अनुप गुरुङ कास्कीको माछापुच्छ्रे गाउँपालिका १ मा नेकपा (एमाले) को तर्फबाट आसन्न स्थानीय तहको निर्वाचनमा वडाध्यक्ष पदका उम्मेदवार हुन् । आश कुमारको नामले समेत परिचित उनी ४ कार्यकालदेखि उक्त वडामा पार्टीको अध्यक्षको भूमिकामा छन् । २०४४ सालतिरबाट नै पृथ्वीनारायण क्याम्पसबाट विद्यार्थी जीवनमा राजनीति सुरु गरेका उनी त्यसपछिका विविध आन्दोलनमा पनि सहभागी भए । उनी ४ वर्षदेखि माछापुच्छ्रे कृषक समूहको अध्यक्ष, ७ वर्षदेखि शिक्षण क्षेत्र व्यवस्थापन समितिको निवर्तमान सचिव, शारदा माध्यमिक विद्यालय व्यवस्थापन समितिको पूर्व अध्यक्ष र माछापुच्छ्रे एकीकृत बस्ती विकास समितिको सचिव पनि छन् । माछापुच्छ्रे सामुदायिक होमस्टेको नेतृत्वदायी भूमिकामा समेत रहेका उनी माछापुच्छ्रे वडा नम्बर १ र ३ मा भएको पिच बाटो अनुगमन समितिका सदस्य पनि हुन् । उनी समीबगर तातोपानी मोटरबाटोको निमित्त सचिवसमेत रहेका छन् । राजनीति र समाजसेवामा उत्तिकै सक्रिय गुरुङसँग आसन्न चुनावका सन्दर्भमा आदर्श समाज प्रतिनिधिले गरेको संवाद यहाँ प्रस्तुत गरिएको छ :
चुनाव नजिकिँदै छ, तपाईंहरुको प्रचार अभियान कसरी अघि बढेको छ?
माछापुच्छ्रे गाउँपालिकामा हाम्रो पार्टीको तर्फबाट अध्यक्ष पदका उम्मेदवार विक्रम गुरुङ र उपाध्यक्ष पदका उम्मेदवार सीता तिवारी अधिकारीसहित यही वैशाख १८ गतेबाट हामीले वडा नम्बर २ बाट प्रचार अभियान सुरु गरेका थियौं । यहाँको युवा संघ, निर्वाचन परिचालन कमिटीका पदाधिकारी तथा अन्य नेता ताथ कार्यकर्ताहरु मिलेर यहाँ स्थापना गरिएको सम्पर्क कार्यालयबाट भुर्जुङ खोलासम्म बाइक र्याली र प्रचार अभियान सञ्चालन गरेका थियौं । करुवा र धिप्राङ क्षेत्रमा पनि हामीले प्रचारप्रसारका काम सञ्चालन गरेका थियौं । अहिले घरदैलो अभियान पनि चलिरहेको छ । गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र सदस्यका उम्मेदवार मिलेर हामीले पहिलो चरणको घरदैलो अभियान सम्पन्न गरिसकेका छौं । केही साथीहरु नमुना मत पत्रहरु लिएर मतदानको तरिका मतदातालाई सिकाउँदै पनि हिँड्नुभएको छ । यस वडामा नेकपा (एमाले) को तर्फबाट खुला महिला सदस्य चन्दा पुन, दलित महिला सदस्य सुशीला विक, खुला सदस्यद्वय देवबहादुर पुन र भरत अधिकारी पनि प्रचार अभियानमा उत्तिकै लागिरहनुभएको छ ।
मुख्य चुनावी एजेन्डाहरु के के छन् तपाईंका ?
मेरो मुख्य एजेन्डा भनेकै कृषि र पर्यटनको विकास हो । यस गाउँपालिकाका वर्तमान अध्यक्ष कर्ण गुरुङ र म लगायतको समूह मिलेर यस क्षेत्रको पर्यटनलाई विकास गर्न लाग्दै आएका छौं । यहाँ उत्पादन हुने कृषिजन्य उपजलाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा पर्यटनको विकास गर्न सदुपयोग गर्न सकिन्छ भन्ने मेरो मान्यता छ । समुदायको हितका लागि हामी कृषि र पर्यटनलाई आयआर्जनसँग जोड्न चाहन्छौं । कृषि र पर्यटनबाट नै आर्थिक समुन्नति सम्भव छ भन्ने मेरो मान्यता छ । यही सोचका साथ हामीले विगत ४ वर्षदेखि यस क्षेत्रमा होमस्टे पर्यटन सेवा सुरु गरेका छौं । माछापुच्छ्रे सामुदायिक अर्गानिक होमस्टे नाम दिएर २०७५ सालबाट पर्यटकलाई सेवा दिंदै आएका छौं । २० घरबाट सुरु भएको होमस्टे हाल २५ घरमा पु¥याउँदै छौं । टुसे भन्ने क्षेत्रमा २० वटा र ५ वटा होमस्टे सरिपाखा क्षेत्रमा छन् । होमस्टेमा सुरुका वर्षमा ६ हजार जति पर्यटक भिœयाउन सफल भयौं । २०७६ अन्त्यमा कोरोनाका कारण समुदायको हितका लागि सेवा स्थगित गर्न बाध्य भयौं । पछि पुनः सेवा सुचारु गरे पनि ओमिक्रोन भेरियन्टले सेवा रोकिन पुग्यो । अहिले कोरोना केही मत्थर भएपछि पुनः पाहुना सेवा सुरु भएको छ ।
विदेशी र गैरसरकारी संस्थाको भर पर्न नपरोस्, आत्मनिर्भर बन्न सकियोस् भन्ने मेरो योजना छ
माछापुच्छ्रे गाउँपालिका पर्यटकीय सम्भावना बोकेको क्षेत्र पनि हो, पर्यटनको विकास र प्रवद्र्धनका लागि यहाँको के सोच रहेको छ ?
हामीसँग सन् २००७ मा खोज गरिएको ग्रेट माछापुच्छ्रे मोडल ट्रेक रहेको छ । यो पदयात्रा मार्गको विकासका लागि त्यहाँ केही आश्रयस्थल निर्माण गरेका छौं । हिले र खुमैलगायत क्षेत्रमा यस्तो काम भएका छन् । माथिल्लो भाग कोर्चोनलाई भ्यु प्वाइन्टको रुपमा विकास गर्ने सोचअनुसार त्यहाँ कुनै निर्माण कार्य गरिएको छैन । पछिल्लो क्रममा १ हजार ५ सय जति पर्यटक यो पदयात्रामा गएका छन् । बर्खा सुरु हुने बेला, जुका लाग्ने र अफसिजनका कारण अहिले पर्यटक संख्या केही न्यून छ । यो क्षेत्र र यहाँ रहेको पिपर ताल क्षेत्रको पर्यटन प्रवद्र्धन गर्दै अघि बढ्ने योजना मेरो छ । माथिल्लो भागमा रहेको ३ शिर भन्ने ठाउँ धार्मिक हिसाबले निकै सम्भावना बोकेको क्षेत्र छ । यसलाई हामी मुक्तिनाथजस्तै धामको रुपमा विकास गर्न चाहन्छौं । कोटडाँडाले प्याराग्लाइडिङको सम्भावना बोकेको छ । पोखरामा नयाँ विमानस्थलका कारण प्याराग्लाइडिङ विस्थापित हुन पुगेमा यस क्षेत्रमा ल्याउन सकिन्छ । समग्रमा भन्दा प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी सिर्जना गर्दै आर्थिक उन्नति गर्ने हाम्रो चाहना हो । आर्थिक रुपमा सम्पन्न नभई यहाँको विकास हुन्न भन्ने मेरो ठम्याइ छ । त्यसैले आयआर्जनमा नै बढी फोकस गर्नुपर्छ भन्ने कुरा हो । कृषिको कुरा गर्दा परम्परागत कृषिबाट फाइदा लिन सकिँदैन । हाते ट्रयाक्टरलगायत केही उपकरणले अहिले सहजता थपिएको छ । कृषिको आधुनिकीकरण र यान्त्रीकरणतर्फ फड्को मार्नुपर्छ भन्ने मेरो मान्यता छ । त्यसैले कमाउने, आत्मनिर्भर बन्ने तर विदेशी र गैरसरकारी संस्थाको भर पर्न नपरोस् भन्ने मेरो योजना छ ।
पहिला पनि केही मतले पराजित हुनुभयो, अहिले तपाईंले चुनाव जित्ने आधार के छ?
५ दल भने पनि यहाँ देखिने ३ दल हुन् । एमाले, कांग्रेस र माओवादी यहाँ छन् । केन्द्रबाट जे नियम लादे पनि गबन्धनलाई २ सदस्य दिएर हामीले अरु पद लिने भन्ने कुरा थियो तर यो सफल हुन सकेन । एमाले आफैं सक्षम पार्टी हो । गठबन्धनले दोहोरो चरित्र देखिएका कारण हामी आफ्नै तरिकाले अगाडि बढ्दै छौं । पहिलो चुनावमा म १८ मतले हार्न पुगेँ । त्यो बेला मतदाता शिक्षा नपुगेको हिसाबले २५ मत त हाम्रो बदर नै भयो । त्यसैले अहिले मतदाता शिक्षा पनि प्रदान गरेका छौं । म २० औं वर्षदेखि यही ठाउँमा सामाजिक हिसाबले काम गर्दै आएको छु । विद्यालय र बाटोका काममा मैले सेवा गर्दै आएको छु । उपभोक्ता समितिमा पनि नेतृत्वदायी भूमिकामा रहेर पनि काम गर्दै आएको छु । मोडल ट्रेकको प्रवद्र्धन र होमस्टेको विकासमा समेत मैले काम गरेको छु । विकास निर्माणको काममा म अहोरात्र खटेको छु । त्यसैले मतदाताले मलाई विश्वास गर्नुहुन्छ । पिछडिएको र अन्यायमा परेकालाई मुक्ति दिन म कम्युनिस्ट पार्टीमा लागेको हुँ । म यहींको बासिन्दा र सबै मतदातासँग पनि परिचित भएको नाताले अनि हिजोदेखि पूरा गरेको सामाजिक दायित्वको हिसाबले पनि मैले चुनाव जित्छु भन्नेमा म ढुक्क छु ।
Related News
सम्बन्धित समाचार
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
आदर्श कपमा आयोजकको विजयी सुरुआत
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
hero news full width
मुख्य समाचार
पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
मंसिर २०, २०८१पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग
मंसिर २०, २०८१आज पोखराको विशेष नगर सभा
मंसिर २०, २०८१खेलकुद मन्त्रीसँग काँग्रेसको कार्यकर्ता भेटघाट
मंसिर १९, २०८१