राप्रपाको पोखरामा घरदैलो, आज लिङ्देन आउने

आदर्श समाज सम्वाददाता
वैशाख २४, २०७९
rpp kaski

पोखरा । पोखरा महानगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मेयर तथा उपमेयर पदका उम्मेदवारले शुक्रबार पनि घरदैलोलाई निरन्तरता दिएका छन् । उनीहरुले आगामी वैशाख ३० को स्थानीय तह निर्वाचनमा आफ्नो पक्षमा मत माग्दै राप्रपालाई भारी मतले जिताउनुपर्ने बताए ।

घरदैलोमा मेयरका उम्मेदवार शंकर खराल, उपमेयर उम्मेदवार रञ्जना सेन पौडेलसहित पार्टीका प्रदेश, जिल्लास्तरका नेता एवं कार्यकर्ताहरु सहभागी थिए । टोलीले शुक्रबार तालचोक, विजयपुर,  खुँदी,  शिशुवा लगायतमा घरदैलो गर्दै कोणसभा गरेको थियो ।

पोखराको मेयर उम्मेदवार शंकर खरालले पोखराको सिंगो मुहार फेर्न यसपालि राप्रपालाई भोट दिन मतदातालाई आग्रह गरे । उनले विगतमा जिताएर पठाएकाहरुबाट विकासको आशा सम्भव नभएको बताए । उनले राप्रपाले जिते पोखरालाई भ्रष्टाचारमुक्त बनाउने, व्यावसायिक कर प्रणाली परिमार्जित गरिने, निःशुल्क स्वास्थ्य बिमा कार्ड व्यवस्था गरिने, कक्षा १२ सम्म निःशुल्क बनाउने, ग्रामीण भूमिकरमा ५० प्रतिशत र घरबहाल कर २५ प्रतिशत कटौती गर्ने लगायत प्रतिबद्धता व्यक्त गरे । राप्रपाको पोखरामा मोनोरेल र स्मार्ट सिटीको नारा नभइ सानोसानो कार्यमा सुधार गरे पनि पोखरावासीको मुहार फेरिने हुँदा त्यसमा दत्तचित्त भएको उनको भनाइ थियो ।

यसैबीच, राप्रपाले शनिबार पोखरामा आमसभाको तयारी गरेको जनाएको छ । चिप्लेढुंगास्थित मानवअधिकार चोकमा बिहान ११ बजे हुने आमसभामा राप्रपा अध्यक्ष राजेन्द्र लिंङ्देन, प्रवक्ता ज्ञानेन्द्र शाही, नेतृ रेखा थापा लगायत केन्द्रीयस्तरका नेताले सम्बोधन गर्ने राप्रपा गण्डकी प्रदेश अध्यक्ष पञ्चराम गुरुङले जानकारी दिए ।

आमसभापूर्व पोखराको रानीपौवा ब्यारेट गेट अगाडिबाट बृहत्  र्‍याली निस्कने राप्रपा कास्कीका प्रवक्ता अरुण गिरीले बताए । राप्रपाले पोखरा महानगरमा मेयर–उपमेयरसहित ३२ वटा वडामा कुल १३२ जनालाई उम्मेदवार उठाएको छ।

Related News

सम्बन्धित समाचार

hero news full width