निर्वाचन अधिकृतलाई प्रशिक्षण

आदर्श समाज सम्वाददाता
वैशाख २५, २०७९
nirvachan syanaja

स्याङ्जा । स्थानीय तह निर्वाचन लक्षित गर्दै निर्वाचन कार्यालयले शुक्रबार मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई प्रशिक्षण दिएको छ । अर्काे साता हुने मतदानको सन्दर्भमा निर्वाचन कार्यालयले मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई प्रशिक्षण दिएको हो ।

कार्यक्रम शुभारम्भ गर्दै मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश वसन्तराज पौडेलले निष्पक्ष, भयरहित र स्वतन्त्र तरिकाबाट मतदान गर्ने गराउने वातावरणमा बनाउन निर्वाचन अधिकृत र सहायक मतदान अधिकृतलाई सुझाव दिए। चुस्त र स्फूर्त वातावरणमा निर्वाचन सम्पन्न गर्न आ–आफ्नो इमानदारिता र जिम्मेवारी बहन गर्न उनले सुझाए। यस गहन जिम्मेवारीलाई संयमतापूर्वक पूरा गर्न निष्पक्ष रही आआफ्नो भूमिकामा रहनसमेत उनले आग्रह गरे ।

‘निर्वाचनजस्ता पवित्र कार्यलाई सम्पन्न गर्न र दिइएको काम, कर्तव्य र अधिकारका बन्धनमा बाँधिएर काम गर्नु होला,’ उनले भने, ‘हाम्रा व्यवहार, आचरणमा कतै कमीकमजोरी भएमा त्यो क्षम्य हुने छैन । तपाईंहरु ढुक्क र निर्धक्क भएर नियमानुसारका काम गर्नुहोस् तपाईंका साथमा हामी छौं ।’

प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले सहभागीलाई कत्ति पनि नआत्तिकन आ–आफ्ना जिम्मेवारी पूरा गर्न सुझाव दिए । उनले भने, ‘कामका शिलशिलामा कहिंकतै समस्या आइपरेमा तपाईं हामी सामूहिकरुपमा छलफल गरेर अघि बढ्नेछौं, ढुक्क हुनुहोस् तपाईंका पक्षमा सिंगो सुरक्षा टिम छ । दिइएको जिम्मेवारी पुरा गर्नुहोस् ।’

सहभागीलाई निर्वाचन सुरुदेखि मतगणना सम्पन्न गर्नेसम्मका विधि, प्रक्रियाबारे प्रशिक्षण दिइने निर्वाचन कार्यालय प्रमुख गुरुप्रसाद मरासीनीले जानकारी दिए। कार्यक्रममा ऋषिराम आचार्य, रामप्रसाद अधिकारी, घनश्याम सुवेदी, डिल्लीराम पौडेल, विनोद पौडेल, विश्वप्रसाद रेग्मी, गुरुप्रसाद मरासीनीले प्रशिक्षण दिने भएका छन्।

स्याङ्जामा ११ पालिकामा १ मुख्य निर्वाचन अधिकृतसहित १० निर्वाचन अधिकृत छन। जिल्लाभर ३ सय १८ मतदान केन्द्र र १ सय ९९ वटा मतदानस्थल तोकिएका छन। ती केन्द्रमा ३ सय १८ मतदान अधिकृत र ३ सय १८ सहायक मतदानअधिकृत खटाइएका छन् । जिल्लाभर २ लाख ४० हजार ५ सय ३५ मतदाता छन् । तीमध्ये १ लाख २३ हजार ८ सय ६८ महिला र १ लाख १६ हजार ६ सय ६६ पुरुष र एक अन्य छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग