लेकसाइड विकासमा एमालेको प्रतिबद्धता

आदर्श समाज सम्वाददाता
वैशाख २६, २०७९
Uml pokhara 6 by bijaya nepal

पोखरा । पर्यटकीय क्षेत्र लेकसाइड रहेको पोखरा ६ लाई नमुना वडा बनाउने एमाले नेताहरुले प्रतिबद्धता व्यक्त गरेका छन् । एमाले पोखरा ६, वडा कमिटीको आयोजनामा आइतबार उम्मेदवार परिचय एवं चुनावी सभाका वक्ताले सो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

पूर्व गृहमन्त्री तथा नेकपा एमाले स्थायी कमिटी सदस्य खगराज अधिकारीले फेवातालको संरक्षणका लागि स्वच्छ र सफा बनाउने प्रतिबद्धता व्यक्त गरे । ‘फेवातालमा अब माछापुच्छ्रेको छाया हेरेर कफी पिउन मिल्ने बनाउने छौं,’ उनले भने, ‘तालमा रहेका फोहोर सफा गर्ने हाम्रो लक्ष्य हो ।’ उनले पाँचदलीय गठबन्धनलाई लक्षित गर्दै टाउको नभएको मुर्कुट्टाको संज्ञा दिए ।

पोखरा महानगरमा मेयरका प्रत्यासी कृष्ण थापाले लेकसाइडको पूरै वा कुने निश्चित ठाउँलाई चौबिसै घण्टा खुलाउँदै समग्र पोखरालाई अन्तर्राष्ट्रियस्तरको सहरको रुपमा विकास गर्ने बताए । फेवाताल संरक्षणसहितको दिगो विकास गर्ने, लेकसाइडका होटललाई कानुनी वैद्यता दिने, खुला चौर तथा पार्क संरक्षण गर्दै व्युटिफिकेसन गर्ने बताए । यस्तै, चुनावी प्रतिबद्धताअनुरुप पोखराको शिक्षा, स्वास्थ्य, पर्यटन र कृषिलाई पहिलो प्राथमिकता राखेर काम गर्ने प्रद्धिबद्धता व्यक्त गरे । उनले निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल छिटोभन्दा छिटो संचालन गर्ने, पृथ्वीचोकदेखि कोत्रेसम्मको सडकलाई हाइलेवलको सडक रुपमा स्तरोन्नति गर्ने पनि बताए ।

उपमेयर उम्मेदवार मञ्जुदेवी गुरुङले आफूले ५ वर्षको कार्यकालमा थुप्रै काम गरेकोे बताइन् । उनले बाँकी रहेका केही काम सम्पन्न गर्न र समृद्ध पोखरा निर्माणका लागि आफ्नो टिमलाई जिताउन मतदातासमक्ष आग्रह गरिन् । पोखरामा सोलार बत्ती निर्माणमा करिब १३ करोड ८० लाख बराबरको टेण्डर भइसकेको, ८० किमी सडक उज्यालो बत्तीले सजाउने, ३० चोकमा हाइलेभल लाइट जडान गर्ने, ट्राफिक व्यवस्थापनका लागि ११ स्थानमा सर्भे भएको लगायतका योजना रहेको बताइन् ।

गण्डकी प्रदेश सांसद समेत रहेका एमाले नेता राजीव पहारीले पोखराको लेकसाइडलाई पर्यटनको हव बनाउन एमालेको जीत आवश्यक रहेको औंल्याए । उनले फेवाताल संरक्षण लगायतको योजना सुनाउँदै आफू प्रदेश सांसद रहँदा भए गरेका कामको विवरण प्रस्तुत गरे । उनले पोखरा ६ वडाध्यक्षका उम्मेदवार विष्णुबहादुर भट्टराईको टिमलाई जिताउन पनि सम्पूर्णमा आग्रह गरे ।

वडाध्यक्षका उम्मेदवार विष्णुबहादुर भट्टराईले १२ बुँदे चुनावी प्रतिबद्धता प्रस्तुत गरे । जसमा वडामा पूर्वाधार विकास, यातायात व्यवस्था, वातावरण संरक्षण, सामाजिक न्याय र सुरक्षा, पर्यटनमैत्री वातावरण, धार्मिक तथा सांस्कृतिक क्षेत्र सम्बद्र्धन, शिक्षा र मानव संशाधनको विकास, स्वास्थ्य र फोहोर व्यवस्थापन, उद्यमशीलता र बजार विकास, युवालाई रोजगारी, फेवाताल संरक्षण र सुशासन छन् । उनले वडामा अबको नेतृत्व सिंगो एमालेको हुनुपर्ने भन्दै सबैसँग मतको अपेक्षा गरे । विष्णुबहाुदरले अघिल्लो स्थानीय तह चुनावमा वडा सदस्यमा सबैभन्दा बढी मत ल्याएका थिए ।

सामाजिक व्यक्तित्वसमेत रहेका उनको नेतृत्वमा वडामा जमुना पराजुली पहारी, राममाया विश्वकर्मा, बासुदेव बराल, दीपेन्द्र पहारी सदस्य उम्मेदवार छन् ।

एमाले वडा कमिटी अध्यक्ष बलराम पहारीको अध्यक्षतामा भएको कार्यक्रममा पर्यटन व्यवसायी बासुदेव त्रिपाठी, उमा भण्डारीलगायतले बोलेका थिए । सो अवसरमा कलाकार तारापति सुवेदी, जीवन दाहाल, सरला पाण्डे, लक्ष्मी नेपाली, कमला सुनार, माया गिरी, भूपेन्द्र गुरुङ, शीतला अधिकारी लगायत कलाकारले गीत, नृत्य प्रस्तुत गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width