेका भट्टचन राजनीतिका अतिरिक्त समाजसेवाका क्षेत्रमा पनि उत्तिकै सक्रिय छन् । बाबु बाजेको थातथलो मुस्ताङ भए पनि उनी पोखरा रामबजारमा नै जन्मे र त्यहीं हुर्किए । उनी स्थानीय दुची टोल विकास संस्था, खानेपानी उपभोक्ता समिति, बाटो निर्माण समिति र थकाली राष्ट्रिय मुक्ति मोर्चा कास्कीको अध्यक्ष हुन् । यसैगरी थकाली सेवा समितिको केन्द्रीय उपमहासचिव र नेपाल रेडक्रस सोसाइटी पोखरा महानगरपालिका उपशाखा कोषाध्यक्षको जिम्मेवारी पनि उनले निर्वाह गरिरहेका छन् । समाजसेवाका लागि विगत र वर्तमानमा आफूले गरेका काम तथा राजनीतिक सक्रियताका कारण आफ्नो जीत सुनिश्चित भएको बताउने भट्टचनसँग आदर्श समाज प्रतिनिधिले गरेको कुराकानीको सारसंक्षेप यहाँ प्रस्तुत गरिएको छ :

तपाईंका मुख्य चुनावी एजेन्डाहरु के–कस्ता रहेका छन्?

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले पनि देशको विकास निर्माणमा केही गर्नुपर्छ, सुशासन र शान्ति, सुरक्षाका लागि काम गर्नुपर्छ अनि आफ्नो वडाको विकासको लागि केही न केही गर्नुपर्छ भन्ने सोचका साथ मेरो उम्मेदवारी आएको हो । म विजयी भएपछि वडा नम्बर १० लाई सफल वडाको रुपमा अगाडि बढाउन हामी हरहमेसा लागिरहने छौं । यस चुनावमा विजयी भएमा बुद्धचोक र अमरसिंह चोकमा आकासे पुल बनाउने छौं । केन्द्र, प्रदेश, महानगरपालिका र वडामा समन्वय गरेर हामी यो काम गर्नेछौं । यसैगरी खानेपानीको व्यवस्था, बालमैत्री वातावरण, घरघरमै वृद्धभत्ता पुर्‍याउने योजना, स्तरीय र गुणस्तरीय पिच बाटोहरुको निर्माण पनि हाम्रा योजनाहरु छन् । ढल, खानेपानी, बिजुली र टेलिफोनको उचित व्यवस्था तथा जनगुनासो सुन्न गुनासोपेटिका राख्ने लगायत कामलाई पनि हामीले ध्यान दिनेछौं । शिशु स्याहार केन्द्र, सामुदायिक विद्यालय र बजारलार्ई व्यवस्थित गर्ने, सेती नहर र पोखरा रंगशालाको व्यवस्थापन, सार्वजनिक पुस्तकालय स्थापना र सिसी क्यामेरा जडान, औद्योगिक क्षेत्रबाट निस्कने फोहोर र प्रदूषणको उचित व्यवस्थापन, रामघाटामा आधुनिक दाहसंस्कार स्थल, सुकुमवासीलाई लालपूर्जा वितरण, अशक्त, विपन्न र असहायलाई निशुल्क स्वास्थ्य सेवाजस्ता विषयलाई पनि हामीले घोषणा पत्रमा समेटेका छौं । यी एजेन्डा लागु गर्न र वडाको विकासका लागि जसरी हुन्छ कटिबद्ध भएर म लाग्नेछु ।

५ दलीय गठबन्धनबाट चुनाव लड्ने कुरा थियो तर यहाँ दलहरु एक्लाएक्लै चुनाव लड्ने अवस्था कसरी सिर्जना भयो?

केन्द्रीयस्तरमा ५ दलको सरसल्लाहअनुसार गठबन्धनको कुरा आएको हो र हामीले पनि यहाँ गठबन्धन हुन्छ भन्ने आशा गरेका थियौं । तर कुरा के भने हाम्रो पार्टी पछि जन्मिएको भए पनि हामी कमजोर छैन भन्ने हिसाबले पार्टी एक्लै चुनाव लड्ने निष्कर्षमा पुगेको हो । निकै पहिलाबाट कांग्रेस र एमाले जस्ता दलहरु जरा गाडेर बसेका छन्, त्यस्ता दलसँग चुनाव लड्नु गाह्रो त निश्चय नै छ तर हामी सशक्त रुपमा अगाडि बढ्नेछौं । नयाँ दललाई व्यवस्थापन गर्न र राजनीति क्षेत्रमा आउनलाई निकै गाह्रो हुन्छ अनि हामी जस्ता सयौं पार्टी पनि रहेका छन् । तर पनि मैले निर्वाचन आयोगमा उम्मेदवारी दिएँ । शून्य मत ल्याउनेदेखि हजारौं मत ल्याउने पनि आयोगमा उम्मेदवारी दर्ता गर्न तामझामका साथ पुगेका थिए । हामी त राष्ट्रियस्तरमा तेस्रो हैसियत भएको दल हो, नोमिनेसन नगर्ने कुरै भएन । २०६४ सालमा माओवादी पहिलो दल भएकै हो तर आन्तरिक खिचातानीले अहिले तेस्रोमा खुम्चिएका छौं । तर गर्व गर्न लायक के छ भने देशमा अहिले जुन एजेन्डाहरु स्थापित भएका छन् ती सबै माओवादीकै कारण आएका हुन् ।

पार्टी कमजोर होला म कमजोर छैन । अरु पार्टीमा विश्वास छैन किनभने एजेन्डा कमजोर छन्

वडा सदस्यमा उम्मेदवारी दिनुभएको छ, तपाईंले चुनाव जित्ने आधार के छ?

जीतको आधार के छ भने लडाइँको मैदानमा गएपछि हार जीत स्वाभाविक कुरा हो । निर्वाचन पनि एक हिसाबले लडाइँ नै हो । त्यसैले जीत हार भन्ने कुरा वैशाख ३० गतेको निर्वाचनपछि नै थाहा हुन्छ । मेरो सशक्त पक्ष के रहेको छ भने म कयौं सामाजिक तथा राजनीतिक संघसंस्थामा आबद्ध छु । मैले इमानदार भएर जनसेवा गर्दै आएको छु । मलाई धेरैको समर्थन छ । त्यसैले बरु पार्टी कमजोर होला म कमजोर छैन । अरु पार्टीले तपाईं मेरो पार्टीमा आउनुस् जिताउने जिम्मा हाम्रो भन्छन् । तर मलाई अरु पार्टीमा विश्वास छैन । अरु पार्टीका एजेन्डा कमजोर छन् । उनीहरु सयौं वर्षदेखि जरा गाडेर बसेका कारण र पुरानो पार्टी भएका कारण चर्चामा होलान् तर जनप्रिय पार्टी माओवादी नै हो । त्यसकारण मतदाताले भोट दिनुहुनेछ, मलाई जिताउनु हुनेछ । त्यसकारण म मतदातालाई के आह्वान गर्न चाहन्छु भने माओवादीको एजेन्डा देश विकास हो । नत्र माओवादीलाई के रहर थियो र, हाम्रा ठूला नेताहरु विभिन्न एनजिओ र आइएनजिओ तथा विभिन्न निकायमा जागिर खाएर वा व्यापार गरेर लाखौं कमाउन सक्थे तर त्यसो नगरी राजनेता बनेर देश सेवा गर्न तत्पर हुनुहुन्छ । मैले पनि जनतालाई वडा १० मा सीमित रहेर भन्नु पर्दा हामी विजय भएपछि यस वडामा विकासको लहर ल्याउने छौं । त्यसैले जनताले पत्याएर मलाई जिताएको खण्डमा यो वडालाई नमुना बनाउने छु ।

तपाईं राजनीतिमा आउने वातावरण कसरी बन्यो, यसबारे केही बताइदिनुस् न ।

राजनीतिमा म खासै पुरानो मानिस त होइन, धेरै वर्ष विदेश नै बसें । २०५२ सालमा जब नेपालमा माओावदीले जनआन्दोलन सुरु गर्‍यो, म त्यसमा पनि लडेको मानिस होइन । खासमा यी आन्दोलनमा म इन्भल्भ भइन, यद्यपि कुरा के भने म युद्धमा नलडेको भए पनि त्यो क्षणलाई मैले नजिकबाट नियालेको छु । पत्रपत्रिका, टेलिभिजन, अन्तर्वार्ता र विभिन्न क्रियाकलाप बुझेर म अहिलेको अवस्थामा आइपुगेको हुँ । माओवादी के रैछ त भन्ने विषय पनि मैले नजिकबाट मसिनो गरी केलाएको छु । सुरुमा मैले के पत्ता लगाएँ भने माओावदीले किन युद्ध लड्यो भन्ने बुझ्दा सयौं वर्षसम्म जरा गाडेर बसेको राजतन्त्रलाई फाल्नुपर्छ भन्ने हिसाबले यो युद्ध सुरु भयो । किनभने राजतन्त्रले आफ्नो व्यक्तिगत लाभमात्र हेर्ने । राजतन्त्रमा राजाको छोरा नै राजा हुनुपर्ने । प्रधानमन्त्री त त्यो बेला वरियतामा ५१ नम्बरमा आउने । प्रमजस्तो जननिर्वाचित व्यक्ति त ५१ मा आउने, जुन राजाको मितको छोराभन्दा पनि तल्लो हो । त्यसो भएको हुनाले जननिर्वाचित व्यक्तिले पो शासन चलाउने हो भन्ने हिसाबले म माओवादीमा आबद्ध भएको हुँ । राजाको इशाराले चल्ने शासनभन्दा जननिर्वाचितले चलाउने शासनलाई अगाडि बढाउन म यो पार्टीमा लागें । म माओवादीले चुनाव जितिसकेपछि यस पार्टीमा संलग्न भएको पनि होइन, पहिला नै २०५७/०५८ सालतिरबाट नै लागेको हुँ । हाम्रो पार्टीमा पनि टुटफुटको अवस्था देखियो तर संयम भएर र एउटै पार्टीको झण्डामुनि बसेर देशको सेवा गर्न सकिन्छ भन्ने हिसाबले म अगाडि बढिरहेको छु ।

कुनै समय पहिलो दल बनेको माओवादी तेस्रो स्थानमा छ, पार्टीको भविष्य कस्तो देख्नुहुन्छ?

एउटा उखान छ, युद्ध र प्रेममा सबै कुरा जायज हुन्छन् । हाम्रो दललाई १७ हजार मानिस मार्‍यो भन्ने आरोप पनि लगाइन्छ, त्यसकारण म के भन्छु भने विश्वयुद्धमा पनि त लाखौं मानिस मर्न पुगे । त्यसबेला पनि यस्तै नकारात्मक कुराहरु फैलिएको थियो होला । दोस्रो विश्वयुद्ध र इराक तथा इरानको युद्धमा पनि धेरै मानिस मरे । अहिले रसिया र युक्रेनको युद्ध जारी छ, हजारौं मानिस मरेका छन् । विकास निर्माणको क्रममा र लडाइँमा मानिस त मर्छन् नै । देश र जनतालाई स्वतन्त्रता दिलाउने क्रममा झडपमा सेना मरे, व्यक्ति मरे, सुराकी मरे । हामी तिनलाई सहिदको नाम दिन चाहन्छौं । हाम्रो आन्दोलनले देशमा धेरै परिवर्तन भएको छ । अघि माओवादीका एजेन्डाको कुरा गर्दै थिएँ, प्रत्येक वडामा एउटा महिला सदस्य र एउटा दलित सदस्य हुनै पर्ने अनि मेयर र उपमेयरमध्ये एकजना महिला हुनैपर्ने व्यवस्था त माओवादीका कारण भएको हो । एजेन्डा माओवादीको स्थापित भएको छ तर हाम्रो पहुँच जनतासँग कम भएका कारण पहिलो पार्टी अहिले हुन सकेको छैन । वास्तवमा माओवादीका एजेन्डामा अरु दलले रजाइँ गरेका छन् । हाम्रा एजेन्डा लागु भएका कारण हामीले यसलाई हाम्रो जीतको रुपमा नै लिएका छौं ।

Related News

सम्बन्धित समाचार

hero news full width